मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गोकर्णराज बन्जाडे
२०७७ असोज ४ आइतबार ०६:४८:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेस सच्चिने वेला 

Read Time : > 5 मिनेट
गोकर्णराज बन्जाडे
२०७७ असोज ४ आइतबार ०६:४८:००

अहिले महाधिवेशन सम्पन्न गर्ने उपायको खोजीभन्दा पनि यसलाई सार्ने बहानाको खोजीमा छ कांग्रेस नेतृत्व 

प्राध्यापक कृष्ण खनालले लेखमार्फत नेपाली कांग्रेसका केही नेताको विश्लेषण गर्ने सन्दर्भमा ‘विचारमा खेल्न सक्ने रामचन्द्र नै हुन् । विचार, निष्ठा र संलग्नतामा उनलाई उछिन्ने अर्को छैन’ भन्दै वर्तमान कांग्रेसमा पहिलो पुस्ताका नेता पौडेललाई सम्झिनुभयो । सँगसँगै कांग्रेस नेतृत्वका आकांक्षी, त्यो पनि युवापुस्ताका ‘गगन, विश्वप्रकाशहरू’बाट केही आशा व्यक्त गर्नुभएछ । कांग्रेस नेतृत्वमा जोसुकै आए पनि चासो र अपेक्षा नहुँदै गर्दा पनि ‘मुलुकमा लोकतन्त्रको झन्डावाहक पार्टी विसर्जनमा जाला भन्ने चिन्ता’ लिनुभएछ । कांग्रेस र लोकतन्त्रको विकासक्रमका सघन साक्षी, लोकतन्त्रपक्षीय पैरबीकर्ता खनालसरको आशय कांग्रेस बनोस् र लोकतन्त्र बचोस् भन्ने देखिन्छ । 

विषम राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबीच कांग्रेसको चौधौँ महाधिवेशन चर्चामा छ । सँगै तीन थान संशयमिश्रित प्रश्न पनि छन्– महाधिवेशन तोकिएको मितिमा सम्पन्न होला ? यसमा स्वच्छता र निष्पक्षता कति रहला ? र यसले ल्याउने नेतृत्व कस्तो होला ? कांग्रेस यसपटक बेस्मारी थलिएको छ । उपचारार्थ अस्पताल लैजान यसलाई आँगनमा निकालिएको छ, आँगनमा एम्बुलेन्स खडा छ । तर, त्यसका इन्धन र पुर्जा भरलाग्दा छैनन् । अन्य परिस्थितिबीच समायोजनसमेतको उल्झनमा अल्झाएर समयमै उपचारस्थल नपु¥याउने मेसो पार्टीसत्ताले मिलाउँदै छ ।

लोकतन्त्रको प्रमुख आधार आवधिक निर्वाचन हो, यसले नै लोकतन्त्रलाई जीवित राख्छ । यही मान्यता आत्मसात् गरी संविधान र दलको विधानमा यससम्बन्धी प्रावधान राखिएको हुन्छ । आवधिक महाधिवेशनबाट दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यास हुन्छ । महाधिवेशन दलीय जीवनको मुटु हो । यसका धमनी– नीति, नेतृत्व र संगठन । दलको जीवनमा यिनैले रक्तसञ्चार गर्छन् । महाधिवेशनले दललाई समसामयिक र नयाँ स्वरूप दिन्छ । तर, अहिले महाधिवेशन सम्पन्न गर्ने उपायको खोजीभन्दा पनि यसलाई सार्ने बहानाको खोजीमा कांग्रेस नेतृत्व उद्यत छ । संविधान र विधानमा छिद्र खोजेर वा वैधानिक प्रावधान छलेर म्याद थप्ने प्रयासमा छ । म्याद थपाइले कांग्रेसको मौलिकताको म्याद भने सिद्धिन्छ । लोकतान्त्रिक छवि धमिलिन्छ, संस्कार खल्बलिन्छ । यसले केही व्यक्तिको जागिर त जोगिएला, तर कांग्रेस भने जोगिँदैन । यस अवस्थामा महाधिवेशन टार्नु वा सार्नु भनेको पार्टीलाई विसर्जनतर्फ लैजाने प्रयास हो ।

