मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७७ भदौ ३१ बुधबार १५:००:००
Read Time : > 1 मिनेट
विश्व

जापानको नयाँ प्रधानमन्त्रीमा ७१ वर्षीय योसिहिदे सुगा निर्वाचित

Read Time : > 1 मिनेट
रासस
२०७७ भदौ ३१ बुधबार १५:००:००

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका प्रमुख योसिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । 

जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनी संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाउन सफल भएका हुन् । किसानको छोरा सुगा अहिले ७१ वर्षका छन् । उनी सन् १९९१ मा प्रधानमन्त्री बनेका किची मियाजावापछि सबैभन्दा पाको उमेरको प्रधानमन्त्री हुन् । प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि उनले देश र जनताका लागि काम गर्न सधैँ प्रतिबद्ध रहेको जनाएका छन् । ‘मेरो लगाव सधैँ देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,’ उनले भने । उनले आफूले सबैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाइँमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताए । त्यसका लागि सबैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास लिएको उनको भनाइ छ । उनको मन्त्रिपरिषदमा पूर्वअर्थमन्त्री तारो असो र विदेशमन्त्री तोसिमित्सु मोतेगी दोहोरिने सम्भावना देखिएको छ ।

को हुन् योशिहिदे 

सुगाले यसअघि लिएको मन्त्रिपरिषद्को मुख्य सचिवको जिम्मेवारी भने तत्कालीन स्वास्थ्यमन्त्री कत्सुनोबु कातोले पाउने अपेक्षा गरिएको छ ।  निवर्तमान प्रधानमन्त्री सिन्जो आबेको अति निकटस्थ पात्रका रूपमा रहेका सुगालाई यसअघि गत सोमबार पार्टीको प्रमुखमा निर्वाचित गराइएको थियो । सुगाले आबे नेतृत्वको सरकार रहेका वेलामा सरकारको मुख्य प्रवक्ता र मन्त्रिपरिषद्को मुख्य सचिवका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । गत सोमबार भएको पार्टीभित्रको निर्वाचनमा उनले तीन सय ७७ मत प्राप्त गरेका थिए । उनीसँग प्रतिस्पर्धा गरेका पूर्वविदेशमन्त्री फुमिओ किसिदाले ८९ र पूर्वरक्षामन्त्री सिगेरु इसिबाले ६८ मत मात्रै प्राप्त गरेका थिए । 

निवर्तमान प्रधानमन्त्री आबेले केही दिनअघि अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पद त्यागेको घोषणा गरेका थिए । उनी सुरुमा सन् २००६ देखि २००७ सम्म पहिलोपटक प्रधानमन्त्री भएका थिए । त्यतिवेला पनि अस्वस्थतालाई कारण देखाउँदै पद त्याग गरेका थिए । पछि स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरि प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।  
जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेको नेताका रूपमा रहेका ६५ बर्षीय आबेले आफ्नो कार्यकाल अझै झन्डै एक वर्ष बाँकी रहेकै वेलामा राजीनामा दिएका हुन् ।