मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २७ शनिबार २१:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फिस्टेल अस्पतालको लापरबाहीले सांसदसहित दुई सयजना क्वारेन्टिनमा बस्न बाध्य 

Read Time : < 1 मिनेट
२०७७ भदौ २७ शनिबार २१:४८:००

पोखरा महानगरपालिका– ४ गैह्रीपाटनस्थित फिस्टेल अस्पतालको लापरबाहीका कारण गण्डकी प्रदेश सभाका दुई सांसदसहित दुई सयजना क्वारेन्टिनमा बस्न बाध्य भएका छन् । अस्पतालमा उपचाररत एक बिरामीको शुक्रबार बिहान १ः१५ बजे मृत्यु भएपछि उनको स्वाब परीक्षणको नतिजा नआउँदै आफन्तलाई शव जिम्मा लगाएको थियो । क्यान्सरकी बिरामी ४५ वर्षीया महिलालाई बुधबार फिस्टेल अस्पतालमा भर्ना गरिएको थियो । बिहीबार उनको स्वाब परीक्षणका लागि पठाइएको थियो । तर, स्वाब परीक्षणको रिपाेर्ट नआउँदै उनको मृत्यु भयो ।

आफन्तले स्वाब परीक्षणको नतिजा आएपछि मात्रै शव बुझ्ने बताए पनि अस्पताल प्रशासनले कोरोनाका कारण मृत्यु भएको होइन भन्दै जबर्जस्ती शव बुझ्न जोड गरेको आफन्तको भनाइ छ । अस्पतालको दबाबपछि आफन्तले शुक्रबार शव बुझेका थिए । शव बुझेसँगै शुक्रबार नै पोखराको रामघाटस्थित सेती नदीमा हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको थियो ।

मृतक महिलाको स्वाब परीक्षणको नतिजा शनिबार आउँदा कोरोना पोजेटिभ देखियो । सोही कारण दाहसंस्कारमा सहभागी करिब दुई सयजनासहित आफन्तहरू अहिले क्वारेन्टिनमा बस्न बाध्य भएका हुन् ।

मृतक महिला पोखराका पर्यटन व्यवसायीकी श्रीमती हुन् । उनको दाहसंस्कारमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य रामजी बराल (जीवन) र राजीव पहारीसँगै माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी, केही वडाध्यक्षहरू, आफन्त, पोखराका पर्यटन व्यवसायीहरूलगायत करिब दुई सयजनाको सहभागिता थियो । 

मृतकका एक आफन्तले भने परिवारको सदस्य गुमाउनुको पीडा एक ठाउँमा छ अस्पतालको लापरबाहीका कारण परवारका सदस्यसँगै आफन्त र साथीभाई सबै समस्यामा परेको बताए । उनले भने, ‘भोलि कसैमा कोरोना संक्रमण देखिएमा के हुन्छ ?’

प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले परीक्षणका लागि स्वाब पठाएपछि एक दिन रिपोर्ट कुर्न किन नसकेको ? भन्दै अस्पताल प्रशासनलाई प्रस्टीकरण सोधेका छन् ।