Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ४ आइतबार १९:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाडीको ब्लुबुक नवीकरण, जाँचपास र रुट परमिटलगायतको काम अब लमजुङबाटै

Read Time : < 1 मिनेट
२०७७ असोज ४ आइतबार १९:१२:००

गाडीको ब्लुबुक नवीकरण, जाँचपास र रुट परमिटको काम अब लमजुङबाटै हुने भएको छ । यसअघि यी कामका लागि पोखरा जानुपर्ने बाध्यता थियो । 

गण्डकी प्रदेश सरकारले जिल्लामा यातायात व्यवस्थासम्बन्धी सेवा आइतबादेखि सुरु गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार आफ्नै कार्यालयको एक्सन रुमबाट क्लिक गरी लमजुङका सेवाग्राहीको ब्लुबुक नवीकरण रसिद प्रिन्ट गरेका हुन् । उक्त रसिद पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले कार्यालयमा सेवा लिन आएका पहिलो सेवाग्राही यज्ञनारायण श्रेष्ठलाई हस्तान्तरण गरे । 

यसअघि पोखराको कास्की, बाग्लुङ, तनहुँको डुम्रेमा मात्रै यातायात व्यवस्थाका सेवा उपलब्ध हुँदै आएको थियो । गण्डकी प्रदेश सरकारले स्याङ्जा, लमजुङ र गोरखामा यातायात व्यवस्थासम्बन्धी सेवा थप गरेको हो । 

अब पूर्वाधार विकास कार्यालयबाट ब्लुबुक नवीकरण, सवारीसाधन कर संकलन, सवारी जाँचपास, रुट परमिट नवीकरण, सवारी आयकर र पटके रुट परमिटसम्बन्धी सेवा उपलब्ध हुने पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताए । भर्चुअल कार्यक्रमबाट सेवा सुरु गरेपछि मुख्यमन्त्री गुरुङले नागरिकले जिल्लाबाटै सेवा पाउने भएकाले जनतामा संघीयता आएको अनुभूति हुने विश्वास व्यक्त गरे । 

लमजुङमा अब सवारीचालक अनुमतिपत्र र नयाँ गाडीको दर्ताबाहेक सबै काम हुने प्रमुख गिरीको भनाइ छ । यातायातको सबै काम हुने भएपछि लमजुङसँगै मनाङका नागरिक पनि यो सेवाबाट लाभान्वित हुनेछन् । 

लमजुङको पूर्वाधार विकास कार्यालयले मनाङ जिल्लासमेत हेर्ने भएकाले मनाङका नागरिकले पनि यो सेवा लमजुङबाट नै पाउने भएका छन् । यो सेवाले यातायात व्यवसायीलाई थप सहज र उत्साहित बनाएको बेसीसहरका वासुदेव सेढाईंले बताए ।