१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ६ मंगलबार १३:४८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपाको एकता महाधिवेशन वैशाख २५–२८ मा, निर्वाचन चिह्न गाई औपचारिक रूपमा परित्याग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ६ मंगलबार १३:४८:००

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो निर्वाचन चिह्न गाई औपचारिक रूपमा परित्याग गरेको छ । 

राप्रपाको कार्यसम्पादन समिति बैठकले मंगलबार चुनाव चिह्न हलो तय गर्ने निर्णय गरेको हो । 

पार्टीको झण्डामा भने गाई राख्ने निर्णय भएको छ । योसँगै चुनाव चिह्नबारे ६ महिनादेखि रहँदै आएको विवाद टुंगिएको छ भने राप्रपाको एकता महाधिवेशन वैशाख २५ देखि २८ सम्म आयोजना हुने भएको छ ।  

राप्रपा समूहहरूबीच २४ फागुनमा पछिल्लोपटक पार्टी एकीकरण भएको थियो । पार्टी एकतापछिको पहिलो कार्य सम्पादन समिति बैठकले चुनाव चिह्न तथा पार्टीको महाधिवेशन तय गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार पार्टीको एकता महाधिवेशन वैशाख २५ देखि २८ सम्म हुनेछ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले चुनाव चिह्न हलो हुने प्रस्ताव गरेका थिए भने अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समर्थन गरेका थिए । 

पार्टीका अर्का अध्यक्ष पशुपतिशमशेर राणाले पार्टी एकताको स्पिरिटअनुसार अब अघि बढ्ने र राप्रपालाई शक्तिमा रूपान्तरण गर्ने बताएका  छन् । 

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच आइतबार नै चुनाव चिह्न हलो राख्ने सहमति भएको थियो जसलाई थापा नेतृत्वको पूर्वराप्रपा समूहले सोमबार अनुमोदन गरेको थियो । 

यसअघि राप्रपाको चुनाव चिह्न गाई थियो भने राप्रपा संयुक्तको हलो थियो । राप्रपाको झण्डा, अन्तरिम विधानमा टेकेर गत फागुन २४ मा पार्टी एकता गर्ने समझदारी गरे पनि उनीहरूले ६ महिनाभित्र उपयुक्त निकायबाट चुनाव चिह्न टुंग्याउने सहमति गरेका थिए । 

त्यसका लागि श्याम तिमल्सिना, विक्रम पाण्डे, राजेन्द्र लिंदेनलगायतका नेता रहेको कार्यदल गठन भए पनि कार्यदलले चुनाव चिह्न शीर्ष नेताले टुंग्याउनुपर्ने सुझाब दिएको थियो । शीर्ष तहमा छलफलपछि पार्टी एकता जोगाउन हलो चिह्न स्वीकार गरिएको थापाले आइतबार बैठकमा बताएका थिए । 

थापाले २८ फागुनमा पार्टी एकता घोषणा समारोहमा श्रीमदभावगत गीता छोएर पार्टी फुटाउन नदिने कसम खाएका थिए । 
तत्कालीन राप्रपा नेपाल (कमल थापा) र राप्रपा (पशुपतिशमशेर राणा)बीच ०७३ मंसिर ६ मा पार्टी एकीकरण भयो भने फागुन ६ गते एकता महाधिवेशन भयो । महाधिवेशनबाट कमल थापा अध्यक्षमा निर्वाचित भएका थिए । 

एकतापछि केन्द्रीय समिति बैठकले फागुन १९ मा चुनाव चिह्न गाई हुने निर्णय गरेको थियो । जसलाई राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले विरोध गरेका थिए भने स्थानीय तहको निर्वाचनपछि पशुपतिशमशेर राणाले २२ साउन ०७४ मा राप्रपा प्रजातान्त्रिक नामक बेग्लै दल दर्ता गरेका थिए । लोहनीले एकीकृत राप्रपा राष्ट्रवादी नामको दल स्थापना गरे । 

राणा र लोहनीबीच पार्टी एकता भएर राप्रपा संयुक्त बन्यो । राणा समूहका नेता दीपक बोहरा कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेपछि पार्टी एकता प्रक्रिया सुरु भयो । 

०७६ साउन २५ गते पार्टी एकता गर्ने निर्णय भएको थियो, तर २४ गते अध्यक्ष पशुपतिशमशेर राणाले पछि गरौँ भनेपछि एकता भएन । 

तीन महिनापछि तीन अध्यक्ष रहने गरी पार्टी एकता गर्न थापा, राणा र लोहनी सहमत भए । ०७६ कात्तिक २५ गते एकता घोषणा सभाका लागि राष्ट्रिय सभाको हल बुक भयो । 

राप्रपा नेताद्वय नीलकण्ठ काफ्ले र उद्धव पौडेलले राष्ट्रिय सभाको हल बुक गरे, तर चुनाव चिह्नमा कुरा मिलेन, त्यसवेला पनि एकता हुन सकेन । त्यसवेला राप्रपाले गाई हुनुपर्ने अडान राख्यो भने राप्रपा संयुक्तले हलो मान्नुपर्ने अडान राख्यो । 

त्यसवेला हुन नसकेको एकता ०७६ फागुन २४ गते भयो । एकता हुँदा चुनाव चिह्न ६ महिनामा तय गर्ने सहमति भयो । 
तर, तत्कालीन राप्रपा संयुक्तका शीर्ष नेताले हलो चुनाव चिह्न कायम गर्ने भद्र सहमतिका आधारमा पार्टी एकता भएको बताउँदै आएका छन् । 

‘पार्टीको केन्द्रीय समितिसहितका निकायमा राप्रपाबाट ५५ प्रतिशत र राप्रपा संयुक्तबाट ४५ प्रतिशत कायम गर्ने तथा चुनाव चिह्न हलो राख्ने भद्र समझदारी थियो,’ एकजना शीर्ष नेताले नयाँ पत्रिकासँग भने, ‘तर, पार्टीभित्रको आन्तरिक समीकरणका कारण निर्णय गर्न समय लागेको हो ।’ 

यसबीचमा निर्वाचन चिह्न के हुने भन्ने विवाद चुलिँदै गएका कारण पार्टी फुटको संघारमा पुगेको थियो । 
एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष थापाले गत फागुन २८ गते गीता छोएर पार्टी फुट्न नदिने संकल्प गरेअनुसार गाई चिह्न त्यागेर हलो चुनाव चिह्न हुने गरी पार्टी एकता जोगाउने निर्णयमा पुगे । 

चुनाव चिह्न गाई हुनुपर्ने पक्षमा बलियो अडान लिएका नेता एवं सांसद राजेन्द्र लिङ्देनसहितका नेताले सहमति गरेपछि थापाले हलोका पक्षमा निर्णय गरेका हुन् ।