मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गत वर्ष काठमाडौंमा सञ्चालित सुपथ मूल्य पसल । फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३ शनिबार १०:३५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँका लागि सुपथ पसल सञ्चालन र संयुक्त अनुगमनको गृहकार्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३ शनिबार १०:३५:००

नजिकिँदै गरेको दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, मूल्यवृद्धि र सिन्डिकेटलाई नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ पसल सञ्चालन र विभिन्न अनुगमनकारी निकायको संयुक्त बजार अनुगमन गर्ने गृहकार्य अघि बढाएको छ ।

मन्त्रालयमा बिहीबार वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित बैठकले १५ असोजपछि संयुक्त बजार अनुगमन थाल्ने प्रारम्भिक निर्णय गरेको हो । बैठकमा सचिव अर्यालले सहुलियत पसललाई निरन्तरता दिने, दैनिक उपभोग्य वस्तुको मौज्दात विवरण संकलन गरी सार्वजनिक गर्ने र बजार अनुगमनलाई प्रभावकारी बनाउन कार्ययोजनासहित आगामी बैठकमा आउन निर्देशन दिएका थिए ।

बैठकमा सहभागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले १५ असोजपछि बजार अनुगमनका टोली परिचालन हुने बताए । उनका अनुसार महानगरपालिका, प्रदेश सरकार र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्वका वेला सक्रिय बनाइनेछ । त्यस्तै, मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले दसैँ लक्षित सुपथ पसल सञ्चालनको योजना बनिरहेको बताए ।   

सुपथ पसलमा सबैभन्दा धेरै खाद्य वस्तु राख्ने साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीले कहिलेबाट सुरु गर्ने भन्ने विषय टुंगिन बाँकी रहेको बताए । भिड नगरी सुपथ पसल सञ्चालन गर्ने विषयमा गृह मन्त्रालयसँग समेत सहकार्य गर्नुपर्ने भएकाले गृहकार्य भइरहेको उनको भनाइ छ । सुपथ पसलमा साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले आफ्ना उत्पादनमा विशेष छुट दिने गरेका छन् । यी तीनवटै संस्थाले रामशाहपथस्थित बग्गीखानाको खाली जग्गामा एकीकृत पसल राख्ने गरेका छन् । अन्य ठाउँमा भने आफ्नो पुरानै बिक्रीकेन्द्रमा सहुलियत मूल्यका खाद्यान्न राख्ने गरेका छन् । यसपटकदेखि भने तीनवटै संस्थानका प्रत्येक आउटलेटमा तीनवटै संस्थानका सामग्री उपलब्ध गराउने गृहकार्य अघि बढेको छ । 

दसैँ लक्षित चिनी र खसी–बोकाको जोहो हुँदै
साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीका अनुसार दसैंका लागि टेन्डर प्रक्रियाबाट २० हजार टन चिनी ल्याउन सप्लायर्स छनोट भई प्रतीतपत्र खोल्नेक्रममा छ । ‘केही दिनभित्रै चिनी आयातका लागि प्रतीतपत्र खुल्छ ।

त्यसको १५ दिनपछि नेपालमा चिनी भित्रन सुरु भइहाल्छ,’ उनले भने । साल्ट ट्रेडिङले प्रतिकिलो ८० रुपैयाँ आसपास हुने गरी चिनी उपलब्ध गराउने योजना बनाएको छ । सुपथ पसलमा थप ५ रुपैयाँ छुट गर्दा प्रतिकिलो ७५ रुपैयाँ आसपासमा उपभोक्ताले चिनी पाउनेछन् । अहिले बजारमा प्रतिकिलो चिनीको भाउ ९० रुपैयाँसम्म पर्छ ।

अर्को संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई थप १० हजार टन चिनी आयातको जिम्मा दिएको थियो । तर, टेन्डर प्रक्रियामा भएको ढिलाइका कारण कम्पनीले तिहारमा मात्र चिनी भित्र्यायाउन सक्ने प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । सरकारले दुवै कम्पनीलाई ५० प्रतिशत भन्सार सहुलियतमा चिनी आयात गर्न स्वीकृति दिएको हो । अहिले चिनीमा ४० प्रतिशत भन्सार शुल्क तोकिएको छ ।

यस आधारमा दुवै कम्पनीले २० प्रतिशत भन्सार तिरेर चिनी ल्याउनेछन् । खाद्य व्यापार कम्पनीले दसैँका लागि १६ सय खसी–बोका र १४ सय भेडा–च्यांग्रा ल्याउने उनले बताए । ‘खसी–बोका र भेडा–च्यांग्रा दसैँअगाडि नै उपलब्ध गराएर बजार मूल्यभन्दा केही सस्तोमा उपभोक्तालाई उपलब्ध गराउँछौँ,’ उनले भने ।