मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ भदौ २४ बुधबार २१:२३:००
Read Time : > 1 मिनेट
ब्लग

योगेशजी यस्तै हो सुखी नेपाली ?

Read Time : > 1 मिनेट
२०७७ भदौ २४ बुधबार २१:२३:००

पछिल्ला थुप्रै आन्दोलनमा गर्जिने केही अनुहारमध्ये एक अनुहार थियो, योगेश भट्टराई  । शिक्षित, स्पष्टवक्ता, मिजासिला, आफ्ना पार्टीका नेता तथा कार्यकर्ताले भन्दा अन्य पार्टीका नेता–कार्यकर्ताले धेरै मन पराउने योगेश भट्टराईबाट जनताको हितमा काम हुने धेरैको अपेक्षा थियो  । 

तर, जसै तपाईंको सत्तारोहण भयो, तपार्इं पनि परिवर्तन हुनुभयो । तपाईंले समेत खाडीका सडकमा बेसहारा भएर रुँदै बसेका अभागी नेपालीको आँसु देख्नुभएन । लकडाउनको समयमा सरकारले कोरोनाको नाममा पाइलैपिच्छे भ्रष्टाचार गरेका समाचार बाहिरिरहे । सबैभन्दा लज्जास्पद त तब भयो, जब तपार्इंले चार्टर्ड विमानको मनपरी भाडादर तय गरिदिनुभयो ।

खाडीका सडकमा भोकै भौँतारिइरहेका युवालाई चार गुणा महँगो भाडा तय गरिदिनु तपाईंले गरेको कति विवेकी काम थियो ? आफैँ मूल्यांकन गर्नुहोला । हावा नचली पात हल्लिँदैन । विदेशमा भएकालाई लत्याउन नसक्नु, विदेशबाट विमान रित्तै फर्काउनु तपाईंको सफलता कि असफलता ? जब यावत् प्रश्न खडा हुन थाले, रक्षामन्त्री पर्यटनमन्त्रीलाई देखाउने, पर्यटनमन्त्री त्यससम्बन्धी केही जानकारी छैन भन्दै पन्छिने शृंखला चले । कोही जवाफदेही देखिएनन् । सबैले आशा गरेका मन्त्रीको यो हालत देखेपछि हाम्रो मन नराम्ररी कँुडिएको छ । 

रेमिट्यान्सका आधारमा देश बलियो बनाउँछु भन्ने तर त्यही स्रोत पठाउनेहरूको कन्तबिजोग देख्न नसक्ने कस्तो विडम्बना ! आर्थिक स्थिति संकटतर्फ जाँदै छ, वैदेशिक ऋण बढ्दै छ । भारी ऋणका कारण मुलुक प्रतिदिन परनिर्भरतामा जाँदै छ । कति दिन हात थापेर देश चलाउने ?  दिनदिनै भ्रष्टचारका नौरंगी नाच देखिँदै जानु, ढिलासुस्ती र अपारदर्शिता राज्यको प्रवृत्ति बन्नु, अमानवीयता र असंवेदनशीलता, सत्तोन्माद र तुच्छता सरकारको शैली बन्नुले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई नै गिज्याइरहेको छ ।

बिचौलियालाई विभिन्न बहानामा राज्यकोशले पोस्ने प्रवृत्तिले देश बन्ला योगश कामरेड ? योगेशजी र घनश्याम भुसालजस्ता आशातित व्यक्तिहरूले चलाएको सरकारको अनुहार, यतिसारो हरिबिजोग, आखिर किन ? १० केजी मलका लागि किसान लाइन बसेको देख्दा तपार्इंहरूलाई हाँस उठ्दो हो कि रुन मन लाग्दो हो ? कि आफ्नै अक्षमतालाई पो देख्नुहुन्छ कि ?