मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ३ शनिबार ०५:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डा. केसीको स्वास्थ्यमा समस्या, सुरक्षित स्थलमा सार्न चिकित्सकको सुझाब 

Read Time : < 1 मिनेट
२०७७ असोज ३ शनिबार ०५:१५:००

पाँच दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनलाई २४सै घन्टा रेखदेख गर्न सकिने सुरक्षित ठाउँमा यथाशीघ्र स्थानान्तरण गर्न चिकित्सकले सुझाएका छन् । 

शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाका चिकित्सक प्रवीणकुमार गिरीको टोलीले डा. केसीको स्वास्थ्य जाँच गरेको छ । चिकित्सकको टोलीले डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएको बताएका छन् । चक्कर लाग्ने, मुटुको चाल बढेको, मांसपेशी बाउँडिने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, पिसाबको मात्रामा कमी, रक्तचाप कम भइरहेको डा. गिरीले बताए । उनको दिनमा तीनपटक सामान्य जाँच भइरहेको बताउँदै उनले भने, ‘रगतमा चिनीको मात्रालगायत अन्य जाँच गर्न नमानेको, नशाबाट सलाइन लिन र अस्पताल पनि जान मान्नुभएको छैन ।’

त्यस्तै, डा. केसीलाई जतिसुकै वेला पनि जटिल स्वास्थ्य समस्या आउन सक्ने डा. अनुपमंगल समालले बताए । ‘रगतमा चिनीको मात्र अतिन्यून भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने, रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा पनि हुन सक्ने भएकाले स्वास्थ्य जटिलता आउन सक्छ,’ डा. समालले भने । त्यस्तै २४सै घन्टा नियमित रेखदेख गर्न सकिने ठाउँमा सार्न आवश्यक रहेको उनको भनाइ छ । शुक्रबार डा. गिरी, डा. समाल र सविना थापाको टोलीले डा. केसीको स्वास्थ्य जाँच गरेको हो । 

डा. केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित धर्मशालामा सत्याग्रहमा बसिरहेका छन् । हिमाली जिल्ला जुम्लामा चिसो पनि बढ्दै गएको र धर्मशालाको बरन्डामै बसिरहेकाले पाँच दिनमै स्वास्थ्य समस्या देखिन थालेको चिकित्सकले बताएका छन् । यसैबीच डा. केसीको सत्याग्रहको समर्थनमा नागरिक समाज, जुम्लाले हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । उनका माग पूरा गर्न सरकारलाई दबाब दिन हस्ताक्षर संकलन थालिएको नागरिक समाज, जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए ।