१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २५ बिहीबार ०४:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

६ सय ४९ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाइने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २५ बिहीबार ०४:००:००

कोभिड– १९ संक्रमित बिरामीको उपचार गर्न अस्पताल अभाव भएपछि सरकारले सबै स्थानीय तहलाई पाँच बेडको अस्थायी अस्पताल बनाउन पत्राचार गरेको छ । अस्पताल नभएका स्थानीय तहमा कम्तीमा तीन महिनाका लागि अस्थायी अस्पताल निर्माण गर्न बजेट पनि पठाएको छ । 

आइतबार बसेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठकले अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्न बजेट पठाएको हो । अस्थायी अस्पताल निर्माणका लागि सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ६४ करोड ९० लाख रुपैयाँ पठाएको छ । कुनै पनि सरकारी अस्पतालको सेवा नपुगेका ६ सय ४९ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि कोषले बजेट पठाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रदेश १ का एक सय १९, प्रदेश २ का एक सय २३, बागमती प्रदेशका एक सय तीन, गण्डकी प्रदेशका ७०, प्रदेश ५ का ९२, कर्णाली प्रदेशका ६६ र सुदूरपश्चिम प्रदेशका ७६ वटा स्थानीय तहमा अस्पताल छैनन् । ती सबै स्थानीय तहलाई अस्थायी अस्पताल निर्माणका लागि १०–१० लाख रुपैयाँका दरले बजेट निकासा गरिएको हो । 

समितिको निर्णयबमोजिम मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्दै कोभिड– १९ अस्थायी अस्पताल सञ्चालनसम्बन्धी मार्गदर्शन, २०७७ बमोजिम खर्च गरी प्रगति प्रतिवेदन पठाउन पत्रचार गरेको छ । अस्थायी अस्पताल निर्माणका लागि बजेट प्राप्त गर्नेमा काठमाडौं उपत्यकाकै १४ वटा नगरपालिका र तीन गाउँपालिका पनि छन् । मन्त्रालयले ती अस्पताल व्यवस्थापनमा प्रतिबेड दुई लाखका दरले खर्च गर्ने गरी सम्बन्धित स्थानीय तहलाई दश–दश लाख रुपैयाँ कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत निकासा भइसकेको जनाएको छ ।

मार्गदर्शनअनुसार स्थानीय तहमा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुदायिक भवन वा अस्थायी टहरा निर्माण गरेरसमेत तत्काल कोभिड– १९ को बिरामीको उपचारको व्यवस्थापन गर्नुपर्नेछ । निकासा भएको १० लाख रुपैयाँमध्ये स्थानीय तहले तीन महिनाका लागि पाँच बेडमा पाँच लाख र औषधिका लागि ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । त्यस्तै, एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीका लागि पारिश्रमिकबापत चार लाख ५० हजार रुपैयाँ खर्च गर्न सक्नेछन् । यसबाहेक आवश्यक पर्ने रकम र व्यवस्थापन खर्च स्थानीय तहले आफ्नो कोषबाट खर्च गर्न मन्त्रालयले आग्रह गरेको छ । कार्य प्रगतिका आधारमा तीन महिनापछि थप बजेटसमेत पठाउने मन्त्रालयले आश्वासन दिएको छ । 

११ अस्पताललाई ४० करोड निकासा

कोष सञ्चालक समितिले कोभिड– १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ४० करोड रुपैयाँभन्दा बढी बजेट निकासा गरेको छ । कोषले १० वटा भेन्टिलेटरसहित १४ वटा आइसियू बेड स्थापना र व्यवस्थापनका लागि त्रिवि शिक्षण अस्पताललाई पाँच करोड ७५ लाख रुपैयाँ निकासा दिएको हो । यस्तै, भेन्टिलेटरसहित २० वटा आइसियू बेड स्थापनका लागि नेपाल प्रहरी अस्पताललाई आठ करोड ४० लाख, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीलाई कोभिडसँग सम्बन्धित उपकरण खरिद गर्न एक करोड निकासा गरेको छ । कोभिडसम्बन्धी अनुसन्धानका लागि स्वास्थ्य अनुसन्धान परिषद्लाई दुई करोड र पाँच भेन्टिलेटरसहित १४ वटा आइसियू बेड स्थापनाका लागि धुलिखेल अस्पताललाई दुई करोड ८५ लाख रुपैयाँ निकासा दिएको छ ।

कोषले चौरजहारी अस्पताल र दैलेख अस्पताललाई स्वास्थ्य उपकरण खरिद तथा ल्याब व्यवस्थापनका लागि प्रतिअस्पताल ५०–५० लाख रुपैयाँ दिएको छ । यस्तै, कोभिडका शंकास्पद तथा संक्रमित बिरामीको उपचारका लागि भरतपुर अस्पताललाई दुई करोड ३३ लाख, कान्ति बाल अस्पताललाई एक करोड ५५ लाख, राष्ट्रिय ट्रमा सेन्टरका लागि एक करोड ३५ लाख, भेरी अस्पताललाई एक करोड ६८ लाख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५७ लाख रुपैयाँ बजेट दिएको छ ।