Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नारायण शिवाकोटी/श्रवण उप्रेती
२०७७ भदौ २८ आइतबार १०:०८:००
Read Time : > 9 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विकिलिक्स अर्थात् संरचनाविहीन संरचना

Read Time : > 9 मिनेट
नारायण शिवाकोटी/श्रवण उप्रेती
२०७७ भदौ २८ आइतबार १०:०८:००

मिडिया बहस

विकिलिक्सले पत्रकारिताका सारा प्रचलित मूल्य र शैली विनिर्माण गरेकाले यो उत्तरआधुनिक पत्रकारिता हो, यससँग कुनै निश्चित कार्यालय, डेस्क, कर्मचारी र उपकरण छैनन्  

गत सोमबार जुलियन असान्ज, उनको अमेरिका सुर्पुदगीसम्बन्धी मुद्दामा सुनुवाइका लागि लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टसामु उपस्थित गरिए । अदालतसमक्ष उनले पुनः एकपटक आफू सुपुर्दगी हुन तयार नभएको उत्तर दिएका छन् । उनी अमेरिकालाई सुम्पिए भने आपराधिक ह्याकिङ एवं जासुसी कानुन (एस्पोनेज एक्ट)अन्तर्गत गोप्य सैन्य दस्तावेजहरूको चोरी तथा प्रकाशनको अभियोगमा उनलाई एक सय ७५ वर्षको कारावास हुन सक्छ ।

असान्ज र विकिलिक्सको पहिलो ठूलो खुलासा केन्यासँग जोडिएको थियो । असान्जले विकिलिक्स स्थापना भएको अर्को वर्ष नै अन्तर्राष्ट्रिय कन्स्ट्यान्स क्रोलले तयार पारेको केन्यासम्बन्धी एक रिपोर्ट हात पारे । रिपोर्टले केन्याका दोस्रा राष्ट्रपति डेनियल अराप मोई र उनको परिवारले देशबाट अर्बौं डलर विदेश लगेको खुलासा गर्‍यो । मोईपछिका राष्ट्रपति म्वाई किबाकीले यसबारे अध्ययन गराएको भए मोईसँग उनको बढ्दो सामीप्यताका कारण रिपोर्ट दबाइँदै थियो । तर, विकिलिक्समा यो रिपोर्ट आएपछि किबाकीलाई समेत राजनीतिक धक्का लाग्यो । सोही वर्ष भएको केन्याली राष्ट्रपतीय निर्वाचनमा किबाकीको समर्थन उल्लेख्य घट्न पुग्यो । 

सन् २०१० मा विकिलिक्सका लागि सबैभन्दा महत्वपूर्ण वर्ष रह्यो । सो वर्ष जुलाईमा विकिलिक्सले अफगान वार डायरी नाममा अफगानिस्तान युद्धसँग सम्बन्धित ९२ हजार डकुमेन्ट सार्वजनिक गर्‍यो । केही महिनापछि अक्टोबरमा इराक वार लग्स नाममा इराक युद्धसँग जोडिएका झन्डै चार लाख कागजात पनि विकिलिक्समा प्रकाशित भयो । यी दस्तावेजमा अफगानिस्तान र इराकमा भएका अधिकांश आक्रमणमा र तिनका हताहतीको अवस्था विस्तारमा लेखिएका थिए । यी सामग्री युद्धमा खटिएका अमेरिकी सैनिकले तयार पारेको र अर्काइभका रूपमा अमेरिकी रक्षा मन्त्रालयमा राखिएका थिए । यी कागजातले अफगानिस्तान र इराक युद्धमा विगतमा चर्चामा नआएको यातनाका घटनाहरू बाहिर ल्याए । 

असान्ज बेलायतको उच्च सुरक्षायुक्त बेलमार्स जेलमा रहेर सुपुर्दगीसम्बन्धी सुनुवाइ चलिरहँदा सबैभन्दा ठूलो हार पत्रकारिता जगत्को हुँदै छ । न्यायालयले असान्जको मुद्दामा यो प्रश्नलाई दरकिनार गरेको छ । फैसला जेसुकै आओस्, उनी सुपुर्दगी हुन् वा बेलायतमै मुद्दाको किनारा लागोस्, असान्ज प्रकरणले राज्यलाई थप अनुदार र अपारदर्शी हुन बल मिल्नेछ ।
 

