मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७७ असोज २ शुक्रबार ०९:४४:००
Read Time : > 4 मिनेट
फिचर प्रिन्ट संस्करण

सुरु होला बाइक टुरिजम ?

नेपालको हिमाली र पहाडी भेग अफरोड राइडिङका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्छन्, तर कोरोना महामारीका कारण सबै गन्तव्य सुनसान, कहिले लकडाउन खुल्ला र घुम्न निस्कन पाइएला भन्दै युवाहरू प्रतीक्षामा

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७७ असोज २ शुक्रबार ०९:४४:००

युवा उद्यमी सौरभ ज्योतिले सोमबार आफ्नो फेसबुकमा बाइक कुदाएर मुस्ताङ गइरहेको पुरानो तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘आई मिस दिस !’ यदि सामान्य अवस्था हुन्थ्यो भने उनी बाइक कुदाउँदै कहिले मुक्तिनाथ त कहिले मनाङ पुगेका हुन्थे । फुर्सद मिल्नेबित्तिकै काठमाडौंवरिपरिका डाँडाकाँडा निस्किन्थे ।

अफरोडमा बाइक कुदाउन रुचाउने उनी कोभिड महामारी सुरु भएसँगै बाहिर निस्कन सकिरहेका छैनन् । बाइकका सौखिन ज्योतिले लकडाउनका कारण एडभेन्चर राइडिङ ‘मिस’ भइरहेको बताएका छन् । 

अब्दुल रहमान उमेरले ६६ वर्ष पुगिसके, तैपनि उनलाई अफरोडमा बाइक कुदाउँदै डाँडाकाँडा चहार्न मन लाग्छ । उनी डटबाइक कुदाउँदै कहिले मनाङ पुग्छन्, कहिले मुस्ताङको लोमान्थाङ । यतिसम्म कि समुद्रको किनारमा बाइक कुदाउनकै लागि भनेर बर्सेनि अमेरिका पनि पुगेका हुन्छन् ।

मान्छे पैदल हिँड्न पनि डराउने भीरको बाटोमा बेतोडले बाइक कुदाउँदै हिँड्ने उनी कोभिडपछि घरमै थुनिएका छन् । भन्छन्, ‘अचेल टाढा जान पाइँदैन, काठमाडौंवरिपरिका डाँडातिर राइडिङ गरिरहेको छु ।’ हालै उनी होन्डा सिआरएफ चलाउँदै दोलालघाटसम्म पुगेर फर्किए । लकडाउन खुल्नेबित्तिकै साथीहरूसँग लोमान्थाङ जाने योजनामा छन् उनी । 

बाइकर्स नेपालले विभिन्न अफरोड गन्तव्यमा मोटरसाइकल टुर गराउन थालेको डेढ दशक भइसक्यो । यो कम्पनीले वर्षमा ६/७ वटा टिमलाई एडभेन्चर बाइक राइडिङ गराउँदै आइरहेको थियो । पर्यटकीय सिजन सुरु हुनेबित्तिकै बाइकर्स नेपालका संस्थापक पासाङ खम्बाचे शेर्पालाई भ्याइनभ्याई हुन्थ्यो । तर, चैतयता बाइकर्स नेपालका संस्थापक शेर्पा र निखिल ठकुरी पूरै फुर्सदिला बनेका छन् । लकडाउनले गर्दा टुर प्याकेज चलाउन सकिने अवस्था छैन ।

 गत वर्षको यही समय शेर्पा र ठकुरी भारतको लद्दाखमा बाइक कुदाइरहेका थिए । एडभेन्चर बाइक रियालिटी सो पल्सर डेयर भेन्चरका मार्सल उनीहरू काठमाडौंदेखि लद्दाखको पाङओङ लेकसम्म पल्सर एनएस–२०० कुदाएरै पुगेका थिए । विगतमा सिजनका बेला दुवैजनाको फेसबुक अफरोडमा डटबाइक कुदाएका तस्बिरले भरिभराउ हुन्थ्यो । शेर्पा भन्छन्, ‘यो वर्ष कोभिडले ठप्पै बनायो, सिजन सुरु भए पनि ट्राभल गर्न पाइँदैन, एडभेन्चर टुर हुँदैन ।’

- नेपालमा बाइक राइडिङ कल्चरका रूपमा विकास हुँदै थियो । डटबाइक चढेर डाँडाकाँडा घुम्न निस्कने जमात बढ्दै गइरहेको थियो । विदेशी पर्यटक पनि एडभेन्चर टुरमा जाने गर्थे । तर, कोभिड महामारीले ‘अफरोड बाइकिङ’ सोखिन राइडरको सुन्दर सपना खोसेको छ । आन्तरिक पर्यटकको मुभमेन्ट बढाउन एडभेन्चर राइडिङले ठूलो भूमिका खेल्दै आइरहेको छ ।

