मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २९ सोमबार ०५:१५:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजधानीमै अनलाइन कक्षाबाट वञ्चित छन् बालबालिका

‘माथिल्लो कक्षामा औसत ५० प्रतिशत सहभागिता छ, तल्लो कक्षाका बालबालिकासँगै अभिभावक पनि बस्नुपर्ने र सबै प्रविधिको पहुँचमा नरहेकाले प्रभावकारिता देखिएको छैन।’

Read Time : > 5 मिनेट
२०७७ भदौ २९ सोमबार ०५:१५:००

कक्षा-१० की छात्रा अनिशा लामा पढ्ने ललितपुर पाटनस्थित श्रीचण्डी माविले अनलाइन कक्षा सञ्चालन गरेको पाँच महिना बित्यो। तर, घरमा मोबाइल र इन्टरनेट नहुँदा उनले पढ्न पाएकी छैनन्। शिक्षकले अनलाइनमा पढ्न आउन कर गरेपछि उनी केही दिन इन्टरनेट र मोबाइल भएका साथीहरूको घरसम्म पुगिन्। तर, लकडाउन र निषेधाज्ञाबीच साथीको घरमा पुग्न सम्भव भएन।

थापाथलीस्थित बागमतीकिनारको सुकुमबासी बस्तीमा बस्छिन्, उनी। छोरीले पढ्न नपाएको सुनाइरहँदा उनकी आमा कुमारी लामाको अनुहार मलिन थियो। अनिशासहित उनका तीन छोरी छन्। प्रश्न गर्छिन्, ‘खाने अन्न त छैन, छोरीहरूलाई कसरी मोबाइल किनेर पढाउनु ?’

अनिशाका बाबु सुरक्षा गार्डको काम गर्छन्। आमा कुमारी बानेश्वरमा साग बेच्थिन्। तर, कोरोना संकटसँगै आमाको काम रोकियो। मन भएर पनि छोरीलाई पढाउन नसकेकोमा खिन्न छिन्, कुमारी। भन्छिन्, ‘छोरीहरूले हाम्रोजस्तो दुःख नपाऊन् भनेर पढाउन थालेको। तर, अनलाइन पढाउने भनेर गरिबका छोराछोरी त पढ्नै नसक्ने बनाए।’

उनकी कान्छी छोरी अनिता दुई कक्षामा पढ्छिन्। उनलाई परिवारको कमजोर आर्थिक अवस्थाबारे जानकारी छैन। उनी बारम्बार आमाबुबालाई अनलाइन पढ्न मोबाइल चाहियो भनिरहन्छिन्। आमाको काखमा लडिबुडी गर्दै उनले भनिन्, ‘मोबाइल, वाइफाई छैन कसरी पढ्छेस् भन्नुहुन्छ बाबाले। आमाले भोलि मोबाइल किन्दिने है !’

सानी छोरीलाई काखमा च्याप्दै कुमारीले थपिन्, ‘उधारोमा चामल ल्याएर खाएको महिना दिन भयो, कसरी छोराछोरी पढाउनु ?’ एककोठे साँघुरो छाप्रोको एउटा कुनामा ग्यास सिलिन्डर र चुलो छ। बाँसको चोयाको सानो र्‍याकमाथि एउटा ब्ल्याक एन्ड ह्वाइट टेलिभिजन सेट छ। बाँकी दुई कुनामा ओछ्यान छन्, जहाँ उनको सबै परिवार अटाएको छ।

साँझ-बिहान छाक टार्ने चिन्ता त सधैँको हो, अहिले छोरीहरूको भविष्यको चिन्तामा छिन्, कुमारी। ‘चिन्ता मानेर मात्र केही नहुने रैछ, सबै चिजका लागि पैसा चाहिँदो रहेछ,’ उनी भन्छिन्। अनिशाको चिन्ता अझ गहिरो छ। भन्छिन्, ‘यतिका पढाइ छुटिसक्यो। अब परीक्षा भयो भने कसरी के गर्ने होला भनेर डर लाग्छ।’

