मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २९ सोमबार ०५:१४:००
Read Time : > 1 मिनेट
अर्थ

नेप्सेको प्रणालीमा बल्झिरह्यो समस्या नयाँ विशेषता थेग्न नसकेको आशंका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २९ सोमबार ०५:१४:००

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार सुरु भएको आधा घन्टा नबित्दै प्रणालीमा समस्या आएपछि दुई घन्टा कारोबार स्थगित भएको छ । यही कारण आइतबार साबिक समयभन्दा ढिलोसम्म बजार खोलियो । 

बिहीबारसमेत यस्तै समस्या आएको थियो । ब्रोकरहरूमार्फत ग्राहकले आदेश दिन सक्ने कारोबार व्यवस्थापन प्रणालीमा समस्या आउँदा कारोबार सम्पन्न हुन नसक्ने, केहीले आफूसँग भएको भन्दा बढी सेयर बिक्री आदेश दिन सकिने समस्या देखिँदै आएको छ । नेप्सेले समस्याको वास्तविक कारण अझै पत्ता लगाउन सकेको छैन । 

‘हामीले प्रविधिविज्ञ नै बोलाएर छलफल गर्दै थियौँ, आइतबार त्यही समयमा फेरि पनि समस्या देखियो,’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, ‘अहिले यही प्रणालीमा डिम्याट इन्टिग्रेसन प्रणालीबाटै भुक्तानी गर्न सकिने र ग्राहक पहिचान राख्ने अतिरिक्त कामहरू गरिएकाले पनि भार बढेको हो कि भन्ने अनुमान छ ।’ 

सोमबारसम्ममा वास्तविक कारण पत्ता लाग्ने साउदको दाबी छ । कतिपय लगानीकर्ताले भने सामाजिक सञ्जालमा केही दिन कारोबार स्थगित गरेरै भए पनि समस्या समाधान गर्नु सही हुने विचार राखेका छन् । नेप्सेले कारोबारमा केही समय समस्या आउने गरे पनि लगानीकर्ताले पूरा समय कारोबार गर्न सक्ने व्यवस्था मिलाएको उल्लेख गरेको छ । 

 ३ अर्ब ३७ करोडको कारोबार, लघुवित्तमा खेल सुरु 
बजारमा प्रणालीगत समस्या देखिए पनि सेयर बजारमा लगानी भने बढेको छ । आइतबार एकै दिन ३ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 
प्रणालीको समस्या तत्काललाई समाधान भएर बजार खुलेलगत्तै घटेको बजार कारोबार अन्तिम समयसम्ममा बाउन्स ब्याक गर्न सफल भएको छ । गत बिहीबारको अन्तिम बिन्दुभन्दा दुई अंकसम्म ओर्लिएको बजार करिब साढे १६ अंकले बढेको छ । लघुवित्तमा भने प्रिमियम रकम जम्मा गर्ने र बोनसको आसमा सेयर बढाउने खेल सुरु भइसकेको छ । 

हालै मर्जर भएको उन्नति लघुवित्तको १ बराबर सहकार्यको शून्य दशमलव ७५ हुने गरी मर्जर भएकाले शून्य दशमलव २५ बराबरको रकम (१ करोड १३ लाख रुपैयाँ) वितरणका लागि कम्पनीलाई उपलब्ध छ । 

त्यस्तै, आइतबार वमी माइक्रो फाइनान्स र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था मर्जरमा जान लागेकाले कारोबार रोक्का गरिएको छ । वमीले सेयर बजारमा सूचीकृत भए पनि ग्रामीण स्वयंसेवकले हालसम्म सर्वसाधारणलाई सेयर जारी गरेको छैन ।

यही कारण मर्जरपछि बन्ने कम्पनीलाई थप नयाँ सेयर (एफपिओ) जारी गर्न बाटो खुला हुनेछ । यसले प्रिमियम रकम बोनस बाँड्न कम्पनीलाई समस्या हुनेछैन । त्यस्तै, ग्रामीण स्वयंसेवकको स्वाप रेसियो १ भन्दा कम भएमा समेत प्रिमियम रकमका रूपमा थप रकम उपलब्ध हुनेछ । लघुवित्त कम्पनीहरूको पछिल्लो समय यिनै कारणले मूल्यमा उच्च वृद्धि भइरहेको छ । 

आइतबार भने कारोबारमा आएकामध्ये ३ समूहको परिसूचक मात्र घटेको छ । व्यापारमूलक, वित्त र सामूहिक लगानी कोषको समूहगत परिसूचक घटेको हो । यस दिन १ सय ९१ कम्पनीको ७२ लाख कित्ता सेयर किनबेच भएको छ । बजारमा भइरहेको वृद्धिसँगै १ वर्षमा लगानीकर्ताको सम्पत्तिमा ४ खर्बले वृद्धि भएर २० खर्ब ४३ अर्ब भएको छ ।   

त्यस्तै, सनराइज फस्र्ट म्युचुअल फन्डले ७ प्रतिशतका दरले नगद लाभांश दिन लागेको नेप्सेलाई जानकारी गराएको छ । समस्यामुक्त घोषणा भएको नारायणी डेभलपमेन्ट बैंकले १६ असोजमा १८औँ वार्षिक साधारणसभा गर्न लागेको छ । बैंकले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत सभामा लैजाँदै छ ।