Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामराज शर्मा
२०७७ भदौ ३० मंगलबार ०५:४६:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जलविद्युतकाे सेयर किन्ने कि नकिन्ने ?

Read Time : > 3 मिनेट
रामराज शर्मा
२०७७ भदौ ३० मंगलबार ०५:४६:००

८–१० वर्ष चलाउन नपर्ने पैसा छ भने नयाँ जलविद्युत् आयोजनाहरूमा लगानी गर्नु बुद्धिमतापूर्ण नै हुनेछ । यो एक आकर्षक क्षेत्र पनि हो ।

केही अघि कसैले फेसबुक स्टाटसमा राखेको सेयर बजारमा जलविद्युत् कम्पनीहरूको प्रतिसेयर मूल्यसूची भाइरल भयो । त्यस स्टाटसमा विभिन्न जलविद्युत् कम्पनीहरूको सेयर मूल्यको सूची प्रस्तुत गरिएको थियो ।

जसमा आँखुखोला रु. ४९, दिव्यश्वरी जलविद्युत् रु. ४७, घलेम्दी हाइड्रो रु. ५४, खानीखोला हाइड्रोपावर रु. ४६ लगायत २० भन्दा धेरै कम्पनीको प्रतिसेयर मूल्य सय रुपैयाँभन्दा कम देखिन्छ, जुन नेप्सेबाट लिइएको हो । त्यस सूचीले देशको कायापलट गर्न समृद्धिको आधार तयार पार्न सक्ने भनिएको जलविद्युत् क्षेत्रको सेयर (पुँजी) बजार खस्किँदो र लगानीकर्ता डुब्दै गइरहेको भन्ने नै प्रस्ट्याउँछ । 

बहुमतको सरकार निर्माण भएपछि राजनीतिक स्थिरता छाउँदै आर्थिक प्रगति हुने, निजी क्षेत्रले निर्धक्कसँग व्यापार गर्दै नयाँ उद्योगहरू खोलिने आशा गरिएको थियो, तर अवस्था ठीक उल्टो हुँदै गयो । वर्तमान ओली सरकार गठनलगत्तैदेखि सेयर बजार ओरालो लाग्न थाल्यो, निजी क्षेत्र सरकारसँग सधैँ तर्सिन पर्ने अवस्थामा रह्यो । जलविद्युत् मात्र होइन, प्रायः सबै कम्पनीको सेयर मूल्यमा निकै ठूलो मात्रामा गिरावट आयो । वैदेशिक प्रत्यक्ष लगानी खासै भित्रिएन । निजी क्षेत्रसँग मित्रतापूर्ण व्यवहार नभएका अर्थमन्त्री खतिवडाको बहिर्गमनपछि सेयर बजार केही दिनका लागि त फर्किएला, तर दीर्घकालीन रूपमा जलविद्युत्को सेयर उकालो लाग्न आयोजनाहरूको परफर्मेन्स र विद्युत् बजारको सुनिश्चितता नै मुख्य कुरो हुनेछन् । 

जलविद्युत् क्षेत्रमा परामर्शदाता र लगानीकर्ताको रूपमा रहेका मेरा एक मित्रले फोन गर्दै भन्नुभयो– सम्पूर्ण प्रक्रिया पूरा भएर निर्माणमा जानुपर्ने आयोजनाबाहेकका आयोजनामा लगानीकर्ताले चासो देखाउन छाडेका छन् । ठूला लगानीकर्तालाई कुनै आयोजनामा लगानीको प्रस्ताव लैजाँदा ढोकाबाट नै फिर्ता गर्दिने गरेका छन् । अर्थात्, यही अवस्था रहिरहे जलविद्युत् क्षेत्रको भविष्य उज्ज्वल छैन, बाटो निकै कठिन छ । 

