मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
बाबुको काजकिरियामा बसेका अशोक दर्जीका छोराछोरी ।
२०७७ भदौ २७ शनिबार १७:५४:००
Read Time : > 1 मिनेट
प्रदेश

लकडाउनमा छोराछोरीको भोक टार्न नसकेपछि अशोक दर्जीले आत्महत्या रोजे

मृत्यु संस्कारका लागि एक माना चामल समेत घरमा थिएन 

Read Time : > 1 मिनेट
२०७७ भदौ २७ शनिबार १७:५४:००

मोरङको सुन्दरहरैँचा नगरपालिका– १० का ४७ वर्षीय अशोक दर्जीका चार छोराछोरी छन् । जेठी छोरीको विवाह भइसकेकाले उनको साथमा दुई छोरी र एक छोरा थिए । छोराछोरी सानै भएकाले उनीहरूको पालनपोषण अशोकले नै गर्दै आएका थिए । लकडाउनअघिसम्म दैनिक ज्याला–मजदुरी गरेर उनले आफ्ना लालाबालालाई जेनतेन दुई छाक पेटभरि खुवाउँदै आएका थिए । तर, लकडाउनमा उनी बनिबुतो गर्न जान सकेनन् । 

सुकुम्बासी बस्तीमा बस्दै आएका उनले लकडाउनको अवधिमा घरमा भएका भाँडाकुँडा र सरसामग्री बेचेर केही दिन छोराछोरीको पेट भरे । उनले खान बनाउने ग्यास सिलिन्डरसमेत बेचेर छाक टारेको छिमेकी दीपेन जोगीले बताए । अझै पनि ज्याला–मजदुरी गर्ने बाटो नखुलेको र घरमा भएका सरसामान पनि बेचिसकिएकाले उनी निराश बन्ने गरेको जोगीले बताए । यो निराशाले उनलाई मृत्युको बाटो डोहोऱ्याे । आफू र छोराछोरीको भोक देख्न, सहन नसकेर उनले गत मंगलबार (२२ भदौ) मृत्यु रोजे । डोरीमा पासो लगाएको अवस्थामा उनको शव घरैमा  फेला परेको थियो । 

अशोकको मृत्युपछि घर पुग्दा एक माना चामलसमेत घरमा नभएको छिमेकी जोगीले बताए । उनले भने, ‘कात्रो किन्ने पैसा त परै जाओस् संस्कारअनुसार शवलाई घाटसम्म पुऱ्याउनका लागि चाहिने एक माना चामल, धानसमेत थिएन । छरछिमेकीबाट उठाएर शवको व्यवस्थापन गऱ्याैँ ।’ छोराछोरी अहिले बाबुको काजकिरिया गरिरहेका छन् । मृत्यु संस्कारका लागि वडा कार्यालय तथा गाउँलेले चन्दा उठाएर सहयोग गरिरहेको उनले बताए ।

अशोककी श्रीमती दिल्लीमा अलपत्र 
मृतक अशोककी ३८ वर्षीया श्रीमती दिलमाया नेपाली छोराछोरीलाई श्रीमानको जिम्मा लगाएर वैदेशिक रोजगारीका लागि हिँडेकी थिइन् । तर, दलालको चुंगलमा परेर सात महिनादेखि उनी दिल्लीमा अलपत्र परेकी छिन् । कोरोना कहरसँगै दिल्लीमा अलपत्र परेकी उनी अहिलेसम्म घर फर्कन पाएकी छैनन् । राम्रो कमाइ हुने प्रलोभन देखाएर कुवेत लैजाने भन्दै दलालले उनलाई दिल्लीमा पुऱ्याएर अलपत्र पारिदिएका छन् । आमा विदेशमा अलपत्र बाबुको मृत्युपछि १२, १४ र १७ वर्षीया छोराछोरीको बिचल्ली भएको छ । 

वडाध्यक्ष भन्छन् – तीनपटक राहत दिइसक्यौँ 
सुन्दरहरैँचा नगरपालिका– १० का वडाध्यक्ष राजेश थापाले भने मृतक अशोकको परिवारलाई तीनपटक राहत सामग्री दिइसकेको बताए । लकडाउन अवधिमा मात्रै १८ सय परिवारलाई राहत वितरण गरेको उनको भनाइ छ । उनले भने, ‘वडा कार्यालयमा आएर आफ्नो समस्या बताएको भए अशोकले मर्नुपर्ने थिएन । अब छोराछोरीको पठनपाठन र श्रीमतीलाई दिल्लीबाट ल्याउनका लागि पहल गर्छौँ ।’ 

मृतकको एउटै फोटो छैन
मृतक अशोकको एउटा फोटोसमेत फेला परेको छैन । श्रद्धाञ्जली दिनका लागि फोटोसमेत नभएको उनका आफन्तहरू बताउँछन् । सरकारले कोरोनाबाट जनतालाई बचाउन लकडाउन घोषणा गरे पनि जनतालाई विकल्प नदिँदा देशभर विभिन्न समस्या पर्दै आएको छ । संघीय सरकार, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो अनुकूलका लागि लकडाउन गर्न थालेपछि दैनिक ज्यालामजदुरी गर्नेहरू थप समस्यामा परेका छन् । केही स्थानी तहले राहत वितरण गरे, तर त्यो पर्याप्त छैन ।