यस्तै, गुह्येश्वरी स्कुलमा कक्षा-७ मा पढ्ने पूर्णिमा तामाङ अनलाइन कक्षामा सहभागी हुन सकिनन्। शिक्षकले उनका बाबुआमालाई फोन गरेरै अनलाइन कक्षामा सहभागी गराउन भनेका छन्। बागमतीकिनारमा साथीहरूसँग चंगा उडाइरहेकी पूर्णिमा अनलाइन कक्षामा सहभागी हुन नसकेको बाध्यता सुनाउँछिन्, ‘टिचरले अनलाइन क्लासमा आउ भन्छन्। घरमा मोबाइल त छैन।’ पूर्णिमाका बाबु निर्माण मजदुर हुन्, जोसँग भिडियो कल गर्न नसकिने मोबाइल छ। आमा अरूको घरमा काम गर्थिन्।

पूर्णिमाका सबै साथी अनलाइन कक्षामा सहभागी हुन्छन्। आफू सहभागी हुन नसकेकोमा उनलाई लाज लागेको छ। त्यसैले त अब उनी स्कुल नै फेर्ने मुडमा छिन्। भन्छिन्, ‘अनलाइन क्लास पढ्न नआएको भनेर साथीहरू गिज्याउँछन्। अब त म त्यो स्कुल पढ्दिनँ।’

सहरमा इन्टरनेट र मोबाइल सुविधा नहुँदा पढ्न नपाएका बालबालिका मात्र छैनन्। पढाइ छाडेर परिवारको अर्थोपार्जनमा सघाइरहेका बालबालिका पनि प्रशस्त भेटिन्छन्। कुहिनै लागेका ६ दर्जनजति केरा बोरामाथि राखेर काठमाडौं डल्लुस्थित चौतारामा बेच्न बसेका थिए, १० वर्षे आशिष अधिकारी।

लिटिल बुद्ध एकेडेमीमा कक्षा-४ मा पढ्ने उनी पछिल्ला दिनमा आमाबुबालाई सघाउन थालेका छन्। उनको स्कुलले अनलाइन कक्षा सञ्चालन गरे पनि उनी सहभागी हुन पाएका छैनन्। ‘भिडियो कलवाला मोबाइल त छैन,’ आशिष छोटो जवाफ फर्काउँछन्। आशिषका बुबा भ्यान चलाउँछन् भने आमाको रोजगारी छैन।

यस्तै, त्रिपुरेश्वरस्थित विश्वनिकेतन स्कुलमा ६ कक्षामा पढ्ने साइमन श्रेष्ठको घरमा मोबाइल र इन्टरनेट छैन। चैतयता उनी एकदिन मात्र अनलाइन कक्षामा उपस्थित भए, त्यो पनि छिमेकीको इन्टरनेट र मोबाइल प्रयोग गरेर।साइमनकी आमा दीपिका श्रेष्ठसँग त मोबाइल पनि छैन।

उनका श्रीमान्सँग क्यामेरा नभएको मोबाइल छ। दीपिका छोरालाई पढाउन नसक्नुको पीडा व्यक्त गर्छिन्, ‘मोबाइल, इन्टरनेट केही छैन। किनौँ भने पैसा छैन, कसरी पढाउनु ?’ उनी नाङ्लोपसल गर्थिन्। श्रीमान् निर्माण मजदुर थिए। ‘हाम्रो कमाइले खान त पुग्दैन, कसरी मोबाइल, इन्टरनेट किनेर पढाउनु त ?’

दूर शिक्षाको पहुँचबाहिर बालबालिका
युनिसेफले गत मे अन्तिममा गरेको अध्ययनअनुसार विद्यालय जानेमध्ये दुईतिहाइ बालबालिका दूर शिक्षाको अवसरबाट वञ्चित देखिएका छन्। हरेक १० मध्ये तीनजना बालबालिका मात्रै रेडियो, टेलिभिजन र इन्टरनेटमा आधारित सिकाइ क्रियाकलापको पहुँचमा देखिएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ। अध्ययनमा समेटिएकामध्ये ८० प्रतिशत बालबालिका मात्र दूर शिक्षाको पहुँचमा देखिएका छन्।

