मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ३ शनिबार १५:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

७७ वर्षे इतिहास बोकेको जुद्ध बारुण यन्त्र अलपत्र

Read Time : > 1 मिनेट
२०७७ असोज ३ शनिबार १५:१३:००

भक्तपुरको दूधपाटीमा रहेको जुद्ध बारुण यन्त्र अलपत्र परेको छ । संघीयतापछि सरकारले दमकलको जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय गरेपछि ललितपुर र काठमाडौंमा रहेका जुद्ध बारुण यन्त्र त्यहाँका स्थानीय तहले जिम्मेवारी लिएका छन् । तर, भक्तपुर नगरपालिकाले भने जिम्मेवारी लिन मानेको छैन । जुद्ध बारुण यन्त्र यसअघि गृह मन्त्रालयअन्तर्गत सञ्चालित थियो ।

७७ वर्षदेखि सेवारत बारुण यन्त्रले कोरोना महामारीबीच आफ्नो स्थापना दिवस मनाएको छ । नगरपालिकाले आवश्यक परे आफैँ दमकल खरिद गर्ने, तर जुद्ध बारुण यन्त्रको दमकल जिम्मा नलिने जनाएपछि अहिले कार्यालयलाई जिल्लाका चारवटै स्थानीय तहअन्तर्गत संयुक्त रूपमा राख्ने वा विपत् प्राधिकरणअन्तर्गत लैजाने भन्ने टुंगो लागेको छैन ।

तत्कालीन राणा सरकारले वि.सं. २००१ मा तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरी दूधपाटीमा जुद्ध बारुण यन्त्रको कार्यालय स्थापना गरेको थियो । त्यसयता बारुण यन्त्रले निरन्तर सेवा दिँदै आएको छ । तर, कार्यालयसँग पर्याप्त दमकल छैनन् । भएका पनि बिग्रिएर थन्किएका छन् । 

जुद्धसँग ६ वटा दमकल छन् । तर, चारवटा बिग्रिएको अवस्थामा छन् । मध्यपुर थिमि नगरपालिकाले दिएको दमकल भने चालू अवस्थामा रहेको छ । यस्तै, सिद्धि स्मृति अस्पतालले दिएको दमकलसमेत प्रयोगमा रहेको छ । जुद्धसँग रहेका वि.सं. २००१ मा अमेरिकाबाट ल्याइएको मोडेस, २०२२ डेनिस दमकल र २०३२ सालमा ल्याइएको बेलायती म्याग्रिस दमकल वर्षौँदेखि बिग्रिएर थन्किएका छन् । 

आगो नियन्त्रणका लागि मिलेसम्म सबै दमकल मर्मत गरेर वा नयाँ किनेर भए पनि थप दमकल सञ्चालनमा ल्याउन जरुरी रहेको स्थानीयवासीको माग छ । तर, अहिले भरपर्दा बारुण यन्त्र नै नभएको जुद्धको व्यवस्थापन नै अलमलमा परेको छ।

हाल भक्तपुर जुद्ध बारुण यन्त्रको आफ्नै भवन निर्माणको क्रममा रहेको छ । ६ करोड ८६ लाखको लागतमा नयाँ भवन निर्माण भइरहेको प्रमुख राजनप्रसाद दाहालले बताए । जुद्धले भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकसम्म पुगेरसमेत सेवा दिने गरेको छ । 

७७औँ स्थापना दिवसको सन्दर्भमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विभिन्न चुनौतीबीच कार्यालयले विपत्का वेला चुस्त–दुरुस्त र प्रभावकारी सेवा दिएको बताए । स्राेतसाधनको अभावका बाबजुद पनि सेवा दिइरहेको जुद्धलाई दिगो बनाउन सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले हालसम्म गृह मन्त्रालयअन्तर्गत रहेको यस कार्यालय कानुनबमोजिम स्थानीय तह वा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत लैजाने प्रक्रियामा रहेको बताइन् । 

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले चारवटै स्थानीय तहसँगको सहकार्यमा जुद्धले व्यवस्थित सेवा प्रवाह गर्न सक्ने बताए । जुद्ध बारुणका प्रमुख राजनप्रसाद दाहालले कार्यालयका लागि एउटा सानो दमकल अपुग रहेको बताए । 

कार्यालयले नेपालमै पहिलोपटक विभिन्न जिल्लाका अग्नि नियन्त्रकलाई सुरक्षित भएर आगो नियन्त्रण गर्ने उच्च प्रविधिसहितको प्रशिक्षक प्रशिक्षण तालिमसमेत यसअघि नै दिएको छ । बेल्जियमबाट आएको ‘फायर फाइटर फर नेपाल’को १५ जना विशेषज्ञ टोलीले पाँचदिनसम्म विभिन्न जिल्लाका ७० जनालाई तीन प्रकारको तालिम दिएको थियो ।