महाधिवेशनका सन्दर्भमा अहिले नेतृत्वको विषय प्राथमिकतामा छ । कांग्रेसलाई सन्चो र हृष्टपुष्ट बनाउन विभिन्न उपचारपद्धति र औषधिका पे्रस्क्रिप्सन दिनदिनैका ‘वेबिनार’ र सामाजिक सञ्जालदेखि औपचारिक मिडियासम्म छरिएका छन् । ती अभिव्यक्तिलाई जनमतको बिम्ब मान्ने हो भने आगामी नेतृत्वका सन्दर्भमा पुस्तान्तरणको विषय अत्यधिक उठेको छ । यसमा रूपान्तरणको कुरा मधुरो छ । कांग्रेस अवरोहमा दोषको माला एकमुष्ट रूपमा नेतृत्वको उमेरलाई भिराएर अन्य आवश्यक पक्षलाई ओझेलमा पारिएको छ । कांग्रेसको गति, नेतृत्वको मति, कसको जिम्मा कति ? विवेचना जारी छ ।

समकालीन राजनीतिमा वैचारिक क्षमता र अग्रसरतासहित संघर्षको निरन्तरता हिसाब गर्ने हो भने सबैभन्दा अग्लो व्यक्तित्व रामचन्द्र पौडेल नै हुन् । तर, उनको योग्यता, क्षमता र सक्रियता अहिले पैसा र मांसपेशीधारीको आक्रामक निसानामा छ ।
 

उमेरको मात्रै दोष हो त ? : ढल्केको उमेरका कारण मात्र शेरबहादुर देउवाको कार्यशैली आलोच्य हो त ? २५ वर्षे जवानीमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका उनले आठ वर्षसम्म महाधिवेशन गरेनन्, नेतृत्व हस्तान्तरण भएन । ४९ वर्षको उमेरमा प्रधानमन्त्री बन्दा मुलुकको संसदीय प्रणालीलाई नै विकृत बनाउन अतुलनीय योगदान गरे । सुरा–सुन्दरी, प्राडो–पजेरो, सांसद खरिद–बिक्रीजस्ता प्रकरण यही वेला प्रवद्र्धित भए । ५६–५८ वर्षमा रहँदा त प्रतिगमनको मार्ग सहज बनाइदिए । पार्टी फुटाए । आफैँले धमिलो बनाएको प्रजातन्त्रको बहावलाई दरबारतिर हुलिदिए । 

दशक लामो माओवादी सशस्त्र द्वन्द्वका वेला सबैभन्दा बढी समय उनै प्रधानमन्त्री रहे । यी सब जे–जति भए, उनी ६० वर्षको उमेरमा नेटेक्दै भए । यी सबै देखे–भोगेकाले के अपेक्षामा तेह्राँै महाधिवेशनमा उनलाई सभापति बन्न मद्दत गरे ? तीमध्येकै केही आज नेतृत्वको उमेरलाई दोष लगाउँदै छन् । आफ्नो गल्ती स्विकारेर सच्याउने कुरा गर्दैनन् । नयाँ–नयाँ मुद्दा उठाउनेले विगतप्रति जवाफदेही हुनुपर्दैन ? व्यक्तिको मूल्यांकनको आधार उमेरलाई मात्र मान्ने कि उसमा रहेको वैचारिक क्षमता, इमानदारी, परिणाममुखी अग्रसरता आदिलाई मान्ने ?

