१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज १ बिहीबार ११:३५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

काठमाडौंमा प्याजको कालोबजारी : १५० रुपैयाँ किलो बेच्दै, व्यापारिको तह पिच्छे चर्काे कमिसन

Read Time : > 1 मिनेट
२०७७ असोज १ बिहीबार ११:३५:००

काठमाडौंको तीनकुनेस्थित हरित सामुदायिक कृषि बजारमा तरकारी बिक्री गर्दै आएकी नाज्दा अञ्जुले बिहीबार बिहान १५० रुपैयाँ किलोमा प्याज बेचिन् ।

उनले त्यो प्याज तल्लो तलाका होलसेल व्यापारी शालिकराम दुलालबाट ८० रुपैयाँमा किनेकी थिइन् । शालिकरामले कति मूल्यमा किने त ? उनीसँग त्यो प्याजको खरिद बिल नै छैन ।

उनी आफूले फरक फरक समयमा कहिले ६५ रुपैयाँमा र कहिले ७० रुपैयाँमा किनेको बताइरहेका थिए । ‘गाडीमा प्याज बोकेर आउँछन् । बेच्छन् । पैसा लिएर जान्छन् । उनीहरु बिल नै दिँदैनन्,’ उनले भने । बजारमा प्याजको कालोबजारी भइरहेको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको टोली सबेरै अनुगमनका लागि पुगेको थियो ।

बजारमा अनुगमन टोली आएको बुझेपछि खुद्रा बिक्री गरिरहेकी नाज्दाले किलोको ५० रुपैयाँ घटाएर १०० रुपैयाँमा प्याज बिक्री गर्न थालिन् । 

यो कारोवारमा कसैले बिल लिए वा दिएका थिएनन् । परिचय पाटी राखिएको छैन । खरिद बिक्री बिलबिना कारोबार भइरहेको छ । नापतौलको प्रमाण पत्र छैन । बाहिरपट्टिका सटरबाट होलसेल व्यापार हुन्छ भने भित्रका पसलबाट खुृद्रा व्यापार हुन्छ । हरित कृषि सहकारीले सञ्चालन गरेको बजारमा होलसेल पसलहरु दर्ता भएका छैनन् । बजारमा एक सय २८ तरकारी स्टल छन् । 

अनगुमन टोलीले बिहीबारबाट तीन होलसेल पसलको कारोबार बन्द गरिदिएको छ । ‘उपभोक्ता पनि सचेत छैनन्, व्यापारी पनि उपभोक्ता ठगी गर्न उद्धत छन्, खुलेआम ठगी भइरहँदा पनि उपभोक्तालाई समेत मतलब छैन, व्यापारीलाई त्यस्तै चाहिएको हो,’ अनुगमन टोलीका एक सदस्यले भने । 

केही दिनयता महानगरको अनुगमन टोलीले काठमाडौंका मुख्य मुख्य बजारहरुको निरन्तर अनुगमन गरिरहेको छ । सबैजसो ठाउँमा नापतौल प्रमाणित छैनन्, बिलको प्रयोग भएको छैन ।

सबैतिर उपभोक्ताको सचेतनामाथि प्रश्न उठिरहेको छ । अनुगमन टोलीले तीनकुनेका शालिकराम दुलालले सञ्चालन गरेको दुलाल आलु भण्डार फर्म, ज्यातीनाथ तुलाधरले सञ्चालन गरेको उलक सब्जी भण्डार र बिजेश गौतमले सञ्चालन गरेको दर्ता हुन बाँकी होलसेल रहेका छन् । 

उलक सब्जी स्टोरमा आलुका बोराले छोपेर १३ बोरा प्याज भण्डार गरिएको थियो । महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायव निरीक्षक बिनोद बिक्रम बस्नेत, सहकारीका कार्यकारी प्रमुख कोमलचन्द्र बरालको रोहबरमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागबाट लिखित रुपमा व्यवसाय सञ्चालन गर्ने अनुमति नलिएसम्मका लागि कारोबार रोक्का गरेको हो ।