मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
समाचार कक्षमा पत्रकारमाथि कुटपिदै हुँदै ।
२०७७ भदौ २६ शुक्रबार १७:२७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समाचार कक्षमै प्रवेश गरी पत्रकारमाथि कुटपिट

Read Time : > 1 मिनेट
२०७७ भदौ २६ शुक्रबार १७:२७:००

धनगढीको दिनेश एफएममा कार्यरत पत्रकारमाथि समाचारको विषयलाई लिएर एक समूहले समाचार कक्षमै प्रवेश गरी कुटपिट गरेको छ । चोरीको अभियोगमा पक्राउ परेका एक युवकको प्रहरी हिरासतमै मृत्यु भएको घटनाबारे दिनेश सञ्चार गृहअन्तर्गतको दिनेश खबरडटकमले शुक्रबार समाचार प्रकाशित गरेको थियो । सो समाचारलाई लिएर २०–२५ जनाको समूह एफएममै प्रवेश गरी पत्रकारमाथि कुटपिट र कर्मचारीमाथि दुर्व्यवहार गरेको हो ।

दिनेश सञ्चारगृहका सम्पादक नवराज पनेरूले सहसम्पादक जनक विष्टमाथि कुटपिट हुनुका साथै व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि हातपात र दुर्व्यवहार भएको बताए । २०–२५ जनाको समूहमा आएका युवाहरूले प्रहरी हिरासतमा रहेका युवाले ‘आत्महत्या’ गरेको नभई उनको ‘हत्या’ भएकोले आत्महत्यासम्बन्धी समाचार हटाउन भनेका थिए । ‘समाचार कक्षभित्र आएका उनीहरूले आत्महत्यासम्बन्धी समाचार डिलिट गर्नोस् भनेर एकाएक कुटपिट गर्न थाले । हामीले बोल्नै पाएनौँ,’ विष्टले भने । सञ्चारगृहले प्रहरीले दिएको सूचनाका आधारमा ‘हिरासतमा रहेका युवाले शौचालयमा आत्महत्या’ गरेको समाचार प्रकाशन गरेको थियो । ‘हिरासतमा रहेका युवाले शौचालयमा आत्महत्या गरेको सूचना प्रहरीले दिएको थियो । प्रहरीले दिएको सूचनाका आधारमा हामीले समाचार बनाएर प्रकाशन गरेका थियौैँ,’ सम्पादक पनेरूले भने, ‘आत्महत्या भनेर किन लेखेको भन्दै एफएममै आएर कुटपिट गरे ।’

जिल्ला प्रहरी कार्यालय कैलालीले चोरी मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका– ५ का १९ वर्षीय रोशन विकको शब शुक्रबार बिहान हिरासत कक्षको शौचालयमा फेला परेको प्रहरीले जनाएको छ । तर, मृतकका आफन्तले भने उनले आत्महत्या गरेको नभई हत्या भएको दाबी गर्दै आएका छन् ।

कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएको दिनेश सञ्चारगृहले जनाएको छ । केहीले कुटपिट गरेको भिडियो खिचेर आफैँले सामाजिक सञ्जालमा समेत राखेका छन् । 

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, महासंघ कैलाली शाखालगायत सञ्चार सम्बद्ध संघसंस्थाहरूले सञ्चारगृहमाथि भएको आक्रमणको भर्त्सना गरेका छन् । उनीहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । ‘कुनै पनि समाचारमा विमति भए आफ्नो धारणा राख्न पाउने कानुनी बाटो हुँदाहुँदै केही उत्शृंखल व्यक्तिहरूले समाचार कक्षभित्रै प्रवेश गरेर पत्रकारहरूमाथि कुटपिट गरेको यो घटना सिंगाे प्रेस जगतका लागि निकै असह्य घटना हो ।’ महासंघ प्रदेश समितिले भनेको छ, ‘समाचार कक्षमै प्रवेश गरी पत्रकार तथा सञ्चारगृहमाथि आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कडाभन्दा कडा कारबाहीका लागि माग गर्दछौँ ।’

यस्तै प्रहरी हिरासतमा रहेका युवाको हत्या भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालयअगाडि दिनभर प्रदर्शन गरेका छन् । घटनाको छानबिन हुनुपर्ने र हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने माग उनीहरूको छ ।