मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
ओमचरण अमात्य
२०७७ असोज ६ मंगलबार १२:३५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

एक थप्पडले बदलेको विश्व–इतिहास

Read Time : > 4 मिनेट
ओमचरण अमात्य
२०७७ असोज ६ मंगलबार १२:३५:००

नयाँ पत्रिका दैनिकमा प्रकाशित सरस्वती मैनालीको स्टोरीले ३७ लाख श्रमजीवीको वास्तविक स्थिति प्रतिबिम्बित गर्छ । विदेशमा दश वर्षअघि घटेको यस्तै एउटा घटनाले विश्वको इतिहास बदलेको थियो । कसरी हेर्दाहेर्दै एउटा फिलिंगोले पूरै जंगल विध्वंस पारिदिन सक्छ, यो शासकहरूले बुझ्न जरुरी छ । समग्रमा हाम्रो समकालीन समाजको प्रवृत्तिलाई नियाल्दा प्रहरीको लात्तीले सरस्वतीको गाडालाई पल्टाइदिएको र ढकतराजु फिर्ता लिन तिनले गरेको असफल संघर्ष देश र दुनियाँमा दिनहुँ घटिरहने एउटा सामान्य घटनाझैँ लाग्न सक्छ । धनुषामा पनि रिक्सामा तरकारी बेचिरहेका एक गरिब मधेसीलाई प्रहरीले अपराधीलाई झैँ निर्ममतापूर्वक पिट्दै भ्यानमा हालेर लगेको फेसबुकमा भित्तामा धेरैले हेरेकै हुन् । 

कोरोना भाइरसले शरीरसँगै कोठाभित्र थुनेको संयमको बाँध जब फुट्ला, तब नेता र नेतृत्व मात्र होइन, यसले व्यवस्थालाई नै बगाएर लग्न सक्छ । दश वर्षअघि ट्युनिसियामा घटेको घटनाले सिकाएको सबैभन्दा ठूलो पाठ यही हो ।

हुन त यो आलेखको ध्येय बदलिँदो समाज तथा त्यससँगै बदलिँदै गएका सामाजिक अन्तर्सम्बन्ध र अन्तर्विरोधहरूको व्याख्या र विश्लेषण गर्नु होइन, तैपनि चाबहिलको त्यो ‘दुर्घटना’, त्यसमा महिला प्रहरीबाटै प्रदर्शन भएको नृशंसता र समाचार प्रकाशनपछि चारैतिर उर्लिएको सहयोग र सहानुभूतिको लहरमाथि घोत्लिँदा तिनले भविष्यमा आउन सक्ने प्रचण्ड आँधीबेहरीतिर पनि संकेत गर्न खोजेको छ । त्यसैले सत्ता र समाजबीच तथा नेतृत्व र आमनेपालीबीच बढ्दै गएको दूरी, अनि सहयोग र सहानुभूतिको आवरणमा सर्वत्र मुखरित हुँदै गएको आक्रोशलाई कसैले हल्काफुल्का रूपमा लिने गल्ती नगरोस् । किनकि कोरोना भाइरसले शरीरसँगै कोठाभित्र थुनेको संयमको बाँध जब फुट्ला, तब नेता र नेतृत्व मात्र होइन, व्यवस्थालाई नै बगाएर लग्न सक्छ । १० वर्षअघि ट्युनिसियामा घटेको घटनाले सिकाएको सबैभन्दा ठूलो पाठ यही हो ।