 

बाइक राइडिङ बढेपछि धेरै कम्पनीले टुर प्याकेज चलाउँदै आइरहेका छन् । बाइकर्स नेपाल, बुलेट क्लबलगायतले देशभित्र मात्र होइन कि तिब्बतको ल्हासा र भारतसम्म बाइक टुर गराउँछन् । डेढ दशकदेखि एडभेन्चर टुर गराउँदै आइरहेको बाइकर्स नेपालका संस्थापक शेर्पा भन्छन्, ‘पछिल्लो समय अफरोड बाइक राइडिङ युवाहरूको सोख बन्दै आइरहेको छ ।’ तर, सन् २०२० मा कोभिडका कारण एडभेन्चर टुर हुन नसकेको उनको भनाइ छ ।

मुस्ताङ भन्नेबित्तिकै बुलेट र डटबाइकको सम्झना आइहाल्छ । एडभेन्चर राइडिङको सबैभन्दा लोकप्रिय गन्तव्य मुस्ताङमा बाइक चढेर जानेको भिडले ट्राफिक जाम नै हुन्छ । काठमाडौंबाट नजिकको गन्तव्य मनाङ पनि एडभेन्चर राइडरको रोजाइमा पर्दै आइरहेको छ । ‘हामीले वर्षको ६/७ वटा ग्रुपलाई टुर गराउँथ्यौँ, कोभिडले पूरै रोकियो,’ शेर्पा सुनाउँछन्, ‘कतिपय गन्तव्य कोरोना देखिएर सिल गरिएका छन्, कतिपय गन्तव्यमा लकडाउन छ ।’ सरकारले काठमाडौंबाट बाहिर निस्किन दिए पनि काठमाडौं फर्किन दिँदैन । घरभित्र उकुसमुुकुस भएर बसिरहेका युवाहरू कहिले लकडाउन खुल्ला र घुम्न निस्कन पाइएला भन्दै कुरेर बसिरहेका छन् । 

-सरकारले बिहीबारदेखि लामो दूरीका सवारीसाधन, आन्तरिक विमान, होटेल तथा रेस्टुरेन्ट खुला गरिसकेको छ । अब पर्यटकीय गन्तव्यका होटेल पनि खुल्नेछन् । यति मात्र होइन, ट्रेकिङ र माउन्टेनियरिङमा आउन चाहने पर्यटकलाई प्रवेश दिने सरकारको तयारी छ । सिजनको मुखैमा पर्यटकीय गतिविधि सुचारु गर्ने निर्णयले एडभेन्चर टुर सुरु हुने अपेक्षा छ । बाइक राइडर पनि टुरमा निस्कन पाइनेमा आशावादी छन् ।

अब्दुल रहमान भन्छन्, ‘सरकारले निषेधाज्ञा खोल्नेबित्तिकै सिआरएफ चढेर मुस्ताङ गइहाल्ने हो ।’ तर, बाइकर्स नेपालका संस्थापक शेर्पा लामो दूरीका सवारीसाधन चलाउन दिँदैमा बाइक चलाएर घुम्न निस्कने वातावरण नबन्ने बताउँछन् । उनी भन्छन्, ‘काठमाडौंबाट बाहिर निस्कन पाएर मात्र पनि भएन, गन्तव्यमा खाने बस्ने सुविधा पनि हुनुपर्‍यो, पछि काठमाडौं फर्किन पनि पाउनुपर्‍यो नि ।’

नेपालको हिमाली र पहाडी भेग अफरोड राइडिङका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्छन् । पछिल्लो समय सहरी युवाहरू बुलेट र डटबाइक चढेर हिमाल तथा पहाड चढेर रमाउन थालेका छन् । नेपालमा बाइक स्टन्ट र रेसिङ पनि बढ्दै गइरहेको छ ।

नेपालमा पछिल्लो समय बाइक टुरिजम फस्टाउँदै गइरहेको बताउँछन् अब्दुल रहमान । उनी थप्छन्, ‘कतिपय विदेशी एडभेन्चर टुरमा जानकै लागि भनेर नेपाल आउने गर्छन्, हिमालको काखमा सुन्दर प्रकृतिको मज्जा लिँदै बाइक कुदाउन अरू देशमा कहाँ पाइन्छ ।’ पर्यटकीय सिजनमा स्वदेशी तथा विदेशी राइडर्सहरूले मुस्ताङ, मनाङको सडक भरिएको हुन्छ । पछिल्लो समय रारा तालमा पनि एडभेन्चर राइडरको ठूलो जमात जान थालेको छ ।

