मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : १५ बेडबाट ५० बेडमा क्षमता वृद्धि गरिएको महोत्तरीको जलेश्वर अस्पताल । 
हदिश खुद्दार जनकपुरधाम
२०७७ भदौ २७ शनिबार १९:४८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश २ का सरकारी अस्पतालमा भौतिक पूर्वाधार थपिए, जनशक्तिको अभावमा सेवा प्रभावित

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ भदौ २७ शनिबार १९:४८:००

कोरोना महामारीका वेला विभिन्न क्षेत्रमा नकारात्मक असर परे पनि सरकारी स्वामित्वको अस्पतालमा भने उल्लेखनीय सुधार भएको पाइएको छ । प्रदेश २ सरकार र विकास समितिबाट दुई सय शय्याको प्रादेशिक अस्पताल जनकपुरलाई विस्तार गरेर अहिले तीन सय २० शय्याको बनाइएको छ ।  प्रदेश २ सरकारले प्रादेशिक अस्पताललाई पाँच सय बेडको बनाउन स्वीकृति दिइसकेको छ । 

प्रदेश २ अन्तर्गतका जिल्ला अस्पतालहरू महोत्तरीको जलेश्वर, सप्तरीको भारदा र पर्साको पोखरिया अस्पताललाई १५ बाट क्षमता वृद्धि गरी ५० शय्याको बनाउन स्वीकृत प्रदान गरिएसँगै भौतिक पूर्वाधारका कार्यहरू धामधम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रादेशिक अस्पताल जनकपुर, गौर, पर्साको नारायणी र सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा पिसिआर मेसिन जडान भई स्वाब परीक्षणको काम भइरहेको छ । सिराहाको सिराहा, महोत्तरीको जलेश्वर, सर्लाहीको मलंगवा, बाराको कलैयालगायतका अस्पतालमा कोरोना संक्रमणको परीक्षण गर्ने पिसिआर मेसिन तत्काल नै जडान गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती अस्पतालहरूमा पिसिआर मेसिन खरिदका लागि टेन्डर भइसकेको उल्लेख गर्दै सामाजिक विकासमन्त्री नवलकिशोर साहले भने, ‘कोरोनाले हरेक क्षेत्रलाई तहसनहस गऱ्यो, तर अस्पतालहरूमा भने व्यापक सुधार गर्ने अवसर जुट्यो ।’ प्रादेशिक अस्पतालमा क्याथ ल्याब, आधुनिक अप्रेसन थिएटरका लागि भौतिक पूर्वाधारको काम सुरु भइसकेको मन्त्री साहले बताए । 

प्रदेश सरकारमातहत रहेका अधिकांश अस्पतालमा अक्सिजन प्लान्ट, फोहाेर व्यवस्थापनलगायतका मेसिन जडान र मिर्गाैलाका बिरामीका लागि डाइलाइसिसको सेवा सञ्चालन गरिने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य निर्देशनालयका निमित प्रमुख डा. विजय झाले बताए।  

जनशक्तिको अभावमा सेवा प्रभावित 
भौतिक पूर्वाधारमा प्रदेशमातहतका अस्पतालहरू सम्पन्न हुँदै गए पनि जनशक्तिको अभावमा जनअपेक्षाअनुसारको सेवा दिन सकिरहेका छैनन् । महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान भएको हप्तौँ भइसक्दा पनि जनशक्तिको अभावमा सञ्चालनमा आएको छैन । ‘विगतभन्दा कोरोना महामारीको वेला प्रदेशमातहतका अस्पतालहरूमा भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार भयो,’ मन्त्री साहले भने, ‘जनशक्तिको अभावमा जनअपेक्षाअनुसार सेवा दिन नसकिरहेको सत्य हो, तर त्यसलाई व्यवस्थापन गर्न अस्पतालहरूले आफ्ना आवश्यकताअनुसारका कर्मचारी भर्ना गरिरहेका छन् ।’ 

प्रदेश लोकसेवा ऐन कार्यान्वयन भएपछि मात्रै सरकारले स्वास्थ्यलगायतका अन्य क्षेत्रमा कर्मचारी भर्ना गर्ने मन्त्री साहले बताए । दुई महिनामा तीनवटा सचिव फेर्नुले पनि आफ्नो मन्त्रालयको कामकाज प्रभावित हुँदै आएको मन्त्री साहले दुखेसो पोखे ।  

एमडी र एमएस पढाइ हुने 
प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिने प्रदेश सरकारले निर्णय गरिसकेको मन्त्री साहले बताए । प्रतिष्ठान भएपछि एमडी, एमएसको पढाइ हुने उनले जानकारी दिए ।