यौवन र सान्दर्भिक नेतृत्वको आधार : ४० वर्षीय ज्यासिन्दा अर्डन अहिले प्रधानमन्त्रीका रूपमा न्युजिल्यान्डको सफल नेतृत्व गरिरहेकी छिन् । ३७ वर्षको उमेरमा नेतृत्व लिँदा उनले आफ्नो उमेरलाई प्रमुख आधार दाबी गरिनन् । बरु त्यसको भरपूर सदुपयोग गरेर स्वयंमा नेतृत्व क्षमता बढाइन् । एडिथ कोवान विश्वविद्यालयका अध्यापक आन्द्रेइ अलेक्जेन्डर लक्सले ज्यासिन्दाको सफल नेतृत्वका चार आधार बताएका छन् । एक– आफ्नो सबलता र दुर्बलताको राम्रो ज्ञान हुनु । दुई– सधैँ नैतिक मापदण्डको अनुशरण गर्दै आफूमा सामाजिक अपेक्षाभन्दा बढी आफ्नो मान्यतामा अडिने साहस लिन सक्नु । तीन– आफूलाई पूर्वाग्रही हुनबाट बचाउने प्रयास गर्नु र एउटै विषयलाई बहुदृष्टिकोणबाट हेर्न सक्नु । चार– सरोकारवाला सबै पक्षसँग इमानदार र खुला सम्बन्ध बनाउन सक्नु

महाथिर मोहम्मदले ९४ वर्षको उमेरमा पनि मलेसियाको नेतृत्व गरे । उनी  मलेसियाको आगामी नेतृत्वबारे पाँचवटा मन्त्र सुझाउँछन्, पहिलो– निष्कपट र इमानदारी, दोस्रो– कडा मिहिनेत गर्ने इच्छाशक्ति, तेस्रो– ज्ञानप्रति भोको र परिवर्तनप्रति चनाखो, चौथो– विनम्रता अनि पाँचौँ– उदाहरणीय अग्रता । नेतृत्वको अर्थ ‘आफ्ना लागि आफैँ ठीक’ हुनु मात्र होइन । नेतृत्व भनेको व्यक्ति मात्र होइन, समग्र संगठनको सोच र शैलीको प्रतिनिधित्व हो । जोसँग नेतृत्वका लागि आवश्यक गुण र क्षमताको अभाव छ, उसले आफूसँग उपलब्ध सुविधालाई नै नेतृत्व दाबीको आधार बनाउँछ । नेतृत्व छनोटका सन्दर्भमा विगतमा अलि बढी उठ्ने गरेका त्याग, संघर्ष, निष्ठा र अनुभवजस्ता आधार यसपालि कम उठिरहेका छन् । सिद्धान्तनिष्ठ, अग्रसरता, इच्छाशक्ति तथा विषयवस्तुको प्रभावकारी प्रस्तुतीकरणको सान्दर्भिकता नै असान्दर्भिक बनाइँदै छ । ‘जोगी हुन कोही राजनीति गर्दैन’ भन्ने मान्यताले ग्रस्त वर्तमान राजनीतिमा इमानदारी र नैतिकतालाई सित्तैंमा स्वीकार गर्ने कुरा पनि त आएन ।

समकालीन राजनीतिमा वैचारिक क्षमता र अग्रसरतासहित संघर्षको निरन्तरता हिसाब गर्ने हो भने सबैभन्दा अग्लो व्यक्तित्व रामचन्द्र पौडेल नै हुन् । तर, उनको योग्यता, क्षमता र सक्रियता अहिले पैसा र मांसपेशीधारीको आक्रामक निसानामा छ । उनलाई सक्रिय राजनीतिबाट अवकाश पत्र थमाई वनवास पठाउने तयारी भइरहँदा खनालसरजस्ता प्राज्ञिक व्यक्तित्वले सम्झिनु मात्रले आजको वैश्यमयी राजनीतिमा अर्थ कति राख्ला ? 

शारीरिक र मानसिक तन्दुरुस्तीसँगै दृष्टिकोणमा स्पष्ट व्यक्तित्वले नेतृत्व गरेको संस्था बलियो हुन्छ । मानिसको उमेरसँगै उसमा रहेको दृढ इच्छाशक्तिले यो क्षमता पूर्ण बनाउने हो । जवानीको जोससँगै होस पनि महत्वपूर्ण छ । समाज परिवर्तनशील छ । परिवर्तनको पिछलग्गु हुनुले युवाभावको प्रतिनिधित्व गर्न सक्दैन । अरूले ल्याइदिएको परिवर्तनको पछाडि दौडिने मात्र होइन, समाजलाई युगीन परिवर्तनको एजेन्डा दिई त्यसमा सहमत गराएर डो¥याउन सक्नुपर्छ । रामचन्द्र पौडेलमा तुलनात्मक रूपमा निष्ठा र इमानदारीतासँगै समाजलाई परिवर्तनको एजेन्डा दिन सक्ने क्षमता त प्रशस्त छ । तर, त्यसमा आममानिसलाई सहमत गराउन नसक्नु उनको कमजोरी हो ।

