मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २५ बिहीबार १५:४२:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २५ बिहीबार १५:४२:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरूले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो । क्यानले बुधबार सबैको खातामा रकम जम्मा गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले पारिश्रमिक नेपाल क्रिकेट संघ (क्यान)को खातामा पठाएको थियो । उक्त रकम क्यानले खेलाडीको खातामा जम्मा गरेको क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए । राष्ट्रिय टोलीका खेलाडीहरूले सन् २०१९ पछि आफ्नो नियमित पाउनुपर्ने पारिश्रमिक पाउन सकेका थिएनन् । 

क्यानले नेपाली खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरेको थियो । उनीहरूमध्ये ए श्रेणीमा रहेका खेलाडीले मासिक रु. ४५ हजार, बी श्रेणीमा रहेका खेलाडीले रु. ३५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीले रु. २५ हजार पारिश्रमिक पाएका हुन् । क्यानले यसअघि ए श्रेणीमा रहेकालाई मासिक रु. ३५ हजार, बी श्रेणीमा रहेकालाई रु. २५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीलाई रु. १५ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो । 

आइसिसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले भदौ पहिलो साता २३ जनाको नाम पठाएको थियो । क्यानले पठाएको खेलाडीको सूची क्यान निलम्बन फुकुवा हुनुअघिकै हो । सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आसिसीलाई पठाइएको थियो । यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा खेलाडीको पारिश्रमिक आइसिसीले नै उपलब्ध गराउँदै आएको थियो । 

आइसिसीले सन् २०१८ मा दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकुद परिषद् (राखेप)मार्फत पठाएको थियो । त्यसयता खेलाडीले आफ्नो पारिश्रमिक पाउन सकेका थिएनन् । क्यानले खेलाडीलाई पारिश्रमिकका लागि यसअघि तीन वर्गमा विभाजन गरेको थियो । त्यहीअनुसार नै २१ खेलाडीका लागि आइसिसीले पारिश्रमिक उपलब्ध गराएको हो ।  

ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र विनोद भण्डारी छन् भने बी श्रेणीमा वसन्त रेग्मी, आरिफ शेख, अविनाश बोहरा, पवन सर्राफ, रोहितकुमार पौडेल, सन्दीप जोरा, ललितनारायण राजवंशी र सुसन भारी तथा सी श्रेणीमा रसिद खान, इशान पाण्डे, प्रदीप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल र राजु रिजाल रहेका छन् । 

‘ए’ श्रेणीमा रहेका खेलाडीले एक वर्षको एकमुष्ट रु. पाँच लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले रु. चार लाख २० हजार तथा ‘सी’ श्रेणीका खेलाडीले रु. तीन लाख पाएका छन् । यस्तै टेक्निकल एनालिष्ट रमन सिवाकोटीले पनि ‘सी’ श्रेणीका खेलाडीको बराबर पारिश्रमिक प्राप्त गरेका छन् । रासस