विकिलिक्सले सन् २०१० नोभेम्बरमै युएस डिप्लोमेटिक केबल नाममा २,५१,२८७ कागजात जारी गर्‍यो । यसमा सन् १९६८ देखि सन् २०१० बीचको अवधिमा अमेरिकाको विश्वभर छारिएका अमेरिकी कूटनीतिक नियोगले अमेरिकाको विदेश मन्त्रालय पठाएका कागजातहरूको अर्काइभ थियो । यस खुलासापछि अमेरिकी कूटनीतिज्ञले आफू रहेको देशका राष्ट्रिय नेताहरूबारे आपत्तिजनक टिप्पणी गर्ने गरेको खुलासा भयो । यसले अमेरिकाले कूटनीतिक क्षेत्रमा लाजमर्दो अवस्था सामना गर्नुपरेको थियो ।

विकिलिक्सले सार्वजनिक गरेको सबैभन्दा चर्चितमध्येको एक सामग्रीमा सन् २००७ मा बग्दादमा अमेरिकी सेनाले रोयटर्सका दुई पत्रकारसहित झन्डै डेड दर्जन आमसर्वसाधारणको कत्लेआम गरेको भिडियो पर्छ । विकिलिक्सले ‘कोलार्टल मर्डर’ नाम दिएको सो भिडियोमा दिनदहाडै बग्दादको मध्यसहरको एक सकडमा हिँडिरहेका सर्वसाधारणमाथि अपाचे हेलिकोप्टरबाट गोली हानिएको देखिन्छ । रोयटर्सले सूचनाको हक अधिकार प्रयोग गरेर माग गर्दा पनि अमेरिकी सेनाले बाहिर नल्याएको भिडियो सन् २०१० अप्रिल ५ मा विकिलिक्सले बाहिर ल्यायो । भिडियो बाहिरिएपछि धेरैले अमेरिकी सेनाको आलोचना गरे । 

इराक वार लग्स, अफगान वार डायरी र डिप्लोमेटिक केबलमा रहेका सबै सामग्री एउटै व्यक्ति अमेरिकी सेनामा कार्यरत ब्राड्ले मानिङ (लिंग परिवर्तन गरेपछि उनले आफूलाई चेल्सी म्यानिङ भनेर चिनाउँछिन्) ले दिएकी थिइन् । म्यानिङ यी ‘कोलार्टल भिडियो’ प्रकाशित भएपछि अन्य सामग्री प्रकाशित हुनुअघि नै पक्राउ परिन् । म्यानिङले आफूले कुराकानी गर्ने व्यक्ति एड्रियन ल्यामोलाई विश्वास गरेर अप्रिलमा आएको ‘कोलार्टल मर्डर’को स्रोत आफू भएको बताएका थिए । एड्रियनले सो खबर अमेरिकी सेनालाई दिए र म्यानिङ मेमा पक्राउ परिन् । म्यानिङ पक्राउ परे पनि अन्य सामग्री छापियो । (३५ वर्षे जेल सजाय भएपछि सात वर्षमै ओबामाद्वारा आममाफी पाएर रिहा भएकी म्यानिङ पुन विकिलिक्समा सार्वजनिक भएको दस्तावेजको छानबिनका लागि सन् २०१९ मा पक्राउ परिन् । हाल उनी जेलमा छिन् ।) यी तीनै प्रकारका दस्तावेज प्रकाशित गर्नुअघि विकिलिक्सले न्युयोर्क टाइम्स (अमेरिका), गार्डियन (बेलायत) र डेर स्पिइगेल (जर्मनी) जस्ता प्रभावशाली अन्तर्राष्ट्रिय मिडियासँग सहकार्य गरेको थियो ।

