मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज १ बिहीबार १५:००:००
Read Time : > 2 मिनेट
सप्तरंग

चलचित्रकर्मीले चियापसलमा बसेर हल्ला गर्ने काम बन्द गर्नुपर्छ : दयाराम दाहाल

Read Time : > 2 मिनेट
२०७७ असोज १ बिहीबार १५:००:००

चलचित्र अध्ययनलाई विद्यालय तहको पठ्यक्रममा समावेश गर्ने विषयमा भइरहेको तयारी र पाठ्यक्रममा के–कस्ता विषय समेटिनेछ भन्ने सन्दर्भमा  चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँग गरिएको संवाद :–

चलचित्र अध्ययनलाई पाठ्यक्रममा समावेश गर्ने विषयले चलचित्रसँग सम्बद्ध व्यक्तिहरूमा निकै उत्साह देखिन्छ । पाठ्यक्रममा समावेश हुँदै गर्दाका जटिलताहरूलाई चलचित्र विकास बोर्डले कसरी सम्बोधन गर्ने तयारी गरेको छ ?
पहिलो कुरा त सिनेमालाई बौद्धिक बहसको रूपमा कहिल्यै लिइएन । हल्का रूपमा लिइयो । मेरो आग्रह के हो भने सिनेमालाई मनोरञ्जनको रूपमा मात्र नहेर्नुहोस् । मनोरञ्जनको रूपमा मात्र लिइयो भने चलचित्रलाई गलत हिसाबमा बुझिन्छ । नेपाली चलचित्र क्षेत्रमाथि अन्याय हुन्छ ।  सञ्चारकर्मीले पनि चलचित्रबारे लेख्दा त्यसको धरातलमा रहेर लेखेका छैनन् । टिआरपीका लागि लेखिएको छ । हरेक तहबाट नेपाली चलचित्र धराशायी बनेको छ । चलचित्रलाई हल्का बहसमा ल्याइएको छ, त्यसरी ल्याउनै हुन्न । त्यसको सिर्जनात्मक, प्राविधिक, वैज्ञानिक पक्ष र समाजमा पार्न सक्ने असरबारे खाेइ त बहस गरेको ? 

तर, कतिपयले बौद्धिक बहस हुने किसिमका नेपाली चलचित्र बनेकै छैनन् । नेपाली चलचित्र नेपाली समाजभन्दा धेरै पर रहेर बन्ने गरेका छन् । संस्कृति, भाषा, पहिचानलाई सरोकारै राख्दैनन् भन्ने आरोप पनि छ नि ?
हामीले नेपाली चलचित्रमाथिको बौद्धिक बहसको सुरुवात तल्लो लेभलबाटै गर्नुपर्छ । त्यहाँबाट बहस हुन थाल्यो भने, विद्यालय तहबाट कलेजसम्म व्यावसायिक अध्ययन हुन थाल्यो भने यस्तो विषयमा गम्भीर अध्ययन र समीक्षा हुन सक्छ भनेर बोर्डले पाठ्याक्रमको पहल गरेको हो । नत्र चार लाइनको समाचार लेख्छौँ, आठ लाइन बोल्छौँ टिभी र रेडियोमा, त्यहीँबाट टिआरपी आउँछ, त्यहीँ शीर्षक खोजेर राख्छौँ । र, हलिउडसँग तुलना गर्छौँ । यसरी कतिन्जेल हामीले छलफल गरिरहने ! तर, हामीले विशुद्ध बहसचाहिँ कहाँ गऱ्याैँ ?

