मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७७ असोज १ बिहीबार १५:३०:००
Read Time : < 1 मिनेट
विश्व

फेसबुक, गुगलले अखबारका सामग्री राखे पैसा तिर्नुपर्ने कानुन बनाउँदै अस्ट्रेलिया

Read Time : < 1 मिनेट
रासस
२०७७ असोज १ बिहीबार १५:३०:००

 फेसबुक र गुगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्नेसम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुवै निकायलाई आफ्नो संशोधन पेस गर्न समय दिइएको छ । तर, मस्यौदा कानुनका लेखकहरूले सैद्धान्तिक रूपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् । 

अस्ट्रेलियाली स्वच्छ व्यापार नियामक रड सिम्सले आफूले कानुनको अन्तिम मस्यौदा संसदमा बुझाउन लागेको बताए । प्रस्तावित कानुनमा अक्टोबरको सुरुदेखि नै फेसबुक र गुगलले अस्ट्रेलियाली सञ्चारमाध्यमका समाचार सामग्री उद्धृत गरेमा, छापेमा सञ्चारमाध्यमलाई भुक्तानी गर्नुपर्ने व्यवस्था समेटिएको छ । 

फेसबुकले समाचार दिनुको साटो अस्ट्रेलियाली समाचार सामग्री आफ्नो साइटमा नदेखिने बनाउन लागेको चेतावनी दिएको छ । गुगलले पनि प्रस्तावित कानुनले गुगल सर्च र युट्युबमा नकारात्मक असर पर्ने जनाएको छ । गुगलले निःशुल्क सेवा प्राप्त गर्ने जनताको अधिकार कुण्ठित हुन सक्ने तथा प्रयोगकर्ताका व्यक्तिगत विवरणहरू सञ्चारमाध्यममा पुग्न सक्ने बताएको छ । 

सिम्सले अमेरिकी सामाजिक सञ्जालका प्लेटफर्मसँग प्रस्तावित कानुनबारे छलफल गरिरहेको बताएका छन् । प्रस्तावित कानुनबारे अक्टोबरमै संसदमा छलफल हुने कार्यसूची रहेको छ । सिम्सले गुगलले उठाएका केही सरोकार जायज रहेका र त्यसलाई सच्याउन कानुनी व्यवस्था गरिने बताए । उनले गुगल वा फेसबुकले भनेझैँ सबै कुरा फेरबदल गर्न नसकिने बताए ।    

स्पेन र फ्रान्सले पनि बौद्धिक कानुनमार्फत समाचारका लागि फेसबुक र गुगलमाथि भुक्तानीको दाबी गर्ने अभियान सञ्चालन गरे पनि त्यो असफल भएको थियो । यस विषयमा संयुक्त राज्य अमेरिका र युरोपमा पनि उस्तै समस्या रहेका छन् ।