त्यसैगरी, विकिलिक्समा छापिएको एक रिपोर्टले ट्युनिसियामा क्रान्ति ल्यायो, जुन पछि अरब क्रान्तिका रूपमा विस्तार भयो । केन्याको निर्वाचन प्रभावित भयो । आइसल्यान्डमा सरकार परिवर्तन भयो । तर, अमेरिकाको गत राष्ट्रपतीय चुनावको संगीन घडीमा उनले डेमोक्र्याटिक नेतृत्वले लेखेका दशौँ हजार इमेल ह्याक गरेर प्रकाशित गरिदिएका कुराको भने निकै विरोध भएको छ । यी सूचना रुसी ह्याकरले विकिलिक्सलाई दिएको र ती ह्याकर क्रेमलिननजिक रहेको अध्ययनले संकेत गरेका छन् । त्यस खुलासाले हिलारी क्लिन्टन बदनाम हुँदा डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सघाउ पुर्‍यायो । चुनाव जितेपछि ट्रम्पले विजयी भावमा भनेका थिए, ‘आइ लभ विकिलिक्स ।’ ट्रम्पको यो उद्गारले असान्जविरुद्धको कारबाही कम हुने आस गरिएको थियो । 

असान्जले आफूलाई अमेरिका सुपुर्दगी गरिए निष्पक्ष सुनुवाइ नहुने तर्क गर्दै आएका छन् । उनले अघिल्ला अदालती सुनुवाइमा आफ्नो मुद्दालाई बेलायतमै न्याय निरूपण गर्न र आफूलाई पत्रकारका रूपमा व्यवहार गर्न आग्रह गरेका थिए । तर, अदालतले उनलाई पत्रकारका रूपमा व्यवहार गर्न अस्वीकार गरेको छ । असान्जजस्तै विश्वभरका थुप्रै बुद्धिजीवी पत्रकार, पत्रकारका संगठन अदालतको बुझाइमा सहमत छैनन् । उनीहरू बेलायतले कानुनका आधारमा भन्दा पनि अमेरिकाको दबाबमा असान्जमाथि कारबाही भइरहेको भन्दै छन् । तर, अदालतमा चलेको सुनुवाइ हेर्दा असान्जको अमेरिका सुपुर्दगी हुने देखिन्छ । त्यसो भएमा असान्जको न्याय तथा पत्रकारिताको विषय आदि बारेमा पुनः बहस हुनेछ । असान्ज अहिले बेलायतको सबैभन्दा उच्च सुरक्षायुक्त बेलमार्समा रहँदा र उनी अमेरिका सुपुर्दगीको अन्तिम चरणमा रहँदा सबैभन्दा ठूलो हार पत्रकारिता जगत्को हुँदै छ । न्यायालयले असान्जको मुद्दामा यो प्रश्नलाई दरकिनार गरेको छ । फैसला जेसुकै आओस्, उनी सुपुदर्गी हुन् वा बेलायतमै मुद्दाको किनारा लागोस्, असान्ज प्रकरणले राज्यलाई थप अनुदार र अपारदर्शी हुन बल मिल्नेछ । 

भलै उनले प्रचलित ढाँचा (फर्म्याट)मा सूचना/समाचार सम्प्रेषित गरेनन्, तर उनले नागरिकको हितमा दस्तावेजहरू सार्वजनिक गरेका हुन् । उनी आमनागरिकप्रति उत्तरदायी छन्, त्यसैले उनी पत्रकार नै हुन् । यदि उनको अन्त्य अमेरिकी जेलमा नै हुने अवस्था आयो भने त्यो निकै विडम्बनापूर्ण हुनेछ । उनी पत्रकारिता जगत्का उत्तरआधुनिक अवतार हुन् । जसले स्थापित संरचना भत्काए, तर कुनै खास संरचना निर्माण गरेका छैनन् । 

