मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवराज मैनाली काठमाडौं
२०७७ भदौ २९ सोमबार १५:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भागबन्डा नमिल्दा अख्तियार नेतृत्वविहीन

 

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ भदौ २९ सोमबार १५:५२:००

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच नियुक्तिको भागबन्डा नमिल्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेतृत्वविहीन बन्न पुगेको छ । आइतबारदेखि प्रमुख आयुक्त नवीन घिमिरेले अवकाश पाएपछि आयुक्त गणेशराज जोशीले कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका छन् । 

आयोगमा प्रमुख आयुक्त तथा आयुक्त नियुक्तका लागि महिनौँ अघिदेखि छलफल चले पनि सहमति हुन सकेको छैन । सत्तारुढ नेकपाभित्रै पनि आयोगको नियुक्तिको विषयमा विवाद छ । 

आयोगमा प्रमुख आयुक्त र दुई आयुक्तको पद रिक्त छन् । त्यसमध्ये एक आयुक्त नेपाली कांग्रेसको सिफारिसमा तथा प्रमुख आयुक्त र आयुक्त सत्तारुढ दलले नियुक्त गर्न लागेका छन् । नियुक्तिको दौडमा दर्जनौँ भएपछि नेकपाको शीर्ष नेतृत्वमा सहमति हुन नसक्दा संवैधानिक परिषद्को बैठक बस्न नसकेको स्रोत बताउँछ । आयोगमा प्रमुख आयुक्त र चार आयुक्त हुने प्रावधान छ । हाल दुई आयुक्त मात्र कार्यरत छन् । निमित्तको भरमा चल्दा आयोगका निर्णयहरू समयमा हुन नसक्ने कर्मचारीहरू बताउँछन् । 

 आलोचनाको जिम्मेवारी म लिन्छु : घिमिरे 

पछिल्लो समय आयोगमाथि भइरहेको आलोचनाको आफूले जिम्मेवारी लिने आइतबारदेखि अवकाश पाएका प्रमुख घिमिरेले बताए । आयोग सत्ताको प्रभावमा परेर निर्णय गर्दै आएको भनेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आलोचना बढेकोमा उनले प्रमुख आयुक्तका रूपमा त्यसप्रति आफू जिम्मेवारी भएको उनको भनाइ थियो ।

आइतबार आयोजित बिदाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएको आयोगका एक कर्मचारीले बताए । ठूलो मुद्दा तामेलीमा राखेको र एक हजार घुस खानेलाई हप्तौँ थुनेर मुद्दा चलाउने गरेकोमा आयोगको आलोचना भइरहेको छ । 

आयोगप्रति सर्वसाधारणको धेरै अपेक्षा हुने तर जनअपेक्षाअनुसार छिटो काम हुन नसक्दा आयोगको आलोचना हुने गरेको घिमिरेको भनाइ थियो । आफ्नो कार्यकालमा निष्पक्ष ढंगले काम गरेको  घिमिरेको दाबी थियो । ६५ वर्ष उमेर हदका कारण उनले अवकाश पाएका हुन् ।