मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ २६ शुक्रबार ०९:४४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सवा ४ करोड  लगानीको भेनियर उद्योगले  ३५० लाई रोजगारी दिने

Read Time : > 1 मिनेट
२०७७ भदौ २६ शुक्रबार ०९:४४:००

ताप्लेजुङको फुङलिङ नगरपालिकामा चारजना स्थानीय व्यवसायीले सवा ४ करोड रुपैयाँमा स्थापना गरेको उद्योगले १ सयजनालाई रोजगारी दिएको छ । कम्पनीले ३ सय ५० जनालाई रोजगारी दिने योजना भए पनि कोभिड–१९ का कारण पूर्ण क्षमतामा नचलेकाले रोजगारी घटेको हो ।  

सदरमुकाम फुङलिङ बजारका चारजना स्थानीय व्यवसायीले लगानीमा बजारनजिकै दोखुको हिटीमा ताप्लेजुङ प्लाई एन्ड भेनियर प्रालि नामको उद्योग स्थापना गरिएको सञ्चालक सदस्य भरत श्रेष्ठले जानकारी दिए । उद्योग स्थापना गर्न जंग सुनुवार, दीपक घिमिरे र मौसम भट्टराईको संयुक्त लगानी रहेको उद्योगले प्लाइउडको कच्चा पदार्थ उत्पादन सुरु गरेको छ ।

कम्पनीको नाममा ७१ रोपनी जग्गा खरिद गरी कुल ४ करोड २८ लाख रुपैयाँमा उद्योग सञ्चालनमा ल्याएको सुनुवारले बताए । कोभिड–१९ को महामारीबीच उद्योग सञ्चालनमा ल्याएर प्लाइउडका लागि कच्चा पदार्थ उत्पादन गरिरहेको उनले जानकारी दिए ।     

दैनिक २ लाख कोर कच्चा पदार्थ उत्पादन गर्ने क्षमताको मेसिन जडान गरिएको र यसबाट ३ सय ५० जनालाई रोजगारी दिने योजना रहेको सञ्चालक सदस्य श्रेष्ठको भनाइ छ । तर, कोभिड–१९ को महामारीका कारण सयजना स्थानीयले मात्र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारी पाउँदै आएको उनले बताए ।  

उत्पादन क्षमता २ लाख कोर भए पनि हाल करिब ९० हजार कोर मात्र कच्चा पदार्थ उत्पादन हुँदै आएको श्रेष्ठले बताए । उद्योगमा उत्तिस, मलातो, चिलाउने, मौवालगायत प्रजातिका काठहरूको प्रयोग गरिँदै आएको प्रालिले जनाएको छ । काठ दैनिक १५ ट्र्याक्टर आवश्यक पर्ने र सो उपलब्ध रहेको सञ्चालक सदस्य जंग सुनुवारले बताए ।  

उद्योगबाट उत्पादित कच्चा पदार्थ झापासहित जनकपुर, भैरहवा, बुटवल निर्यात हुँदै आएको उनको भनाइ छ । काठमाडौंबाट समेत माग भइरहेको, तर महामारीले गर्दा मागअनुसार कच्चा पदार्थ निर्यात गर्न नसकेको सुनुवारले बताए । यहाँ उत्पादन भएको प्लाइउडको कच्चा पदार्थ प्रतिवर्ग फिट (सिएफटी) ४ रुपैयाँ र रनिङ फिट (आरएफटी) ४० रुपैयाँले बिक्री हुने बताइएको छ ।

उद्योग स्थापना भएपछि जिल्लाका निजी वनजंगलका रूखले राम्रो मूल्य पाउन थालेका छन् । जिल्लाभित्रै भेनियर उद्योग स्थापना भएपछि कतिपय जंगलमै खेर जाने गरेको उत्तिसलगायतका रूख बेचेर वनजंगलका धनीले पनि राम्रो आम्दानी गर्न थालेको पाइएको छ ।