किन घट्यो त मूल्य ? : निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टि मात्रै पनि जलविद्युत् कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावटको कारण होइन । मुख्यतः सञ्चालनमा जलविद्युत् आयोजनाहरूको कमजोर परफर्मेन्स र नयाँ आयोजनाहरूका लागि बजारको सुनिश्चितता नहुनु नै यसका मुख्य कारण हुन् । के भइरहेको छ भने आयोजनाको आर्थिक पाटो फाइनान्सियल क्लोजर र आयोजनाको इन्जिनियरिङ अध्ययनमा सर्वसाधारणलाई सेयर हाल्न प्रेरित गर्ने मनसायले कतिपय प्रबन्धकले चलखेल गर्ने गरेको पनि देखिएको छ । हाइड्रोलोजीलाई हेरफेर गर्दै उत्पादन हुने ऊर्जाको परिमाण बढी देखाउने, जोखिमहरूको सही मूल्यांकन नगरेर लुकाउने, सञ्चालन खर्च कम देखाउने गरेर आयोजनाको लगानी फिर्ता हुने समय (पेब्याक) थोरै देखाउने गरेको देखिन्छ । परामर्श दिने इन्जिनियर पनि त्यसमा मतियार बनिरहेका हुन्छन् । ड्यु डिलिजेन्समा पनि चलखेल गर्न भ्याउँछन् ।

करिब ३० साना र मध्यम आयोजना रुग्ण अवस्थामा पुगेका छन् । ती आयोजना बैंकको ऋणसमेत तिर्न नसक्ने अवस्थामा छन् । अन्य आयोजनाहरूले पनि सन्तोषप्रद उत्पादन नगरिरहेको अवस्था छ । यस्तोमा जलविद्युत् आयोजनाहरूको सेयर मूल्य नबढ्नु स्वाभाविकै हो । धेरैजसो आयोजनामा आवश्यक तथ्यांकको अभावमा हाइड्रोलोजिकल अध्ययन निकै कमजोर रहेको, आयोजना क्षेत्रको माथिल्लो तटको भौगर्भिक अध्ययन कमजोर गरिएको, हचुवा किसिमको जोखिम मूल्यांकनजस्ता कुराले आयोजना सोचेअनुरूप चलिरहेका छैनन् । प्रायजसो आयोजनामा भूकम्पीय असर, सेडिमेन्ट र हिमताल फुटेर हुन सक्ने जोखिमको गहिरो अध्ययन गरेको देखिन्न । जसले गर्दा सम्झौताअनुरूपको बिजुली उत्पादन नभइरहेको मात्र होइन, समय–समयमा ती आयोजना प्राकृतिक प्रकोपको चपेटामा पनि परिरहेका छन् । गलत अध्ययनका कारण र हाइड्रोमेकानिकल उपकरणमा छिटो–छिटो समस्या आउने भइरहँदा मर्मत खर्च निकै बढिरहेको छ । हेडलस बढ्दा समग्र उत्पादनमै नकारात्मक असर पर्छ । यसको सीधा असर आयोजनाको आम्दानीमा छ ।

अर्काेतर्फ, विद्युत् प्राधिकरण र सरकारले सम्झौता गरेका कतिपय बुँदा पालना नगरिदिँदा पनि आयोजनाहरू संकटमा परेका छन् । प्रसारण लाइनको अभावमा धेरै आयोजनाले उत्पादन सीमित गर्नु परिरहेको मात्र होइन, केही आयोजना त निर्माण सम्पन्न भएर पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिन नै पाएका छैनन् । प्रसारण लाइनमा हुने चुहावटको मूल्य पनि विद्युत् आयोजनाहरूले चुकाउनु परिरहेको छ । मिटरिङको स्थान विद्युत्गृहमा होइन, धेरै टाढाको सब स्टेसनमा राखिदिँदा पनि समस्या आएको छ । मन्त्रालयले भ्याटबापत दिने भनेको प्रतिमेगावाट ५० लाख लगानीकर्ताले पाएका छैनन् । प्रसारण लाइनमा कुनै समस्या आयो भने प्राधिकरणले तुरुन्तै मर्मत नगरिदिँदा पनि केही घाटा भएकै छ ।