के भएको थियो त्यतिखेर ?  उत्तरी अफ्रिकाको एउटा सानो कट्टर मुसलमान देश ट्युनिसिया र त्यसको राजधानी ट्युनिस । सन् २०१० डिसेम्बर १७ तारिखको बिहान सधैँझैँ सडकमा ठेलागाडा ठेल्दै तरकारी र फलफूल बेच्दै हिँड्ने २७ वर्षीय मोहम्मद बौआजिजी त्यो दिन पनि बिहान आठ बजेदेखि नै ग्राहकको पर्खाइमा थिए । साढे दश बजे प्रहरीको एउटा भ्यान आइपुग्यो र सबै थोक बदलियो । भ्यानबाट निस्केर ४५ वर्षीया महिला प्रहरी फायडा हाम्दीले उनीसँग ठेलागाडाको स्वीकृतिपत्र (पर्मिट) मागिन् जुन उनीसँग थिएन । हाम्दीले बौआजिजीलाई गालामा एक झापड दिइन्, थुकिन् र जथानाम गाली गर्दै अन्य पुरुष प्रहरीसँग मिलेर लात्तीले गाडालाई पल्टाइदिइन् । उनले अघिल्लो दिन मात्रै २०० डलर सापटी लिएर यो गाडा किनेका थिए । उनका सबै फलफूल र तरकारी सडकमा असरल्ल छरिए । इलेक्ट्रोनिक तराजुलगायत सामानलाई भ्यानमा राखेर प्रहरी टोली हिँड्यो । प्रहरी अधिकारीलाई मागेबमोजिम ‘नजराना’ दिन नसकेकै कारण उनी कारबाहीमा परे । 

भोलिपल्ट पर्मिट बनाउन बौआजिजी स्थानीय प्रशासनमा पुगे । कुनै पनि अधिकारी उनीसँग राम्रो मुखले बोलेनन् । एउटा कट्टर मुसलमान समाजमा महिलाबाट कुटाइ खानु त्यसै पनि कम अपमानजनक थिएन । झन् कार्यालयमा पनि पाइलैपिच्छे सबैबाट अपमानित भएपछि उनको मन असाध्यै विक्षिप्त भयो । नजिकैको पसलमा गएर एक ग्यालन मट्टीतेल किने र प्रशासननजिकैको सडकमा जिउभरि त्यही मट्टितेल खन्याएर आत्मदाह गरे । तुरुन्तै उनलाई अस्पताल पुऱ्याइयो, तर ९० प्रतिशत जलिसकेको शरीरलाई चिकित्सकहरूले बचाउन सकेनन् । आत्मदाहको १८ दिनपछि बौआजिजीको मृत्यु भयो ।

बौआजिजी अस्पतालको शय्यामा छट्पटाइरहेकै वेला ट्युनिसमा ससाना प्रदर्शनहरू सुरु भइसकेका थिए । सुरुमा सरकारी फौजले तिनलाई दबाउन खोज्यो, तर सरकारविरोधी प्रदर्शनहरू झन् अरू सहरमा पनि फैलिँदै गए । दमन असफल भएपछि राष्ट्रपति बेन अली आफैँ अस्पताल पुगे, त्यहीँबाट उनले बौआजिजीको उपचार खर्च सबै सरकारले व्यहोर्ने र उनको परिवारको भरणपोषण पनि सरकारले नै गर्ने घोषणा गरे । तर, ढिलो भइसकेको थियो । जनवरी ४ मा बौआजिजीको मृत्यु भएपछि आक्रोशको आगोमा घिउ थपियो ।

अन्ततः राष्ट्रपति अली जनवरी १४ का दिन देशबाट पलायन भए । नयाँ सरकारको घोषणा भयो, तैपनि विरोध प्रदर्शनहरूको सिलसिला रोकिएन । विरोध प्रदर्शन बिस्तारै छिमेकी देश इजिप्ट र लिबिया हुँदै यमन, बहराइन र सिरियासम्म पनि पुग्यो । सुरुमा सरकार–समर्थक समुदाय र सेनाले विरोधका स्वरहरूलाई बलपूर्वक दबाउन खोजे, तर नसकिएपछि इजिप्ट, यमन र लिबियामा पनि सत्ता परिवर्तन भयो । इजिप्टमा राष्ट्रपति होस्नी मुबारकले जेलको हावा खाए, लिबियामा कर्णेल गद्दाफीलाई विद्रोहीहरूले विदेशी फौजको सहायता लिएर खोजीखोजी मारे र यमनका राष्ट्रपति अब्दुल्ला सालेहले पनि पदच्युत भई आमसंहारको मुद्दा खेप्नु पऱ्याे ।

