पहिरोले पुरिएर स्याङ्जाको वालिङ- १४ मा एकैपरिवारका पाँचजनाको मृत्यु भएको छ । चारजना बेपत्ता भएका छन् ।एकजनाकाे जीवितै उद्धार गरिएकाे छ । बिहान ६ बजे तमादीस्थित माया नेपालीको घर पहिराेले पुरेकाे हाे ।
पहिरोमा पुरिएर मृत्यु भएका पाँचजनाको सनाखत भएकाे छ । उनीहरूकाे शव पहिराेले पुरेकाे अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।
प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरूमा वालिङ- १४ बस्ने ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, २८ वर्षीया उमाकला नेपाली र नाै वर्षीय विवश नेपाली रहेका छन् ।
जीवितै उद्धार गरिएकी १६ वर्षीया मनीषा नेपालीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार कार्यलाई जारी राखेका छन् ।