मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २८ आइतबार ११:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जलेश्वर नगरपालिकामा भ्रष्टाचार भएको भन्दै प्रजिअलाई बुझाइयो ज्ञापनपत्र, मेयर भन्छन्– केही भ्रष्टाचार भएकाे छैन

Read Time : > 1 मिनेट
२०७७ भदौ २८ आइतबार ११:४७:००

महोत्तरीको सदरमुकाम रहेको जलेश्वर नगरपालिकामा भ्रष्टाचार र अनियमितता भएकाे भन्दै नगरवासीहरूको एक समूहले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएकाे छ । 

संघीय सरकार, प्रदेश सरकार र अन्य दातृ निकायको अनुदान तथा स्थानीय जनताले तिरेको करको नगरपालिकाले व्यापक दुरुपयोग गरेकाे भन्दै विभिन्न हिसाब पारदर्शी गर्न जिल्ला प्रशासन कार्यालयमार्फत नगरवासीले माग गरेका छन् । 

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको १७बुँदे मागमा कोरोनाको नाममा आएको सहयोग र गरिएको खर्च, गत वर्षम बाढीको नाममा भएको राहत वितरणको आयव्यय, हालसम्मको नीति तथा कार्यक्रम र आयव्ययको विवरण, विभिन्न वडाका योजनाहरू, कृषि सिँचाइ संरचनाको नाममा खर्चिएको रकमको विवरण माग गरिएको छ । 

त्यसैगरी सडक मर्मत तथा पिसिसी ढलानहरूको लागत, भ्रमण खर्च र उपलब्धि, पशुसेवा–बालमैत्री कार्यक्रम– मिथिला सांस्कृतिक प्रवर्द्धन, खुला दिसामुक्त कार्यक्रममा गरिएको कार्य र आयव्यय सार्वजनिक गर्न माग गरिएको छ । 

ज्ञापनपत्रमा नगर प्रहरीको भर्ना प्रक्रिया–कर्मचारी नियुक्तिको प्रक्रिया सार्वजनिक गर्न पनि माग गरिएको छ । साथै भ्यु टावरको नाममा निकासा गरिएको रकम, लक्षित वर्गको नाममा गरिएको कार्यक्रम सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ । 

नगरवासीले मेयर रामाशंकर मिश्रमाथि कमसल विद्युतीय टावर जडानमा व्यापक अनियमितताको आरोप लगाएका छन् । 

तीन वर्ष बितिसक्दा पनि नगरपालिकाले एउटा पनि रेडबुक ननिकाली अनियमितता र मनोमानीलाई मलजल दिइरहेको आरोप नगरवासीहरूले लगाएका छन् । ज्ञापनपत्र बुझाएकाहरूमध्येका स्थानीय मोहन भगतले एक महिनाभित्र आफूहरूले मागेको सूचना उपलब्ध नगराइए चरणबद्ध आन्दोलनमा जाने बताए । 

नगरपालिका सबै तथ्यांक दिन तयार छ ः मेयर
जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले जलेश्वर नगरपालिकासँग माग्नुपर्ने तथ्यांक र जानकारी जिल्ला प्रशासन कार्यालयबाट मागिएकोमा आपत्ति जनाएका छन् । 

मिश्रले नगरवासीको तर्फबाट दिइएको ज्ञापनपत्रको प्रक्रिया नै गलत भएको बताए । 

उनले चाहिने तथ्यांक दिन जलेश्वर नगरपालिका सदैव तयार रहेको र हरेक नागरिकले सूचनाको हक प्रयोग गर्दै सूचना लिन सक्ने उल्लेख गरे । । 

मिश्रले केही व्यक्तिले गरेको भ्रष्टाचार जलेश्वर नगरपालिकाले सार्वजनिक गर्न लागेकोले तिनै व्यक्तिले आफ्नो भ्रष्टाचार लुकाउन आफू तथा नगरपालिकामाथि भ्रष्टाचारको आरोप थुपार्ने प्रयास गरेको बताए ।

जलेश्वरमै रहेको धेरै पुरानो महोत्तरी क्लब तथा पुस्तकालयको हरहिसाब र त्यहाँ भएको अनियमितता आफूहरूले सोधखोज गर्न थालेपछि आत्तिएर तिनै व्यक्तिहरूले झुटाे आरोप लगाएकाे उनले बताए । 

भ्रष्टाचार गरेकाहरू कुनै हालतमा उम्कन नपाउने मेयर मिश्रले दाबी गरे ।