समर्थन र विरोध, अनि द्वन्द्वको शृंखला बिस्तारै मोरक्को र अल्जेरिया हुँदै इराक, इरान, लेबनान, जोर्डन, कुवेत, ओमान र सुडानसम्म पुग्यो । ससाना प्रदर्शनहरूले जिबुटी, मौरिसस, प्यालेस्टाइन, सउदी अरब र पश्चिमी सहारासम्मका सडकलाई तताए । सरकारविरोधी प्रदर्शन सर्वत्र फैलियो । देश र क्षेत्र फरक–फरक भए पनि नारा भने सबैको एउटै थियो– जनता रूपान्तरण–परिवर्तन चाहन्छन् । समग्रमा पूरै अरबलाई प्रभावित पारेको हुनाले पछि त्यो आन्दोलनलाई वसन्त विद्रोह’को नाम दिइयो ।

समयक्रममा फायडा हाम्दीको थप्पडको गुञ्जन यति प्रभावशाली ठहरियो कि कट्टर बहुसंख्यक सिया मुसलमानहरूले बहराइनमा अल्पसंख्यक शासकहरूको राजीनामा खुलेरै माग्न थाले । हिजोसम्म सिइएका ओठलाई वाणी प्राप्त भयो । त्यसैले तिनीहरूले विनाकुनै त्रास शासकहरूमाथि दमन र अत्याचारको आरोप लगाउन सुरु गरे । विरोध र दमनको शृंखला त्यहाँ सुषुप्त रूपमै सही आज पनि जारी नै छ । उता छिमेकी कतारमा त झन् विरोधी गतिविधि यतिसम्म चर्कियो कि सन् २०१३ जुनमा हत्त न पत्त राजाले सरकारको बागडोर आफ्नो छोरालाई सुम्पे । बौआजिजीको आत्मदाहले सल्काएको आगो यमन र सिरियामा आज पनि निभेको छैन । सिरियामा सल्केको आगो त धेरै हदसम्म निभिसकेको छ, तैपनि एउटा तथ्य के तय छ भने निर्णायक विजयपश्चात् पनि राष्ट्रपति बसर अल असदले अब पुरानै ढा“चामा शासन गर्न सक्नेछैनन् ।

समग्रमा मोहम्मद बौआजिजीको आत्मदाहले अरब जगत्को मुहारलाई पूरै फेऱ्याे । कट्टर मुसलमान समाजमा दूरगामी महत्वका परिवर्तन भए । जनताकेन्द्रित शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढ्यो । लोककल्याणकारी नीति राज्यको निर्देशक सिद्धान्त बन्यो । सारमा भन्नुपर्दा अरब संसार अब त्यो रहेन, जस्तो ऊ एक दशकअगाडिसम्म देखिन्थ्यो । निर्विवाद रूपले ‘वसन्त विद्रोह’ त्यो क्षेत्रमा, र अझ विश्वव्यापी रूपमा देखिएका असंख्य तात्कालिक तथा दूरगामी महत्वका परिवर्तनहरूको संवाहक बन्यो । परिवर्तनको स्वरूप कस्तो रह्यो र त्यसले भविष्यमा केकस्तो आकार लेला, अहिल्यै भन्न सकिने अवस्था छैन । तैपनि हाम्रो सन्दर्भमा यहाँ यति नै भन्नु उपयुक्त होला, नीति–निर्माताहरूको ध्यान सरस्वती मैनालीहरूका घाउमा मलम लगाउनेभन्दा सरकार गिराउने र बचाउनेतिर बढी गयो भने सत्ताधारीहरू त जालान् नै, देश नै भड्खालोमा खस्न सक्छ । कोरोनाको कहरबाट जनतालाई कसरी जोगाउने, तिनलाई चरम संकटको यो घडीमा के–कसरी त्राण दिने भन्नेतिर कम, लोकसम्मति र भावनाविपरीत ‘हामीले जे गर्दा पनि हुन्छ’ भन्ने अहंमा बढी बाँचेका हाम्रा ‘भाग्यविधाताहरू’लाई स्मरण गराइदिनुपर्ला, सय वर्षअघि देखिएको स्पेनिस फ्लुले जनताप्रति जिम्मेवारीबोध नगरेका कम्तीमा एक दर्जन सत्तालाई बगाएको थियो । अरू त अरू, त्यसैका कारण दक्षिण एसियामा ब्रिटिस साम्राज्य खुम्चिन पुगेको थियो, र त्यसैले दोस्रो विश्वयुद्धका लागि बाटोसमेत बनाइदिएको थियो । 

(अमात्य भक्तपुर नगरपालिकाका पूर्वउपमेयर हुन् )