शिक्षा मन्त्रालयका अधिकारीहरू भने युनिसेफको प्रतिवेदनसँग सहमत छैनन्। युनिसेफले अध्ययन गरेको समयभन्दा अहिलेको अवस्था फरक रहेको मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन्। ‘अहिले दुईतिहाइ बालबालिका दूर शिक्षाबाट वञ्चित रहेकोजस्तो मलाई लाग्दैन। हामीले सामग्री उत्पादन गरेर सकेसम्म सबैमा पुग्नेगरी वितरण गरेका छौँ,’ प्रवक्ता शर्मा भन्छन्, ‘तर, घर-घर पुगेर अध्ययन भएको छैन। पहिले दूर शिक्षा ऐच्छिकजस्तो थियो, अहिले दूर र खुला शिक्षाले औपचारिक मान्यता पाएको छ र नियमित विद्यालय जाने अवस्था नहुन्जेल अनिवार्य भएको छ।’ सोहीकारण विद्यार्थीको सहभागिता बढेको उनको भनाइ छ।

कोभिड-१९ संकट लामो समय रहने भएपछि मन्त्रालयले रेडियो, टेलिभिजन, अनलाइन र होम स्कुलिङमार्फत सिकाइ गतिविधिलाई अभियानकै रूपमा सञ्चालन गरिएको बताएको छ। १८ जेठमा मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, ०७७’ ले पनि वैकल्पिक विधिको पढाइलाई शैक्षिकसत्रसँग जोड्दै मूल कार्यक्रम बनाएको छ।

सोही निर्देशिकालाई आधार बनाएर १ असारदेखि वैकल्पिक शैक्षिक कार्यक्रम सञ्चालनमा आएको हो। उक्त निर्देशिकाले १९ भदौमा स्वीकृति पाएको छ। निर्देशिकाका प्रावधानमा टेकेर १ असोजदेखि विद्यार्थीको सिकाइ सहजीकरण गराउन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका सरोकारवाला निकायलाई आग्रह गरेको छ। प्रविधिको पहुँचमा भएका र नभएका सबैलाई समेट्ने उद्देश्य निर्देशिकाको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो अध्ययनअनुसार बालविकासदेखि कक्षा-१२ सम्म ८१ लाख २७ हजार एक सय ८३ विद्यार्थी छन्। प्रारम्भिक बालविकासमा ११ लाख ५५ हजार ६१, आधारभूत तह (कक्षा १-८)मा ५३ लाख १९ हजार चार र माध्यमिक तह (कक्षा ९-१२)मा १७ लाख २६ हजार १८ विद्यार्थी छन्। तीमध्ये सामुदायिक विद्यालयमा अध्ययनरत संख्या करिब ५६ लाख छ।

गरिबीको स्तरअनुसार दूर शिक्षामा पहुँच हुने विज्ञको भनाइ छ। जस्तो- अति गरिब परिवारका पाँच प्रतिशत बालबालिकाले मात्रै दूर शिक्षामा पहुँच प्राप्त गर्ने उनीहरू बताउँछन्। युनिसेफको अध्ययन प्रतिवेदनअनुसार प्रविधि र साधन प्राप्त गर्दा पनि गरिब परिवारका बालबालिका घरायसी काम गर्नैपर्ने दबाबमा रहन्छन्। र, उनीहरूका लागि त्यस्ता माध्यमबाट उपलब्ध हुने पाठ्यसामग्रीको प्रयोगमा मद्दत गर्ने व्यक्तिको अभाव छ। सोहीकारण गरिब परिवारका बालबालिका दूर शिक्षामार्फत प्रभावकारी सिकाइ उपलब्धि हासिल गर्न असमर्थ हुन सक्ने युनिसेफले औँल्याएको छ।

सामुदायिक तथा निजी विद्यालयले सञ्चालन गरेका अनलाइन कक्षामा माथिल्लो तहमा सहभागिता बढ्दो छ। तर, तल्ला तहमा अनलाइन कक्षा प्रभावकारी देखिएको छैन। त्यसैले हो, सरकारले पनि अनलाइनबाहेकका शिक्षण सिकाइ क्रियाकलापमा जोड दिएको पनि। शिक्षा मन्त्रालयले रेडियो, टेलिभिजनमार्फत पठनपाठन सञ्चालन गरिरहेको छ।

