मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज ६ मंगलबार १२:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनशनरत डा. केसी काठमाडौं फर्किए, आफूमाथि आक्रमणको प्रयास भएकाले फर्किएकाे भनाइ

Read Time : > 1 मिनेट
२०७७ असोज ६ मंगलबार १२:३८:००

आठ दिन जुम्लामा अनशन बसेका डा. गोविन्द केसी एक रात नेपालगन्जस्थित भेरी अस्पतालमा बसेर काठमाडौं फर्किएका छन् । 

उनी सोमबार बेलुकी काठमाडौं जानका लागि जुम्लाबाट नेपालगन्ज आएका थिए । अनशनका क्रममा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अनशनस्थलबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । 

सरकारी पक्षबाट आक्रमण हुने सम्भावना बढ्दै गएकाले काठमाडौं जान लागेको उनले बताए । 

नेपालगन्जस्थित भेरी अस्पतालमा नयाँ पत्रिकासँग कुरा गर्दै डा. केसीले केपी शर्मा ओली सरकारले पूर्वसहमति कार्यान्वयन गर्नुको साटो आक्रमण गर्ने योजना बनाएको जानकारी पाएकाले काठमाडौं जाने निर्णय लिएको बताए । 

साढे तीन करोड नेपाली जनताका लागि आफूले फेरि अनशन बसेको बताउँदै उनले एक वर्षअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेको वेला आक्रमण गर्नेहरू अहिले पनि सरकारमा भएकोले डर लागेको बताए ।

‘एक वर्षअघि अनशन बस्दा सरकारको निर्देशनमा ममाथि आक्रमण भएको थियो,’ उनले भने, ‘हिजो सुनियोजित तरिकाले आक्रमण गर्नेहरूले फेरि आक्रमण नगर्लान् भन्न सकिन्न ।’ 

उनले आफूमाथि आक्रमणको तयारी भइरहेको भन्ने सूचना पाएपछि तत्काल काठमाडौं फर्किने योजना बनाएको बताए । 

तपाईंलाई सरकारले जुम्लाबाट नेपालगन्ज पठाएको हो कि आफैँ आउनुभएको हो भन्ने जिज्ञासामा उनले आफैँ नेपालगन्ज हुँदै काठमाडौं जान लागेको बताए । 

‘म सरकारको एक रुपैयाँ खर्च गराउने पक्षमा छैन । अनशन बसेको वेला सरकारी रकमबाट उपचार गराउने पक्षमा छैन । जुम्ला आफ्नै पैसामा गएको थिएँ । आफ्नै पैसामा फर्किँदै छु,’ डा. केसीले भने, ‘मेरो उपचार गर्ने रकम गरिब, असहाय, निमुखा बिरामीमा खर्च गर्न म सरकारसँग आग्रह गर्दछु ।’ 

डा. केसीले २९ भदौबाट जुम्लामा अनशन सुरु गरेका हुन् । स्वास्थ्यमा समस्या देखिएकाले चिकित्सकको निगरानीमा रहेका डा. केसीको अवस्था नाजुक बन्दै गएको छ । 

उनी लामो समयसम्म बोल्न सक्दैनन् । उनी बुद्ध एयरबाट दिउँसो १२ बजेको उडानमा नेपालगन्जबाट काठमाडौं गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । 

डा. केसीको रगतमा चिनीको मात्रा अति न्यून भएको छ । उनको रक्तचाप छिनछिनमा घट्ने र बढ्ने भएकोले बोल्न नसक्ने भएका छन् ।