अहिले मानिसहरू अमेरिकी संविधानको पहिलो संशोधनले (फस्ट अमेन्डमेन्ट) सुनिश्चित गरेको वाक् तथा प्रेस स्वतन्त्रताले असान्ज र उनको वेबसाइटलाई समेट्ने/नसमेट्ने भन्नेमा विभाजित छन् । विगतमा सरकारलाई गम्भीर असर पर्ने गोपनीय सामग्री बाहिर कसैले ल्यायो भने त्यसले सामग्री बाहिर ल्याउने व्यक्तिमाथि दोषी मान्थ्यो । ती सामग्री छाप्ने मिडिया वा प्रकाशकलाई अमेरिकी संविधानको पहिलो संशोधनले सुरक्षा दिएको मानिन्थ्यो । तर, असान्जको सन्दर्भमा अलग व्यवहार गरिँदै छ । अमेरिकाले आफ्नो अति संवेदनशील भनेको सामग्री अमेरिकी सेनामा कार्यरत चेल्सी म्यानिङले विकिलिक्स पठाएकी थिइन् । विकिलिक्सले त्यसलाई प्रकाशित मात्र गरेको हो । यसैले समर्थकहरूले असान्जविरुद्ध चलिरहेको मुद्दालाई प्रेस स्वतन्त्रतामाथिको आक्रमणका रूपमा व्याख्या गरिरहेका हुन् । उनका वकिलले पनि असान्जलाई एक पत्रकार र प्रकाशकका रूपमा व्यवहार गरिनुपर्ने माग गरिरहेका छन् ।

तर, बेलायत सरकार र त्यहाँको न्यायालयले समेत असान्जलाई एक पत्रकारका रूपमा भन्दा पनि जासुसीका अपराधीकै रूपमा व्यवहार गरिरहेको छ । असान्जले गोप्य सरकारी सूचना बाहिर ल्याउने क्रममा केही सावधानी नअपनाएको कुरामा बहस गर्न सकिन्छ । उनले गोप्य सामग्री सार्वजनिक गर्दा केही संवेदनशील पदमा रहेका पदाधिकारीका नाम, ठेगाना नलुकाएकाले उनको विरोध स्वाभाविक हुन्छ । यद्यपि, असान्जले जुन सत्य जानकारी सार्वजनिक गरे, ती वास्तवमै सार्वजनिक सरोकारका विषय थिए, स्थापित पत्रकारिताको शैली र आचारसंहिताभन्दा भिन्दै किन नहुन् । सबैभन्दा महत्वपूर्ण कुरा, उनले माग गरेको बृहत्तर पारदर्शिता पत्रकारिताको उद्देश्यभित्रै पर्छ । असान्ज आफूहरूले कथित गोप्यताको उजागर गरिदिँदा लाखौँ निर्दाेषको जीवनरक्षा हुने तर्क दिने गर्छन् । अहिले जति पनि युद्ध हुने गर्छन्, ती सबै भ्रमका खेतीका प्रतिफल भएको उनको बुझाइ हो । त्यसैले उनी गोप्यताका विरोधी र पारदर्शिता र उदार राज्यका हिमायती हुन् ।

सन् २००६ मा स्थापना भएको विकिलिक्सले जसै अफगानिस्तान र इराक युद्धबारे लाखौँ अमेरिकी दस्तावेज सार्वजनिक गरिदियो, असान्ज मानवअधिकारवादीको नजरमा पारदर्शिताको पक्षपाती देखिए भने शक्तिराष्ट्रका प्रशासकले उनलाई आतंकवादीका रूपमा हेर्ने थाले । यस्ता प्रकाशनबाट असान्जले शक्तिमा रहेकाहरूलाई जिम्मेवार बन्न चुनौती दिएका हुन् । असान्जले आफूले आफ्ना काममार्फत सत्ता र शक्तिको प्रयोगमा पारदर्शिता खोजेको बताउने गरेका छन् ।

भलै उनले प्रचलित ढाँचा (फर्म्याट)मा सूचना/समाचार सम्प्रेषित गरेनन्, तर उनले नागरिकको हितमा दस्तावेजहरू सार्वजनिक गरेका हुन् । उनी आमनागरिकप्रति उत्तरदायी छन्, त्यसैले उनी पत्रकार नै हुन् । यदि उनको अन्त्य अमेरिकी जेलमा नै हुने अवस्था आयो भने त्यो निकै विडम्बनापूर्ण हुनेछ ।
 

