१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज २ शुक्रबार ११:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ढोरपाटनका बाढीपीडितका लागि ६८ लाख राहत जुट्यो

Read Time : > 1 मिनेट
२०७७ असोज २ शुक्रबार ११:२६:००

बाग्लुङको पश्चिम ढोरपाटनमा गत भदौ १७ गते आएको बाढीबाट पीडित बनेकाका लागि राहत दिन स्थापना गरिएको राहत कोषमा ६८ लाख रुपैयाँ संकलन भएको छ । 

बाढी प्रभावित क्षेत्रका लागी ढोरपाटन नगरपालिकाले स्थापना गरेको राहत कोषमा बिहीबारसम्ममा ६८ लाख तीन हजार दुई सय ५८ रुपैयाँ संकलन भएको नगरपालिकाकी उपप्रमुख करमती पुनले जानकारी दिइन् । 

पुनका अनुसार सबैभन्दा बढी रकम नेपाल कम्युनिस्ट पाटी बाग्लुङले १९ लाख ५६ हजार रुपैयाँ दिएको छ । 

त्यस्तै, जिल्ला सहकारी संघ लिमिटेड बाग्लुङबाट पाँच लाख एक हजार रुपैयाँ, बडिगाड गाउँपालिकाबाट चार लाख १३ हजार रुपैयाँ, वामी सेवा समिति गुल्मीबाट तीन लाख ६० हजार रुपैयाँ, ढोरपाटन क्लब काठमाडौंको जुनु पुनको समूहबाट तीन लाख एक हजार ३५ रुपैयाँसहित विभिन्न संघसंस्था, राजनीतिक दल, सहकारी तथा शुभेच्छुकहरूबाट सो आर्थिक रकम जुटेको हो ।

उक्त बाढीका कारण २२ जनाको ज्यान गएको थियो भने १६ जना अझै बेपत्ता रहेका छन् । 

बाढीका कारण ढोरपाटन नगरपालिकाको बोबोङ क्षेत्रका द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपँधेरा, घट्टेचौर, भुसुन्दे, सुकुरुदुङ र लाकुरीबोट गाउँको ८० घरमा पूर्ण क्षति भएको थियो भने झन्डै ७० घरमा आंशिक क्षति भएको थियो । 

पीडितहरूका लागि संकलन भएको जिन्सी सामग्री, खाद्यान्न भने पहिरो प्रभावित क्षेत्रमा वितरण गरिसकेको पुनले बताइन् ।

‘विभिन्न निकायमा नगरपालिकामा आएको जिन्सी र खाद्य सामग्री सम्बन्धित निकायमा पुऱ्याएका छौँ,’ उपप्रमुख पुनले भनिन्, ‘एकद्वारमार्फत संकलित भएको राहत रकम जम्मा हुने क्रम जारी रहेको छ, उक्त रकम घरबारविहीनहरूको पुनर्स्थापनका लागि आवास निर्माणमा खर्च गर्नेछौँ ।’

पुनका अनुसार विदेशमा संकलन भइरहेको राहत रकम नगरपालिकासम्म अझै आइसकेको छैन ।  ढोरपाटनका बाढीपीडितका लागि विदेशमा रहेका विभिन्न संस्थाले लाखौँ रकम संकलन गरेको खबर आएको पुनले बताइन् । 

सबै तहबाट एक करोडभन्दा बढी रकम आउने सम्भावना रहेको हुँदा उक्त रकमले विस्थापित परिवारको आवास निर्माणका लागि केही सहयोग पुग्ने बताइएको छ । 

तर, बाढीपीडितहरूले भने नगरपालिकामा जम्मा भएको राहत सामग्री समयमा नपाउँदा बिग्रिन लागिसकेको बताएका छन् । 

‘बाटो बन्द भयो, समयमा हामीले राहत पाएनौँ,’ बाढीपीडित लालामाया घर्तीमगरले भनिन्, ‘सुरुमा कांग्रेसका नेता र गृहमन्त्री आउँदा ल्याएको राहतले काम चलाएका छौँ । पछि आएको चामल त बिग्रिएको छ । खान नै नहुने डल्ला परेको छ । अब त बाटो पनि बनेको छ । नगरपालिकामा आएको राहत सीधै आउने हो भने बिग्रने थिएन कि ?’

उनले नगरपालिकाले वडा कार्यालयमा ल्याएर राखिदिएको र त्यो अव्यवस्थित भएको बताइन् । घर्तीले आफ्नो सबै जायजेथा बाढीले लगेको र आफन्तलाई फोन गर्ने पैसा पनि नभएको हुँदा राहत सामग्रीसँगै केही नगद पनि आएमा आफ्ना समस्याको समाधान हुने बताइन् । 

तत्कालका लागि खान र अस्थायी रूपमा बस्नको व्यवस्थापन गरिरहेको नगरपालिकाले नगद उठेको रकमले सुरक्षित आवास निर्माण गर्ने नगरप्रमुख देवकुमार नेपालीले बताए । 

‘पीडितका लागि सबै सबै तहबाट कति सहयोग हुन्छ त्यो हेर्छौँ,’ नगरप्रमुख नेपालीले भने, ‘जति रकम उठ्छ त्यसमा थप गरेर आवास निर्माण गर्नेछौँ । विस्थापित परिवारको घर निर्माणका लागि लाग्ने जस्तापाता म व्यक्तिगत खर्चमा प्रदान गर्नेछु । पानी रोकिएपछि जग्गा व्यवस्थापन गरेर पुनर्निर्माणको काम अगाडि बढ्नेछ ।’