मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ३० मंगलबार १२:५३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कोरोना बिमा मापदण्ड संशोधन : कोरोना संक्रमण पुष्टि भएमा २५ प्रतिशत राहत र बाँकी अस्पतालको बिलअनुसार भुक्तान गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ३० मंगलबार १२:५३:००

बिमा समितिले बिमितलाई कोभिड– १९ संक्रमण पुष्टि भए बिमांकको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिलअनुसार रकम भुक्तान दिने व्यवस्था गरेको छ । 

समितिले कोरोना बिमा मापदण्ड संशोधन गरी यस्तो व्यवस्था गरेको हो । 

समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कोरोना बिमा गरेका बिमितले पिसिआर गर्दा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेको अवस्थामा बिमांक रकमको २५ प्रतिशत भुक्तानी दिने व्यवस्था गरिएको बताए । 

त्यसबाहेक अस्पतालमा बस्नुपरेको खण्डमा भने राहत रकमसहित बिल भर्पाइको आधारमा थप ७५ प्रतिशतसम्म भुक्तानी दिइने अध्यक्ष चापागाईंले जानकारी दिए । 

उनले २८ भदौसम्मका बिमितको हकमा पुरानै व्यवस्था लागू हुने र भदौ २९ गतेपछि बिमा गरेका बिमितका लागि मात्रै यो व्यवस्था लागू हुने पनि स्पष्ट  पारे । 

कोरोना बिमाको पूरा नै व्यवस्थासहित स्वास्थ्य बिमालाई समेत गाभेर मिश्रित प्रकृतिको बनाइएको पनि अध्यक्ष चापागाईंले बताए । 

यस्तै समितिले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति दिएका प्रयोगशालाबाट पिसिआर परीक्षण गर्दा कोभिड– १९ संक्रमण पुष्टि भए बिमांक रकम भुक्तानी गर्ने व्यवस्था गरिएको पनि अध्यक्ष चापागाईंले जानकारी दिए । 

उनले पछिल्लो समय संक्रमण पुष्टि हुनेहरूको संख्या पनि बढ्दै गएको र विभिन्न विज्ञहरूको सुझाबका आधारमा बिमा मापदण्ड संशोधन गरी समयसापेक्ष बनाइएको स्पष्ट पारे । 

संशोधित व्यवस्थाअनुसार बिमितले एक लाख रुपैयाँको बिमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए राहतस्वरूप २५ हजार रुपैयाँ पाउनेछ । 

तर, अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल–भर्पाइ पेस गरेको खण्डमा थप ७५ हजार रुपैयाँसम्म भुक्तानी हुनेछ । 

५० हजार बिमांक रकम भएको पोलिसी खरिद गरेको संक्रमित व्यक्तिले भने राहतस्वस्प १२ हजार पाँच सय रुपैयाँ पाउनेछ भने बाँकी अस्पतालको बिल–भर्पाइअनुसार ३७ हजार पाँच सय रुपैयाँसम्म पाउनेछ । 

बिमा समितिले एक हजार रुपैयाँ बिमा शुल्क कायम भएको एक लाख रुपैयाँ बिमांक र पाँच सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बिमांक रकम रहेको पोलिसी लागू गरेको छ । 

जसमा पारिवारको बिमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि तीन सय रुपैयाँ बिमा शुल्क कायम भएको थियो । 

त्यसमा सरकारले ५० प्रतिशत अनुदान दिएको अवस्थामा सामूहिक रूपमा परिवारको बिमा गर्दा एक लाख रुपैयाँ बिमांकका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ र ५० हजार रुपैयाँ बिमांकका लागि प्रतिव्यक्ति एक सय ५० रुपैयाँ तिर्नुपर्छ ।