मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
देवेन्द्र छपाली मगर/रामबहादुर लामा
नवराज मैनाली काठमाडौं
२०७७ असोज ४ आइतबार ०६:२४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लागुऔषध कारोबारी र बस व्यवसायीसँग करोडौँ अवैध सम्पत्ति

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असोज ४ आइतबार ०६:२४:००

लागुऔषध कारोबार तथा यातायात व्यवसायमा आबद्ध दुई व्यक्तिसँग करोडौँ अवैध सम्पत्ति भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।

लागुऔषध कारोबार अभियोगमा जेल परेर छुटेका काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगरको एक अर्ब सम्पत्ति भेटिएको छ । त्यसमध्ये करिब १२ करोड रुपैयाँ उनले आपराधिक कार्यबाट कमाएको निष्कर्ष निकाल्दै विशेष सरकारी वकिल कार्यालयले गत बिहीबार उनीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

विभागले गरेको छानबिनमा उनीसँग चल–अचल गरी एक अर्बको सम्पत्ति भेटिएको थियो । त्यसमध्ये एकचौथाइ सम्पत्तिको स्रोत खुलेको थिएन । विभागले प्रस्ताव गरेको भन्दा थोरै मात्र बिगो कायम गरी मुद्दा चलाउने निर्णय विशेष सरकारी वकिल कार्यालयले गरेको स्रोत बताउँछ ।

विभागले गत फागुनमै अनुसन्धान पूरा गरेर फाइल सरकारी वकिलमा पठाएकामा सात महिनापछि मुद्दा चलाउने निर्णय भएको हो । विशेष सरकारी वकिल कार्यालयको निर्णयपछि मात्र विभागले मुद्दा दायर गर्न पाउँछ ।

देवेन्द्र लागुऔषध कारोबारमा पटक–पटक पक्राउ परेका व्यक्ति हुन् । पछिल्लोपटक २३ वैशाख ०६९ मा उनलाई लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले पक्राउ गरेको थियो । त्यस बेला उनीसहितका तीनजनाबाट एक सय ३६ किलो चरेस बरामद भएको थियो ।

ब्युरोको अनुसन्धानमा उनले सीतापाइलास्थित आफ्नै घरमा कपासको आवरणमा चरेसको गोदाम राखेको खुलेको थियो । अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर वर्षौंदेखि सिरक, डस्नाभित्र लुकाएर उनले चरेस तस्करी गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार भारत हुँदै क्यानाडालगायत मुलुकमा उनले तस्करी गर्ने गरेका थिए । अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध देखिएका उनको हङकङ र जापानका बैंकमा खाता भेटिएको विभाग स्रोत बताउँछ । चरेस तस्करीबापत आर्जन हुने रकम उनले तिनै खातामा जम्मा गर्न लगाउने गरेका थिए । ती खाता रोक्का गरेर विभागले अनुसन्धान अगाडि बढाएको थियो ।

मगर ०३१ सालदेखि चरेस तस्करीको अन्तर्राष्ट्रिय गिरोहमा आबद्ध भएको प्रहरी अभिलेख छ । ०३९ सालमा पहिलोपटक पक्राउ पर्दा धरौटीमा छुटेका उनी ०४२ सालमा पनि खैरो हेरोइनसहित पक्राउ परेका थिए । पछिल्लोपटक ०६९ मा पक्राउ पर्दा उनी दुई वर्षमै छुटेका थिए ।

सीतापाइलामा मगरको डेढ रोपनी जग्गासहित घर छ । थानकोटमा करिब १५ रोपनी जग्गा भेटिएको छ । छानबिनबाट जोगिन कतिपय जग्गा उनले बकसमार्फत प्राप्त गरेको देखाएको विभागका एक अधिकारी बताउँछन् ।

यातायात व्यवसायी लामाको पनि सम्पत्ति रोक्का
विभागले यातायात व्यवसायी रामबहादुर लामाको पनि सम्पत्ति रोक्का राखेको छ । ठगी र मिटरब्याजबाट उनले अवैध सम्पत्ति आर्जन गरेको प्रारम्भिक छानबिनमा देखिएको छ ।

तारकेश्वर यातायात प्रालि र नागार्जुन भैरव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन्, लामा । उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले गत वैशाखमा ठगी अभियोगमा पक्राउ गरेको थियो । ठगी मुद्दामा अदालतबाट १० लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यसलगत्तै प्रहरीले लामालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाएको थियो । प्रारम्भिक छानबिनमा लामासँग करोडौँको सम्पत्ति भेटिएको विभाग स्रोत बताउँछ ।

उनले बस बेच्ने बताउँदै पेस्की लिने र पछि रकम फिर्ता नगरी गाडी पनि कब्जा गर्ने गरेका थिए । प्रहरीका अनुसार बिक्री गर्ने बताउँदै गाडी चलाउन दिने, आफैँले चर्को ब्याजदरमा ऋण दिने र ऋण चुक्ता भएन भनेर गाडी फिर्ता लिने गर्थे । सहकारीबाट समेत उनले सदस्यहरूलाई नै ठगी गरेको उजुरी परेको छ ।
यस्तै, गायिका आनी छोइङ डोल्माको विदेशबाट आएको करिब १८ करोड रुपैयाँको स्रोतबारे डेढ वर्षदेखि छानबिन भइरहेको छ ।

उनको मेगा बैंकको खाता नम्बर ००१००५००३९४२४ मा रहेको रकम विभागले रोक्का राखी छानबिन गरिरहेको छ । ०७५ वैशाख २६, २७ र २८ मा हङकङबाट उनको खातामा पैसा आएको थियो । २६ वैशाखमा पाँच लाख ७९ हजार नौ सय ८०, २७ मा पाँच लाख ३९ हजार नौ सय ८० र २८ मा पाँच लाख २९ हजार नौ सय ८० अमेरिकी डलर आएको थियो ।

हालसम्म गायिका आनीले उक्त रकमको स्रोत खुलाउन नसकेको विभाग स्रोत बताउँछ । विभागले सोधपुछका लागि बोलाए पनि उनी उपस्थित भएकी छैनन् । विभागले प्रहरीलाई समेत उपस्थित गराउन पत्राचार गरेको छ, तर उनी फेला नपरेको जवाफ आएको विभागका एक अधिकारी बताउँछन् ।