झरी–घामको लामो शृंखला बोकेको कांग्रेसको रुख आफ्नो इतिहासमै सबैभन्दा बढी ओइलाएको छ । कांग्रेसको यस वृक्षमा मलजल गरी नवपालुवा ल्याइदिने मानिस खोजेजस्तो पनि देखिन्छ । यसलाई अहिल्यै प्रयोगमा ल्याई आफ्ना निहित अभीष्ट पूरा गर्न चाहनेहरूको सक्रियता र सलबलाहट भयानक छ । ओइलाएको रुखका हाँगाबिँगाबाट हँसिया–हथौडाको बिँड र फेद काटी हलो बनाउनेहरू सक्रिय छन् । कांग्रेसलाई अन्य बाह्य पक्षबाट भन्दा पनि भित्रैबाट बढी जोखिम छ । 

अन्त्यमा : अलीबाबा कम्पनीका मालिक ज्याक मा भन्छन्, ‘यदि तपाईंले बाँदरको अगाडि केरा र पैसा राख्नुभयो भने पैसाले केरा किन्न सकिने थाहा नभएकाले बाँदरले केरा छनोट गर्नेछ ।’ यसैगरी, यदि तपाईं मानिसहरूलाई जागिर र व्यवसाय प्रस्ताव गर्नुहुन्छ भने उनीहरूले जागिर रोज्छन्, किनभने अधिकांश व्यक्तिहरूलाई ख्याल छैन कि ज्यालाभन्दा व्यवसायबाट धेरै कमाउन सकिन्छ । यदि तपाईंले मानिसहरूका अगाडि पैसा र स्वास्थ्य राख्नुभयो भने धेरैले पैसा रोज्छन्, किनभने उनीहरूलाई मतलब छैन कि स्वास्थ्यले झन् धेरै पैसा र खुसी ल्याउन सक्छ । यतिवेला कांग्रेसका कतिपय नेता–कार्यकर्ता बेपत्तै भोकाएका छन्– पद, प्रतिष्ठा र त्यसबाट मिल्ने पैसाका लागि । के रोज्ने, के छाड्ने दुब्लाएको कांग्रेसमा सानो–ठूलो, जेजस्तो पद पाइन्छ, अहिल्यै लिइछाड्ने एकातिर र यस्ता कुरा त्यागेर भविष्यमा कांग्रेसको विशालता र सुन्दरता रोज्ने अर्कोतिर गरी कांग्रेसी दुई धारमा विभाजित छन् । यसको भाँडोमा बचेखुचेको सुविधा र अवसरहरू– पद र सांगठनिक सम्पति प्राप्ति र उपभोगमै उनीहरू लुछाचुँडी गरिरहेका छन् । 

नीति सिद्धान्तका कुरा गरेर सुन्दर भविष्य देखाउने प्रयासलाई खोक्रो आदर्श भनी तिरस्कार गर्ने प्रवृत्ति दह्रो छ, कांग्रेसमा अहिले । यस प्रवृत्तिले पार्टीलाई कहाँ पुर्‍याउला ? स्वाभाविक कार्यकाल सकिई थपिएको म्यादसमेत गुज्रिन आँटेका सभापतिबाट अकर्मण्य मनोनयन बुझीलिई सत्ताले फ्याँकेको जुठोपूरोको प्रतीक्षामा बस्ने कि महाधिवेशनबाट सक्षम र स्वच्छ नेतृत्व निर्माण गरी सुदृढ संगठन, स्पष्ट मार्गचित्रसहितको विशाल कांग्रेसको सदस्यको रूपमा छाती तन्काएर, शिर ठड्याएर हिँड्ने ? सोच्ने र सच्चिने यतिवेलै हो ।