१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ भदौ ३१ बुधबार ०४:००:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उज्यालो नेपालका संवाहक कुलमानको बिदाइ

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ भदौ ३१ बुधबार ०४:००:००

मुलुकलाई चरम लोडसेडिङबाट मुक्त गराएर उज्यालोका प्रतीक बनेका कुलमान घिसिङ ३४ अर्ब ऋणले थिचिएको प्राधिकरणलाई निरन्तर नाफामा लैजान सफल भए, विद्युत् चुहावट घटाए

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आइतबार चारवर्षे कार्यकाल पूरा गरी बिदा भएका छन् । मुलुकमा १८ घन्टासम्मको लोडसेडिङ हुने गरेको समयमा प्राधिकरणको नेतृत्व सम्हाल्न आइपुगेका घिसिङले आफ्नो कार्यकालमा मुलुकलाई लोडसेडिङमुक्त बनाए । तत्कालीन समयमा जनताले कल्पना नै नगरेको काम गरेपछि उनी एकाएक उज्यालोको प्रतीक बन्न पुगेका थिए । तर, उनलाई दोस्रो कार्यकालका लागि नियुक्ति दिन सरकार तयार नभएपछि उनले अवकाश प्राप्त गरे । 

मुलुकलाई लोडसेडिङमुक्त बनाउने मात्रै होइन, चरम घाटामा रहेको प्राधिकरणलाई सञ्चित नाफामा लैजान भूमिका खेलेकोलगायतका कारणले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्न तीव्र जनदबाब भए पनि सरकारले त्यसो गरेन । देशलाई उज्यालो बनाउने कामको एकलौटी जस कुलमानले प्राप्त गरेपछि त्यसबाट राजनीतिक नेतृत्व खुसी थिएन । २९ भदौ ०७३ मा कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानले ३१ ०७५ मा देशलाई लोडसेडिङमुक्त बनाएका थिए । 

विद्युत् प्राधिकरणको व्यवस्थापनमा उनले देखाएको अर्को सकारात्मक नतिजा विद्युत् चुहावट नियन्त्रण हो । कुलमान प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा छिर्दा वार्षिक विद्युत् चुहावट २५ दशमलव ७८ प्रतिशत थियो । यसलाई पनि नियन्त्रण गरेर ०७७ भदौसम्ममा १५ दशमलव २७ प्रतिशतमा ल्याएको प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

कुलमान नियुक्त हुँदा आर्थिक वर्ष ०७२÷७३ मा प्राधिकरणको सञ्चित घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ थियो । कुलमान प्राधिकरण छिरेको पहिलो वर्ष एक अर्ब ४७ करोड खुद नाफा भयो । त्यसपछि ०७४÷७५, ०७५÷७६ र ०७६÷७७ मा क्रमशः दुई अर्ब ८५ करोड, नौ अर्ब ९१ करोड र ११ अर्ब खुद नाफा कमाउन सफल भयो । निरन्तर नाफामा गएपछि प्राधिकरणले सञ्चित घाटाको ब्याजसहित ३५ अर्ब रुपैयाँ भुक्तानी गर्न सफल भयो । 

त्यति हुँदाहुँदै पनि विद्युत् प्राधिकरण र सहायक कम्पनीहरूले निर्माण गरिरहेका आयोजना सम्पन्न गर्न ध्यान नदिएको भनेर कुलमानको आलोचना भइरह्यो । पहिल्यै सम्पन्न हुनुपर्ने चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुन सकेन । त्यस्तै, एक सय दुई मेगावाटको मध्यभोटेकोसी, एक सय ११ मेगावाटको रसुवागढी, माथिल्लो र तल्लो गरी ५७ मेगावाटका सान्जेन जलविद्युत् आयोजनाहरू पनि पूरा हुन सकेनन् । 

तर, उनको कार्यकालमा लामो समयदेखि रुग्ण माथिल्लो त्रिशूली ३ ए, चमेलिया र कुलेखानी ३ आयोजनाहरू सम्पन्न भएको र निजी क्षेत्रकासहित जम्मा चार सय ५७ मेगावाटका जलविद्युत् आयोजना सञ्चालनमा आए । 

मंगलबार प्राधिकरणका कर्मचारीले गरेको बिदाइ कार्यक्रममा घिसिङले लोडसेडिङ इतिहासमा विलय भएको बताए । उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानको सारथि बन्न पाउँदा अत्यन्त खुसी लागेको छ ।’ साथै, नियमित विद्युत् आपूर्ति भएपछि मुलुकको आर्थिक क्षेत्र उत्साहजनक रहेको उनले बताए ।

कार्यक्रममा उनले आयोजना निर्माणलाई तीव्रता दिन लामो समयदेखि अलपत्र परेको विद्युत् प्रसारण र वितरणतर्फका केही आयोजनाहरूको ठेक्का रद्द गरी नयाँ ठेक्का लगाइएको र निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न नियमित निरीक्षण एवं अनुगमन गरिएको बताए । पछिल्लो वर्ष भूमिगत तार बिछ्याई काठमाडौं उपत्यकालाई तार र पोलरहित बनाउने, स्मार्ट मिटर जडान गर्ने, ग्रिडलाई स्वचालित बनाउने कार्यको थालनी गरिएको उनले उल्लेख गरे । नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले पाएका छन् ।