शक्तिसँग भिड्न नडराउने, स्थापित मार्गभन्दा फरक मार्ग हिँड्ने, घुमक्कड खालको असान्जको जुन स्वभाव छ, त्यसको जग उनको बाल्यकालमै बसेको थियो । सन् १९७१ मा अस्ट्रेलियाको उत्तरपूर्वी तटीय सहर टाउन्सभिलमा जन्मिएका असान्जको बाल्यकाल स्थिर थिएन । असान्ज १४ वर्ष हुँदा उनको परिवार ३७ पटक सरिसकेको थियो । उनकी आमा संस्थापनप्रति घृणा गर्थिन् । यही कारणले उनले आफ्ना सन्तानलाई विद्यालय नै पठाइनन् । असान्जकी आमामा औपचारिक विद्यालय शिक्षाले बालबालिकामा शक्ति र सत्ताप्रति अस्वस्थ निष्ठा बसाउँछ भन्ने विश्वास थियो । असान्जकी आमा आफैँले पनि १७ वर्षको उमेरमा स्कुलका किताब जलाएर घर र विद्यालय दुवै त्यागेकी थिइन् । आमाले असान्ज र उनका भाइहरूलाई घरमै पढाउने व्यवस्था गरेकी थिइन् । माथिका कक्षाहरू उनले पत्राचारमार्फत पूरा गरेका थिए । असान्जका अनुसार उनको किशोरकाल धेरै समय पुस्तकालयमा बितेको थियो । असान्ज आठ वर्षको हुँदा उनकी आमा एक कठोर धार्मिक पन्थसँग जोडिएका पुरुषसँग सम्बन्धमा थिइन् । उनीहरूको सम्बन्ध टुटेपछि आमा ठाउँ सरीसरी बस्न थालिन् । संगीतकार पतिबाट जन्मिएको नयाँ छोरालाई आफूसँगै राख्नका लागि असान्ज र उनको आमा लुकेर हिँड्न थाले । ११ वर्षदेखि १६ वर्षको उमेरसम्म उनको जीवनशैली यस्तै रह्यो । 

यही अवधिमा उनको कम्प्युटरसँग परिचय भयो । असीको दशकमा कम्प्युटर यसरी आमप्रयोगमा आइसकेको थिएन । तर पनि असान्जको कम्प्युटरप्रतिको अथाह रुचि देखेर आमाले कम्प्युटर किनिदिएकी थिइन् । कम्प्युटर किन्नकै लागि उनीहरू सस्तो ठाउँमा सरेका थिए । सानै उमेरमा असान्जले आफ्नो क्षेत्रमा कुशल प्रोगामरको छवि बनाएका थिए । १८ वर्षको उमेरसम्म उनी विश्वकै अति सुरक्षित भनिएको नेटवर्कलाई पनि ह्याक गर्न सक्थे । हुन त ती दिन इन्टरनेट प्रारम्भिक अवस्थामै भएको सुरक्षाका विषयलाई त्यति ध्यान दिइँदैनथ्यो । तर पनि युरोप र अमेरिकाका वित्तीय तथा सुरक्षा संयन्त्रको कम्युटर सञ्जालभित्र प्रवेश गर्नु चानचुने विषय थिएन । किशोरकालीन उमेरमा गरिएको ह्याकको उद्देश्य आफ्नो क्षमता जाँच्ने र अन्तर्राष्ट्रिय निकायभित्रको कार्यशैली हेर्ने मात्र रहेको असान्ज बताउने गर्छन् । 

कुनै गलत काम नगरेको भए पनि अनाधिकृत रूपमा संवेदनशील संस्थाको नेटवर्कको जासुसी गरेको आरोपमा २० वर्षको उमेरमा उनी प्रहरीको फन्दामा परे । यस प्रकरणमा उनले तीन वर्षजति मुद्दा मामिला खेप्नुपरेको थियो । तथापि, यस्ता कार्य नदोहोर्‍याउने सर्तमा उनी निर्दोष साबित भए, यस प्रकरणले उनलाई प्रभावित बनाएको थियो । यसपछि उनले आफूलाई अध्ययनमा केन्द्रित गरे । युनिभर्सिटी अफ मेलबर्नमा भौतिकशास्त्र अध्ययन गरे । असान्जबारे न्युयोर्करले लेखेको एक लेखअनुसार असान्जले ब्रह्माण्डको अध्ययनबाट बौद्धिक उत्साह आउने र थप ह्याकिङको प्रेरणा मिल्ने सोच्थे । तर, उनलाई भौतिकशास्त्रीहरूको संस्थापनभक्ति देखेर विरक्त लाग्न थालेको थियो । उनको विश्वविद्यालय अध्ययनकै क्रममा सन् २००६ मा विकिलिक्सको स्थापना भयो, शासनमा पारदर्शिता बढाउन वेबसाइटलाई लगाउने असान्जको उद्देश्य थियो । कलेजको कोठामा असान्जले स्थापना गरेको विकिलिक्स संसारभर ठूलो तरंग ल्याउन सफल भयो । 

