Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २ शुक्रबार १३:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आवश्यकता र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २ शुक्रबार १३:१२:००

प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा मात्र संविधान संशोधन गर्न सकिने बताएका छन् । 

‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताए । 

व्यावहारिक रूपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने उनको भनाइ छ । 
जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताए । 

उनले भने, ‘केही–केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला । जनताको आवश्यकतालाई समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ । त्यस्तो पऱ्याे भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशील र असंशोधनीय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशील विषय होइन ।’

संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए । 

उनले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताए । 

उनले भने, ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर विनाबहकाउ तयारी रहनुपर्छ ।’

पाँचौँ संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६४६ पृष्ठको ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन गरेका हुन् । 

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्रीनिवासमा भएको पुस्तक विमोचनमा भौतिक दूरी कायम गरिएको थियो ।