मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ भदौ २५ बिहीबार १९:४८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ढोरपाटन बाढीपीडितलाई नेकपाको साढे १९ लाख सहयोग

Read Time : > 1 मिनेट
२०७७ भदौ २५ बिहीबार १९:४८:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाग्लुङले ढोरपाटन नगरपालिकाको भुजीखोलाका बाढीपीडितलाई साढे १९ लाख सहयोग गरेको छ । गत १७ भदौको बाढीबाट प्रभावितका लागि १९ लाख ५८ हजार रुपैयाँ राहत सहयोग गरेको हो । 

नेकपा बाग्लुङले नेता र कार्यकर्ताबाट स्वफुर्त संकलन गरेको १९ लाख ५८ हजार सात सय ५६ रुपैयाँ बिहीबार ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ । उक्त रकम नेकपा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपाली, बाग्लुङ जिल्ला इन्चार्ज बलावती शर्मा, जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटासहितको टोलीले मेयर देवकुमार नेपालीलाई हस्तान्तरण गरेकाे हाे । 

रकम हस्तान्तरणपछि जिल्ला इन्चार्ज शर्माले पीडितहरूलाई राहत पुग्ने विश्वासका साथ नेता र कार्यकर्ताबाट संकलन गरिएको रकम प्रदान गरिएको बताइन् । बाढीपीडितका लागि जिल्ला पार्टी कार्यालयबाट दुई  लाख आठ हजार रुपैयाँ, ढोरपाटन नगर कमिटीबाट चार लाख ४३ हजार सात सय रुपैयाँ, गल्कोट नगर कमिटीबाट तीन लाख ९२ हजार एक सय ७६ रुपैयाँ, युवा विद्यार्थीबाट दुई  लाख ३५ हजार पाँच सय रुपैयाँ, काठेखोला गाउँ कमिटीबाट एक लाख ६१ हजार रुपैयाँ, बाग्लुङ नगर कमिटीबाट एक लाख ५० हजार रुपैयाँ सहयोग गरिएको नेकपा बाग्लुङका अध्यक्ष सापकोटाले जानकारी दिए । 

त्यसैगरी बडिगाड गाउँ कमिटीबाट ८४ हजार पाँच सय ७५ रुपैयाँ, अखिल नेपाल महिला संघबाट ८२ हजार एक सय ८५ रुपैयाँ, उद्योग–व्यवसायीबाट ५० हजार रुपैयाँ, जैमिनी नगर कमिटीबाट ३० हजार, प्राध्यापक कर्मचारीबाट २६ हजार पाँच सय, १२ ताराखोला गाउँ कमिटीबाट २५ हजार, बरेङ गाउँ कमिटीबाट २५ हजार, निसीखोला गाउँ कमिटीबाट २५ हजार, तमानखोला गाउँ कमिटीबाट २० हजार र मुक्ति समाजबाट पाँच हजार २० रुपैयाँ गरी १९ लाख ५८ हजार सात सय ५६ रुपैयाँ सहयोग संकलन भएकोले उक्त रकम सहयोग गरिएको सापकोटाले बताए । 

बाढीले बस्ती बगाउँदा बिहीबारसम्म २१ जनाको शव फेला परेको छ । अझै १७ जना बेपत्ता छन् । बाढीले ढोरपाटन नगरपालिका– ९ मा ७३ घर पूर्ण रूपमा बगाउँदा चार सय ४६ जना विस्थापित भएका छन् भने वडा नम्बर ८ को १० घर बगाउँदा ७२ जना विस्थापित भएको ढोरपाटन नगरपालिकाका मेयर नेपालीले बताए । बाढीका कारण सडक, विद्यालय, स्वास्थ्यचौकी र जलविद्युतमा पनि क्षति पुगेको छ ।