१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ३० मंगलबार १९:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिकको मुख थुन्न संसद्को बैठक बन्द गरियो : नेता विश्वकर्मा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ३० मंगलबार १९:४७:००

नेपाल कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माले राज्य आफैँ लागेर दलित समुदायमाथि अत्याचार गर्न थालेको बताएका छन् । संविधान र कानुनले विभेदको अन्त्य गरे पनि सरकारले त्यसको कार्यान्वयन नगर्दा दलितमाथि अत्याचार विभेदमा मात्रै सीमित नभएर हत्यासम्म पुग्न थालेको उनले बताए । 

‘पहिले बरु विभेद मात्रै थियो, अहिले त दलितलाई मारे पनि हुन्छ, जे गरे पनि हुन्छ भन्ने मानसिकता विकास भएको छ, प्रहरी आफैँ लागेर दलितको हत्या भएको छ, यसलाई कसरी बुझ्ने ?,’ उनले भने । प्रहरी हिरासतमा हत्या गरिएका शम्भु सदा, विजय राम, रोशन विश्वकर्मालगायत देशभर दलित समुदायमाथि भएका हत्या, हिंसा, बलात्कार तथा जातीय विभेदको विरुद्धमा संयुक्त राजनीतिक दलित संघर्ष समिति र नागरिक समाजले मंगलबार माइतीघरमा गरेको धर्ना तथा विरोधका क्रममा उनले यस्तो बताएका हुन् । विरोधमा सहभागी नेता, कार्यकर्ताले एक घन्टासम्म मौन प्रदर्शन गरेका छन् । 

प्रदर्शनपछि सञ्चारकर्मीसँग संघर्ष समितिका संयोजकसमेत रहेका नेता विश्वकर्माले भने, ‘संविधानको पूर्ण कार्यान्वयन हुन्थ्यो भने विभेदको अन्त्य सम्भव थियो, तर सरकार संविधान कार्यान्वयन गरेर दलितलाई अधिकार दिन चाहँदैन, विभेदको अन्त्य गर्न चाहँदैन ।’ प्रहरीको सुरक्षा घेराभित्रै दुई–तीन महिनाको अवधिमै तीनजना दलित युवाको मृत्यु भएको घटनाले सरकारमाथि प्रश्न उठेको, तर उठाउने मौका नपाएको उनले बताए । 

‘काठमाडौंमा संयुक्त राजनीतिक संघर्ष समितिले ६० दिनसम्म सडक आन्दोलन गऱ्याैँ, यी घटनाले अहिले पनि सुत्न सकेका छैनौँ, तर घरबाहिर निस्कने अवस्था पनि छैन,’ उनले भने, ‘प्रहरीले दलितले दिएको उजुरी लिन चाहँदैन, प्रहरी आफैँले मान्छे मार्छ, अनि आफैँविरुद्धको उजुरी किन लिन्छ र ?’ 

सरकारले नागरिकको आवाज उठ्ने थलो संसद् बन्द गरेर मनमौजी गर्न थालेको उनको आरोप छ । ‘अहिले जनताले आफ्नो बोली बोल्ने ठाउँ छैन, नागरिकको मुख बन्द गर्न संसद् पनि बन्द गरियो,’ उनले भने । कार्यक्रममा विभिन्न दलका नेता तथा कार्यकर्ता र दलित अगुवाहरू सहभागी थिए । 

१० जेठमा रुकुम पश्चिमको चौरजहारीमा अन्तर्जातीय प्रेमका कारण जाजरकोटका ६ जना युवाको ज्यान गएपछि कोरोना महामारीका बीच काठमाडौंसहित देशैभरि आन्दोलन चर्किएको थियो । तर, त्यसयता तराईमा आठजना दलित हत्याका घटना हुँदासमेत काठमाडौंका दलित अधिकारकर्मी सडकमा निस्किन सकेका थिएनन् ।