१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ भदौ २५ बिहीबार २१:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निरोगी नेपाल निर्माण अभियानमा आयुर्वेदको असाधारण भूमिका : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
२०७७ भदौ २५ बिहीबार २१:०१:००

प्रधानमन्त्री केपी ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने बताएका छन् । कोभिड– १९ को  उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा परामर्श गर्दै उनले आयुर्वेदभित्रै योगा पनि पर्ने बताए । उनले भने, ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुवै हो ।’ 

उनले मेसिनहरू एलोपेथिक नभएको प्रस्ट पार्दै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगीकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकता औँल्याए । आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष्य राखिएको उल्लेख गरे । 

निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको ओलीका भनाइ थियो । कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाउन र यसको प्रयोगलाई बढाउनसमेत उनले सबैको ध्यानाकर्षण गराए । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथ विज्ञहरूसँग तीन घन्टा सुझाब लिएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा सञ्चारमाध्यमबाट त्यसको  व्यापक प्रचारप्रसार गर्न पनि जोड दिए । 

छलफलमा आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्याय, डा. ऋषिराम कोइराला, डा. प्रदीप केसी, विनोद पौडेल, डा. रामआधार यादव, डा. सन्तोष ठाकुर, प्रा.डा . डिबी रोका, डा. शिवमंगल प्रसाद र डा. प्रकाश ज्ञवालीलगायतले धारणा राखेका थिए ।