विकिलिक्सको पत्रकारिताले प्रचलित मूल्य मान्यता र शैलीको विनिर्माण गरेकाले यसलाई उत्तरआधुनिक युगको पत्रकारिता भन्नेहरू पनि छन् । यसका कुनै तलबी कर्मचारी छैनन्, कुनै निश्चित कार्यालय, डेस्क र उपकरण पनि छैनन् । असान्जको त घरसमेत छैन । उनी देशदेशावर यात्रारत रहन्थे । समर्थक वा साथीका साथीको घरमा वास बस्थे । अर्थात्, उनले सबै पत्रकारिताको आधुनिक मूल्यको विनिर्माण गरेर संरचनाविहीन उत्तरआधुनिक पत्रकारिता सुरु गरेका थिए । अहिले जसरी राज्य हरतरहले नागरिकलाई निगरानीको राडारमा राख्ने तहमा पुगेको छ, त्यसले राज्यलाई थप स्वेच्छाचारी र शासकलाई तानाशाही बनाउन सहयोग गर्ने खतराप्रति चिन्ता बढ्दै गएको आवस्थामा असान्ज र विकिलिक्सको सान्दर्भिकता बढ्दै गएको मान्न थुप्रै कारण छन् । जुलियन असान्जको वास्तविक अपराध के हो भने उनले विश्वशक्ति अमेरिकाको अत्याचार उजागर गरिदिए । 

तर, असान्जले सत्ताको गोपनीयता सार्वजनिक गर्दा पत्रकारिताको इथिक्स पालना गरे÷नगरेको भन्नेमा विवाद छ । उनले पत्रकारिताका आजपर्यन्तका इथिक्स पक्कै पार गरेका हुन्, तर त्यो बृहत्तर हितका लागि थियो, व्यक्तिगत लाभहानिका लागि थिएन । बाल्टिमोर विश्वविद्यालयका संवैधानिक कानुनका प्राध्यापक गाररेट इप्स पत्रकारितालाई संविधानको आधारमा ‘ग्रे एरिया’ मान्छन् । उनी गोप्य दस्तावेज उजागर गर्नु र तिनलाई पूरै उधिनेर उदांगो पार्नुबीच आधारभूत भिन्नता रहेको ठान्छन् । उनको विचारमा असान्जले कुन जानकारी कसरी पाठकसँग साझेदारी गर्ने भन्नेमा समझदारी देखाउन सकेनन् । असान्जले पत्रकारभन्दा पनि सूचना चोरको व्यवहार देखाएको उनको आरोप छ । यल विश्वविद्यालयका प्राध्यापक लिन्कोन कप्लान एक रिपोर्टरले जसरी जानकारी सम्प्रेषित गर्नु र विकिलिक्सले जसरी हारहुर थुपार्दिनुमा निकै धेरै फरक रहेको ठान्छन् । 

मुनाफारहित खोज पत्रकारिता समूह सिकागो इनोसेन्स प्रोजेक्टका अध्यक्ष डेभिड प्रोटेसका अनुसार ‘अधिकांश पत्रकार केवल सुधारक हुन्, क्रान्तिकारी होइनन् । असान्ज यी दुवैको बीच धारका हुन् । असान्जले अँगालेको खोज पत्रकारिताको मूल चरित्र नै आक्रोशपूर्ण हुन्छ ।’ गोप्य सूचनाहरू प्रकाशित गर्नु प्रेस स्वतन्त्रता र सूचनामा पहुँचको अधिकारअन्तर्गत पर्ने एम्नेस्टीको तर्क छ । उसको विचारमा सूचना लोकतन्त्रको जीवनधारा हो र असान्ज र विकिलिक्सले लोकतन्त्रको हित नै गरेका छन् । सूचना प्रवाहित गर्नु पत्रकारिता हो भन्ने अर्थमा असान्जको कार्य पत्रकारिताको परिभाषाभित्र पर्छन् । त्यस अर्थमा प्रेस स्वतन्त्रताका खातिर जुलियन असान्जको प्रतिरक्षा गरिनुपर्ने मानवअधिकारवादी संगठनको माग जायज छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट र युरोपियन फेडरेसन अफ जर्नालिस्टले असान्जको पक्राउले पत्रकारहरूका लागि नराम्रो नजिर बसाल्ने भन्दै विरोध गरिरहेको छ । जुलियन असान्जले डिजिटल उपकरणको सहयोग लिएर एउटा सामान्य व्यक्ति वा एउटा सानो टिमले कसरी शक्तिशाली राज्यलाई पनि चुनौती दिने शक्ति निर्माण गर्न सक्छ भन्ने देखाइदिए । लाखौँ समर्थकको हौसलाको बलकै कारण असान्जले विश्वकै सबैभन्दा ठुल्ठूला गोपनीयता बाहिर ल्याउन सफल भए । 