त्यसबाहेक सामुदायिक विद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गरेका छन्। ‘माथिल्लो कक्षामा अनलाइन कक्षामा सहभागी संख्या बढिरहेको छ, तर तलका कक्षामा यसमार्फत सफलता पाउन कठिन भएको छ,’ काठमाडौं पुरानो नैकापस्थित कंकाली माविका प्रधानाध्यापक विष्णु पनेरु भन्छन्। राष्ट्रिय प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा पनि निजी शैक्षिक संस्थाले सञ्चालन गरेका अनलाइन पठनपाठनमा उत्साहजनक सहभागिता नरहेको बताउँछन्। भन्छन्, ‘माथिल्लो कक्षामा औसत ५० प्रतिशत सहभागिता छ, तल्लो कक्षाका बालबालिकासँगै अभिभावक पनि बस्नुपर्ने र सबै प्रविधिको पहुँचमा नरहेकाले प्रभावकारिता देखिएको छैन।’ अनिवार्य भएको सम्झाउँदै अनलाइन कक्षालाई बाध्यात्मक ढंगबाट सञ्चालन गर्नुपर्ने उनको सुझाब छ।

घरमै सिकाउने अभ्यास
प्रविधिको पहुँच नभएका तल्लो कक्षाका बालबालिकालाई सामुदायिक विद्यालयहरूले घरमै पुगेर सिकाइ क्रियाकलापलाई निरन्तरता दिएका छन्। शिक्षकहरूले घरमै पुगेर पढाउने र गृहकार्य दिने गरेका छन्। कतिपय ठाउँमा अभिभावकलाई विद्यालयमै बोलाएर सिकाउने र गृहकार्य दिएर पठाउने अभ्यास पनि छ।

सानो कक्षाका बालबालिकाको भर्चुअल कक्षामा सहभागिता कठिन रहेकाले घरमै सिकाउने विधि प्रभावकारी हुने सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भनाइ छ। रेडियो, टेलिभिजनबाट हुने पठनपाठनभन्दा होम स्कुलिङ प्रभावकारी देखिएको धादिङको सत्यवती माविका प्रधानाध्यापक लक्ष्मण शर्मा बताउँछन्। ‘यो सबैभन्दा राम्रो अभ्यास रहेछ,’ उनी भन्छन्, ‘अभिभावकलाई सिकाएर उहाँहरूमार्फत कक्षा-३ सम्मका बालबालिकालाई सिकाउने अभ्यास गर्दै आएका छौँ।’ उक्त विद्यालयले कक्षा-८ सम्मका विद्यार्थीलाई घरमै पुगेर सहजीकरण गरेको छ भने कक्षा-९ देखि १२ सम्मका छात्रछात्रालाई पालैपालो विद्यालयमै सिकाइ निरन्तरता दिएको छ।

चितवनको नारायणी माविले पनि कक्षा-३ सम्मका विद्यार्थीका अभिभावक बोलाएर गृहकार्य दिँदै आएको छ भने कक्षा-४ देखि १२ सम्म अनलाइन कक्षा सञ्चालन गरेको छ। पूर्वी नवलपरासी कावासोतीस्थित शिव माविले घरदैलो कार्यक्रम नै चलाएको छ। प्रअ लीलाधर भुसालका अनुसार सातामा एक दिन शिक्षकहरू घरदैलोमा पुग्छन्। पर्वतको भवानी विद्यापीठका शिक्षक पनि तल्लो तहका विद्यार्थीलाई गृहकार्य दिन घर-घरमा पुग्छन्। प्रअ माधव रेग्मीका अनुसार कक्षा ८ देखि १२ का विद्यार्थीमाझ प्रविधिको प्रयोग गर्दै शिक्षण गतिविधि सञ्चालन भइरहेको छ। गोरखामा २१ वटा विद्यालयको क्लस्टर बनाएर एकरूपता कायम गर्दै शैक्षिक गतिविधि सञ्चालन गरिएको महेन्द्र माविका प्रअ गोपालबाबु मरहठ्ठाले जानकारी दिए।

‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका’ले भर्चुअलदेखि घर र टोलमा पुगेर सञ्चालन भएका शैक्षिक गतिविधिलाई पनि मान्यता दिएको छ।

कतिपय विद्यालयले विद्यार्थीसँग सम्पर्क गर्दै शैक्षिक गतिविधि सञ्चालन गर्ने जिम्मेवारी शिक्षकलाई दिएका छन्। कतिपयले शिक्षक र विद्यार्थीलाई रिचार्ज कार्डसमेत वितरण गर्दै आएका छन्। केही विद्यालयले विद्यार्थीको अवस्था पहिचान र उनीहरूसँग सम्पर्कमा रहिरहन व्यवस्थापन समितिको निर्णयबाटै शिक्षकलाई नगद उपलब्ध गराइरहेका छन्।