यसरी समस्या नै समस्यामा परेपछि आयोजनाले प्रतिफल दिन सकेनन्, अनि सेयर बजारमा ती आयोजनाहरूको सेयर मूल्यमा ह्वात्तै गिरावट आयो । प्रतिफल नदिने आयोजनाको सेयर राखिराख्नु लगानीकर्तालाई उचित लागेन । कतिपय अवस्थामा प्रबन्धकहरूले सेयर बजारमा चलखेल गर्दै आफ्ना आयोजनाको सेयर मूल्य अस्वाभाविक रूपले बढाइदिने अनि आफ्नो सेयर बेच्ने गर्दा धेरै आयोजनाको सेयर मूल्य कृत्रिम रूपमा वृद्धि भएको थियो, जब उनीहरूले बेचिसके, त्यो ओर्लियो । 

लागत, पेब्याक र पूर्वाधार : केही निजी क्षेत्रका आयोजनाबाहेक धेरैमा लागत वृद्धि भएकै छ । सबैजसो सरकारी आयोजनाहरूको लागत दुईदेखि तीन गुणासम्म बढेको देखिन्छ । सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विभिन्न १९ वटा जलविद्युत् आयोजनामा सर्वसाधारणका लागि सेयर वितरण गर्ने कार्यक्रम घोषणा गरेको थियो । तीमध्ये सबैजसो आयोजना अध्ययनकै चरणमा छन् । दुई वर्ष पहिला नै सम्पन्न भएर जनताले प्रतिफल पाउनुपर्ने आयोजना अपर तामाकोसीको लागत दोब्बर पुग्दै प्रतिफल पाउने समय तन्किरहेको छ । लागत र आयोजनाबाट हुने आम्दानीले आयोजनाको पेब्याक निर्धारण गर्दछ । लगानी र पेब्याक थोरै भएका आयोजना मात्रै सेयर खरिद गर्नु उपयुक्त हुन्छ । त्यसैले पेब्याक समय आठ वर्षभन्दा धेरै भएका आयोजनामा लगानी नगर्दै उत्तम । त्यसैगरी, आयोजनाका लागि आवश्यक पूर्वाधार छैनन भने पनि लगानी नगर्नु बेस । कतिपय आयोजना प्रसारण लाइन र पहुँचमार्ग निर्माण हुने अनुमानमा नै अघि बढाइएका छन् ।

सेयर लगानी : ८–१० वर्ष चलाउन नपर्ने पैसा छ भने नयाँ जलविद्युत् आयोजनाहरूमा लगानी गर्नु बुद्धिमतापूर्ण नै हुनेछ । यो एक आकर्षक क्षेत्र पनि हो । मानौँ, तपाईंले एक लाख रुपैयाँ कुनै आयोजनाको सेयरमा लगानी गर्नुभयो, आयोजना समयमा नै सम्पन्न भएर सञ्चालन भयो भने पेब्याक समयमा लगानी फिर्ता पनि हुन्छ र त्यसपछि प्रत्येक वर्ष मनग्य प्रतिफल प्राप्त हुन्छ । 

यसर्थ, चलिरहेका आयोजनाको सेयर किन्ने सोचमा हुनुहुन्छ भने ती आयोजनाहरूको विगतको ऊर्जा उत्पादन इतिहास केलाउनुस् । आयोजनाको लाइसेन्स कति वर्ष बाँकी छ, त्यो हेर्नुस् । आयोजनाको कुल लागत कति हो ? अनुमानित लागत र समयमै सम्पन्न गर्न सक्ने आधारहरू के–के छन् ? आयोजनाको पेब्याक समय कति वर्ष हो ? आयोजनामा कुनै ठूलो प्राकृतिक भवितव्यले आंशिक वा पूर्ण क्षति पुर्‍याएको अवस्थामा लगानी के हुन्छ ? यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ नपाए त्यस्ता आयोजनामा लगानी गर्न अग्रसर नहुनु नै बेस, अन्यथा लगानी डुब्ने सम्भावना प्रबल रहन्छ ।
(शर्मा जलविद्युत् इन्जिनियर हुन्)