असान्जले आफूलाई प्राप्त डकुमेन्टको आधिकारिकता पुष्टि गर्ने कुरामा ध्यान दिए पनि त्यसभित्रका सामग्रीले कसैलाई असर गर्ने/नगर्ने कुरामा महत्व नदिने गरेकोमा आलोचना हुन्छ । उनको रुचि सूचना सार्वजनिक गर्ने कुरामा मात्र देखिन्छ । अर्को कुरा, सानो टिमले लाखौँ पृष्ठका डकुमेन्ट हेरेर तिनका संवेदनशील पक्ष हटाउन नसक्ने जिकिर गर्छन्, उनी । त्यसबाहेक आफूले सार्वजनिक गरेका दस्तावेजका आधारमा कसैलाई हानि नपुगेको दाबी उनको छ । साथै, उनले दस्तावेजका संवेदनशील पक्षलाई हटाउन विगतमा परम्परागत मिडियासँग सहकार्य गरेका पनि हुन् । सन् २००८ मा स्विस बैंकका गोप्य दस्तावेजहरू प्रकाशित गरेबापत मुद्दा पर्‍यो । लस एन्जेल्स टाइम्स, द एसोसियट प्रेस र अन्य दशवटा समाचार संस्थाहरूले समर्थनमा एमिकस दायर गरेका थिए । यद्यपि, पछि बैंकले मुद्दा फिर्ता लियो । 

आफ्ना समर्थकका लागि जुलियन असान्ज सत्यानुरागी एवं एक साहसी अभियन्ता हुन्, जसले शक्तिको उन्मादमाथि प्रकाश पार्न र तिनबाट सकेजति सर्वसाधारणको ज्यान जोगाउन सघाएका छन् । आलोचकका लागि उनी लोकप्रिय हुने तीव्र चाहना भएका प्रचारका भोका व्यक्ति मात्र हुन्, जसले संवेदनशील जानकारी सार्वजनिक गरेर युद्ध क्षेत्रमा रहेका सैनिकको जीवन खतरामा पारेका छन् । पत्रकार हुनुको नाताले मात्रै होइन, पारदर्शी एवं लोकतान्त्रिक राज्यको पक्षधर जो कसैले अहिले असान्जको पक्षमा आवाज उठाउन आवश्यक छ । अन्यथा, उनी अमेरिकी राज्य उन्मादको बलिवेदीमा भेटी चढ्नेछन् । 

 

मिडिया बहसमा थप :

टिआरपीको पासोमा भारतीय न्युज च्यानल

इराक युद्धमा मिडियाका दुई ध्रुव

इन्दिराको इमर्जेन्सी : प्रेस स्वतन्त्रताविरुद्धको अँध्यारो युग

न्युयोर्क टाइम्सबाट सुरु भएको एउटा बहस

‘द भल्चर एन्ड द लिटल गर्ल’

एउटा समाचार, जसले २० वर्षे भियतनाम युद्ध अन्त्य गरायो

वाटरगेट काण्ड : जब राष्ट्रपति निक्सनले प्रेससँगको युद्ध हारे

मिडिया मुगल रुपर्ट मर्डक, जोसँग विश्वको शक्तिकेन्द्र झुक्छ

एक रेडियो, जसले रुवान्डा नरसंहार गरायो