१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ ३० मंगलबार १३:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हिरासतमा यातना काण्ड : प्रहरी हिरासतमा ज्यान गुमाएका विजय महराको शव बुझ्न परिवारद्वारा अझै अस्वीकार

Read Time : > 1 मिनेट
२०७७ भदौ ३० मंगलबार १३:०६:००

प्रहरीको हिरासतमा ज्यान गुमाएका रौतहट गरुडा– ८ का विजय महराको शव अझै पनि परिवारले बुझेका छैनन् । 

महराको शव परिवारले बुझ्न नमान्दा दुई सातादेखि काठमाडौंमै छ । अपराध स्विकार्न प्रहरीले यातना दिएकाले छोराको मृत्यु भएको भन्दै आन्दोलन गरिरहेका उनीहरूले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । 

गरुडा नगरपालिका– ८ जिंगडियाका २० वर्षीय निरञ्जन रामको ३१ साउनको राति घाँटी रेटी हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा भोलिपल्ट इलाका प्रहरी गरुडाले विजयलगायत सातजनालाई पक्राउ गरेको थियो । 

२ भदौमा विजयलाई जिल्ला प्रहरी गौरबाट खटेको प्रहरी निरीक्षक नवीनकुमार सिंहसहितको टोलीले महिला सेलको हिरासत कक्षमा कुटेर हत्या कबुल गर्न लगाएको परिवारको आरोप छ । यही क्रममा उनी गम्भीर बिरामी परे । 

४ भदौको राति उपचारका लागि वीरगन्ज पुऱ्याइएका विजयको १० गते बिहान मृत्यु भयो । त्यसपछि गरुडामा प्रहरीविरुद्ध प्रदर्शन सुरु भयो । परिवारको मागअनुसार त्यसैवेला उनको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल लगियो । 

अहिले पनि शव काठमाडौंमा नै छ । परिवारले छोरालाई यातना दिने सुरक्षाकर्मीविरुद्ध मुद्दा दर्ता, उचित क्षतिपूर्ति, निष्पक्ष छानबिन, सहिद घोषणा, निरञ्जनको हत्यामा संलग्न दुईजना फरार रहेकाले उनीहरूलाई पक्राउ गर्नुपर्नेलगायत माग राखेका छन् । 

विजयलाई कुटपिट गरेको आरोप लागेका प्रहरी निलम्बनमा परिसकेका छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विजयको शव अहिलेसम्म काठमाडौंमै रहेको बताए । 

प्रहरीले हत्यामा संलग्न रहेको भन्दै पक्राउ गरेका सातजनालाई कर्तव्य ज्यान मुद्दा चलाइसकेको छ ।     

विजयका बुबा पनिलालले माग पूरा नभएसम्म छोराको शव नबुझ्ने बताए । 

‘मेरो छोरालाई प्रहरीले कुटेर मारेको हो । जबर्जस्ती अपराध कबुल गराउने यो कस्तो अनुसन्धान हो ?’ उनले भने, ‘जबसम्म निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुँदैन तबसम्म शव बुझ्दिनँ ।’

यता सो घटनाबारे छानबिन समितिले छानबिन कार्यलाई अन्तिम चरणमा पुऱ्याएको जनाएको छ ।