मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ भदौ २८ आइतबार १२:१९:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सलाहको ह्याट्रिकमा लिभरपुलको विजयी सुरुवात 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ भदौ २८ आइतबार १२:१९:००

साबिक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। शनिबार राति भएको नयाँ सिजनको पहिलो खेलमा लिभरपुलले लामो समयपछि प्रिमियर लिगमा फर्किएको लिड्स युनाइटेडलाई ४–३ गोलअन्तरले पराजित गर्‍यो । 

आफ्नै मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित हात पार्न सहज भने भएन । टोलीका मुख्य खेलाडी मोहम्मद सलाहले दुई पेनाल्टी अवसर सदुपयोग गर्दै ह्याट्रिक गोल गरेपछि मात्रै लिभरपुलले पहिलो खेलबाट महत्वपूर्ण तीन अंक जोडेको हो । 

लिड्सले साबिक विजेता लिभरपुलविरुद्ध सशक्त प्रदर्शन गर्‍यो । लिभरपुलले गरेको तेस्रो गोलसम्म लिड्सले निरन्तर बराबरी गोल फर्काएको थियो ।

खेलको अन्तिमसम्म पनि खेल ३–३ को बराबरीमा रहेको अवस्थामा ८८औँ मिनेटमा सलाहले पेनाल्टी अवसर सदुपयोग गर्दै टोलीको जित निश्चित गरेका थिए । लिड्सका रोड्रिगोले लिभरपुलका फाबिन्होलाई डी–बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टी अवसरलाई सलाहले सदुपयोग गरेका थिए ।

त्यसअघि खेल सुरु भएको चौथो मिनेटमा पेनाल्टी अवसरमै गोल गर्दै उनै इजिप्सियन खेलाडी सलाहले लिभरपुललाई १–० ले अगाडि बढाएका थिए । उनले लगातार चौथो वर्ष इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा गोल गर्न सफल भएका हुन् । 

ज्याक ह्यारिसनले खेलको १२औँ मिनेटमै लिड्सलाई १–१ को बराबरीमा फर्काएका थिए । खेलको २०औँ मिनेटमा रक्षक भिर्जिल भान डाइकले हेडिङ गोलमार्फत लिभरपुललाई २–१ ले अगाडि बढाए ।  त्यसको १० मिनेटपछि उनै भान डाइकको गल्तीमा लिभरपुलले बराबरी गोल व्यहोरेको थियो । यसपटक लिड्सका लागि प्याट्रिक बाम्फोर्डले गोल गरे । 

खेलको ३३औँ मिनेटमा सलाहले डी–बक्सभित्रबाट सशक्त प्रहार गर्दै लिभरपुललाई ३–२ को अग्रता दिलाए । फ्री किकमार्फत आएको बललाई लिड्सका खेलाडीले फर्काएको अवस्थामा सलाहले नियन्त्रणमा लिएर गोल गरेका थिए । 

लिड्सले फेरि पनि बराबरी गोल गर्‍यो । खेलको ५८औँ मिनेटमा मातियुस क्लिकले गोल गर्दै लिड्सलाई ३–३ को बराबरीमा पुर्‍याएका थिए । त्यसपछि खेलको दोस्रो पेनाल्टी अवसर सदुपयोग गर्दै सलाहले टोलीको जित निश्चित गरेका थिए । 

जितका बाबजुद लिभरपुल अंक–तालिकाको तेस्रो स्थानमा छ । शनिबार नै भएको खेलमा फुलहामलाई ३–० ले पराजित गरेको आर्सनल अंक–तालिकाको शीर्ष स्थानमा छ ।