१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज २ शुक्रबार १४:४४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मनाङको तरकारीले बजार पाएन

Read Time : > 1 मिनेट
२०७७ असोज २ शुक्रबार १४:४४:००

हिमाली जिल्ला मनाङका किसानले उब्जाएको तरकारीले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । 

कोरोनाका कारण पर्यटक नआउँदा र बेसीसहर–चामे सडक अवरुद्ध हुँदा मनाङमा उत्पादित तरकारीले बजार नपाएको हो । 

मनाङ ङिस्याङ गाउँपालिका– ५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङले यस वर्ष तरकारी उत्पादन बढे पनि तरकारीले बजार नपाएको बताए । 

गुरुङले तीन रोपनी क्षेत्रफलमा तरकारी खेती गरेका छन् । 

‘साउनदेखि बाटो बन्द भएकाले उत्पादित तरकारीलाई बेसीसहरसम्म ल्याउन पनि समस्या भएको छ,’ उनले भने, ‘बारीमा यतिवेला काउली, बन्दा, ब्रोकाउली, साग, गाँजर तयार छ । माथिल्लो मनाङदेखि सदरमुकाम चामेसम्म गाडी चले पनि चामेमा खपत कम हुन्छ । तर, बेसीसहर ल्याउने बाटो छैन ।’

अन्यत्र वर्षाका कारण तरकारी उत्पादनमा अफसिजन चले पनि मनाङमा भने यतिवेला सिजन चलिरहेको गुरुङ बताउँछन् । 

उत्पादन बढे पनि उपभोक्ता नहुँदा बजार खोज्नुपर्ने समस्या छ । वैशाखमा रोपेको तरकारी अहिले सबैतिर फलेको छ । 

कात्तिकदेखि चिसोे बढ्ने हुँदा तरकारी हुँदैन । अफसिजनका लागि गाउँलेले तरकारी नै स्टोर गरेर राख्छन् । पोहोरसम्म तीन रोपनी जग्गामा तरकारी खेती गरेर अधिक समय होटेलमा बिताउने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले यसपटक १२ रोपनी क्षेत्रफलमा तरकारी रोपेका छन् । 

फुर्सदको समय बारीमा लगाउँदा पर्याप्त तरकारी फलाउन सकेको उनले बताए । 

गत वर्ष पर्यटकलाई सेवा दिँदा व्यस्त हुने र यस वर्ष पर्यटक नआएपछि तरकारी खेतीमा बढी केन्द्रित भएको उनले बताए । तर, तरकारीले बजार नपाउँदा चिन्तित भएको उनले बताए । 

पर्यटनमा लागेका धेरै व्यवसायीले पहिलापहिला तरकारी खेती गर्दा आफूलाई चाहिने जति मात्र उत्पादन गर्ने गरी खेती गर्दथे । त्यसमा अपुग हुँदा गाउँमै किन्थे । 

तर, यसपटक सबैजना फुर्सदिला हुँदा पर्याप्त क्षेत्रफलमा तरकारी फल्दा खपत गर्न नसकेको उनले बताए । 
‘गाउँमा बिक्री हुने अवस्था छैन । पाहुना नहुँदा खपत पनि हुँदैन,’ उनले भने ।

मनाङमा फलेको तरकारी त्यहाँका किसानले सदरमुकाम चामे र तल्लो भेगका गाउँसहित लमजुङ सदरमुकाम बेसीसहर झार्दथे । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का मनाङस्थित कृषि प्राविधिक ओमबहादुर गुरुङले किसानले पर्याप्त तरकारी फलाए पनि बजार पुऱ्याउन नपाएको बताए । 

पहिला–पहिला ग्रिनहाउसभित्र मात्र तरकारी खेती हुने गरेकोमा अहिले बाहिर खेतमा नै बन्दा काउली ब्रोकाउली, मुला, गाँजर, साग पर्याप्त उत्पादन हुन थालेको छ ।