नेपालको मुस्ताङ, मनाङ, रारा, जुम्ला, कालिञ्चोक, सौराहा, पोखरा, बिपी राजमार्ग, भोटेकोसी किनार, नुवाकोट, चित्लाङ, दामन शिवपुरी, पाल्पा, भेडेटार, इलाम, चिसापानीलगायत ठाउँहरू एडभेन्चर टुरका लागि प्रख्यात हुन् ।

सबैभन्दा लोकप्रिय गन्तव्य मुस्ताङमा बाइक चढेर घुम्न जाने युवायुवतीको संख्या वार्षिक ३० हजारभन्दा बढी हुने पर्यटन व्यवसायी बताउँछन् । काठमाडौंवरिपरिका डाँडातिर पनि बाइक कुदाउँदै हिँड्ने युवाको बाक्लो भिड लाग्थ्यो । तर, अहिले कोभिडका कारण सबै गन्तव्य सुनसान बनेका छन् । धेरैको आशा छ कि अब सरकारले विनारोकतोक देश चहार्न दिनेछ ।

अफरोडमा घुम्न निस्कने संस्कृति बढेसँगै युवामाझ डर्टबाइक निकै लोकप्रिय बनेको छ । जस्तोसुकै बाटोमा पनि कुदाउन सकिने हुँदा डर्टबाइक रोजाइमा परेको हो । चर्को ‘पटटट’ आवाज आउने बाइक कुदाएर हिँड्नुको मज्जा पनि बेग्लै रहेको शेर्पा बताउँछन् ।

अहिले नेपाली सडकमा क्रसएक्स (सिएक्स), क्रसफायर, रेञ्जु, होन्डा, हार्डफोर्ड, बिएसआई, डुकाटी, बिएमडब्लु, हुसाङ, युएम, हस्कीलगायत दर्जन हाराहारी ब्रान्डका डर्टबाइक कुद्छन् । सिएक्स नेपाली ब्रान्ड हो, चीनमा एसेम्बल्ड हुँदै आइरहेको छ । नेपालमा उपलब्ध कतिपय फुल डटबाइक हुन् भने कतिपय ट्रायट डर्टबाइक हुन्, जुन अन–अफ दुवै रोडमा चलाउन सकिन्छ । अहिले नेपालमा डटबाइकको मूल्य चार लाखदेखि २५/३० लाख रुपैयाँसम्म पर्ने व्यवसायी बताउँछन् । 

डटबाइक नै किन ?
अफरोडमा चलाउने बाइक हलुका र उच्च परफमेन्स दिने हुनुपर्छ । डटबाइकको ग्राउन्ड क्लियरेन्स उच्च हुन्छ । झट्ट हेर्दा हेभीजस्तै लाग्ने डटबाइकको तौल जम्मा एक सयदेखि १३० केजीसम्म हुने गर्छ । आल्मुनियमको च्यासिसले बनेको हुनाले पनि डटबाइक हलुका हुन्छन् । साथै, इन्धन ट्यांकी पनि सानो हुन्छ, धेरै तेल नअटाउने हुनाले बाइक गह्रौँ हुन पाउँदैन । डटबाइकको सस्पेन्सन पनि उत्तिकै फ्लेक्जिबल हुन्छ । खाल्डाखुल्डी र उकालो कच्ची सडकमा पनि डटबाइक सजिलै कुदाउन सकिन्छ ।

उच्च क्षमताको हुने हुनाले बाइकले सजिलै तान्छ पनि । डर्टबाइकको डिजाइन र प्रविधि पनि अफरोडमा कुदाउन मिल्ने गरी बनाइएको हुन्छ ।
नेपालमा डटबाइकले एडभेन्चर टुरिजमको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुर्‍याउँदै आइरहेको छ । टुर्स एन्ड ट्राभल कम्पनीहरूले पनि पर्यटकलाई डटबाइक भाडामा दिँदै आइरहेका छन् । कतिपय कम्पनीले टुर प्याकेज नै चलाइरहेका छन् ।

सहरी युवाहरू नयाँ–नयाँ गन्तव्य खोज्दै बाइक कुदाएर पुग्ने गरेका छन् । शेर्पा भन्छन्, ‘अरूले फेला नपारेका गन्तव्य बाइक राइडरले भेटाउँछन् र प्रमोसन पनि गरिदिन्छन् ।’ आन्तरिक पर्यटन पर्वद्धन गर्न बाइक राइडिङ कल्चरले ठूलो सहयोग पुर्‍याएको बताइन्छ । युवाहरूलाई देशका कुनाकाप्चासम्म घुम्नका लागि बाइक राइडिङ कल्चरले सहयोग पुर्‍याएको हो ।