नेपाली सिनेमा अध्ययनका लागि पाठ्यक्रममा त लाने, तर कसरी लाने, के–के विषय लाने भन्ने विषयको जटिलतालाई कसरी सम्बोधन गरिरहनुभएको छ ? 
यसमा कुनै जटिलता छैन । दुई–चारजना मान्छेले जटिल बनाउन खोजेका हुन् । पहिला त ‘नेपाली चलचित्र पनि बन्छ र..’ भनेर मान्छेहरु प्रश्न गर्थे । त्यो अवस्था सकियो । ०५६ सालतिर मलाई नै पत्रकारहरूले ‘नेपालमा चलचित्र व्यावसायिक हुन सक्छ र ?’ भनेर सोध्थे । त्यो अवस्था पनि पार भयो । ०६४/६५ सालबाट प्रविधिले फड्को माऱ्याैँ । तर, हामी डिजिटल फेजमा प्रवेश गऱ्याैँ तर, हाम्रो विषयचाहिँ भएन । संसारमा चलचित्र बनाउने कुनै फर्मुला छैन । त्यो परिवेश, संस्कृति र रहनसहनअनुसार बनाउने हो । हलिउड, कोरियन, चिनियाँ, बलिउड सबैको आ–आफ्नो शैली छ । त्यसले गर्दा फिल्म बनाउने एउटा तरिका हो । हामीले आफ्नो तौरतरिकामा बनायौँ। अब आफ्नो शैली स्थापित गर्ने फेजचाहिँ अहिले छ । तर, कठिन छ । दर्शकलाई अहिलेको सिनेमाबाट झिकेर त्यहाँ ल्याउनुपर्छ ।

अहिले चलचित्रमा कसैले कन्टेन्ट खोजेको छ भन्छ भने त्यो गलत हो । अहिले चलचित्रले हाम्रो समाजको हिडेन पात्रहरू मात्र खोजेको हो । तर, साथीहरूले त्यसैलाई अर्गानिक भनिदिए । यसले के थाहा हुन्छ भने हामीले हाम्रा विषय मिहिन तवरले उत्खनन गरेका छैनौँ । यही र यस्तै विषय नै पाठ्यक्रममा समावेश हुने हो । पाठ्यक्रम मैले बनाउने होइन, विज्ञहरू बसेर बनाउने हुन् । के विषय लाने, कसरी लाने, त्यो विज्ञहरू बसेर छलफल गरेर निर्क्याैल गर्छन् ।  

तर, पाठ्यक्रममा राखेर मात्र हाम्रा कथाको उत्खनन त हुने होइन होला ? त्यसका लागि त खोज अनुसन्धान पनि आवश्यक होला नि ? 
पहिलो कुरा त कथाहरू उत्खनन गर्नै बाँकी छ । अहिलेसम्म त समाजको लुकेको पात्रलाई ल्याएर सिनेमा बनाउने काम मात्र भएको छ । पाठ्यक्रममा राखेर मात्र हाम्रो कथा उत्खनन हुने होइन । एउटा कोसिस हो ।

पाठ्यक्रममा राख्नेचाहिँ के ? दुई–चारजनाको जीवनी, इतिहास लेखेर पाठ्यक्रममा राखेर मात्र त चलचित्रको स्तरोन्नत्ति नहोला ?
यसरी चिया पसल या भट्टीमा बसेर हल्ला गरिने कुराले हाम्रो अभियानलाई असर गर्दैन । विकास बोर्ड धेरै अघि बढिसकेको छ । पाठ्यक्रममा के राख्ने भन्ने काम बाँकी नै छन् । नेपाली चलचित्रको आजसम्मको समग्र समीक्षा के हो ? अरू विषय के हुन् ? चलचित्रले समाज र संस्कृतिमाथि पारेको प्रभाव के हो ? प्रभाव पार्न सक्यो या सकेन ? सकेन भने किन सकेन ? यसमाथि निर्मम समीक्षासहित आधुनिक हिसाबमा पाठ्यक्रममा कुरा आउँछन्  । यसको निर्क्याैल विज्ञहरूले गर्ने हो । दक्ष चलचित्रकर्मी तयार पार्ने हो । वर्षमा पाँचैजना किन नहोस् !’

तर, विकास बोर्डमाथि चलचित्रकर्मीकै विश्वास छैन ? 
पहिलो कुरा त चिया पसलमा बसेर हल्ला गर्ने काम बन्द गर्नुपर्छ चलचित्रकर्मीले । यहाँ बोर्डमा आएर समस्याबारे कुरा राख्ने हो । मानवीय गल्ती सबैको हुन्छ । मेरो पनि होला । त्योमाथि सचेत गराउने हो  । यसरी जाँदा प्रभावकारी हुन्छ भनेर सँगसँगै हिँड्नुपर्छ । सबै मिलेर गराैँ, बोर्डले गर्न सक्ने बोर्डबाटै गरौँ । बोर्डले नसक्ने कहाँबाट सक्छौँ, त्यहीबाट गरौँ ।’