मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ २४ बुधबार १५:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई वर्षमा देशभर विद्युतीकरण हुन्छ : मन्त्री पुन

Read Time : > 1 मिनेट
२०७७ भदौ २४ बुधबार १५:१४:००

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दुई वर्षभित्रमा देशभर पूर्ण विद्युतीकरण हुने बताएका छन् । बुधबार रोल्पाको लिवाङमा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री पुनले आगामी आर्थिक वर्षमा मुलुक नै उज्यालो बनाउने लक्ष्य रहेको बताए ।

उनले देशभर विद्युतीकरणको लक्ष्यसहित कार्यसम्पादन गरिरहेको जानकारी दिए । मन्त्री पुनले यसै वर्ष प्रदेश नम्बर २, ३ र ४ लाई विद्युतीकरण गर्ने र आउँदो आर्थिक वर्षमा प्रदेश नम्बर ५, ६ र ७ लाई विद्युतीकरण गरी दुई वर्षमा मुलुकभर पूर्ण विद्युतीकरण गरिने बताए । पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पुनले ऊर्जा क्षेत्रमा लक्ष्यअनुसार नै प्रगति हासिल गरिरहेकाले दुई वर्षमा नेपाल पूर्ण विद्युतीकरण हुने विश्वास व्यक्त गरे ।

विद्युतका लागि रोल्पामा ५५ करोड
ऊर्जा क्षेत्रमा नेपालले ऐतिहासिक प्रगति गरेको चर्चा गर्दै मन्त्री पुनले आफ्नो निर्वाचन क्षेत्र रोल्पामा विद्युतीकरणका लागि मात्रै ५५ करोड बजेट विनियोजन गरेको बताए । ‘गत वर्ष विनियोजित ४० करोड टेन्डर भएर पनि कार्यान्वयन प्रक्रियामा छ,’ मन्त्री पुनले भने, ‘यो वर्ष १५ करोड विनियोजन गरिएकाले जम्मा ५५ करोड रोल्पामा भित्रिएको छ, यसको सदुपयोग गर्न सबैको निगरानी जरुरी छ ।’ 

जिल्लामा दुई वर्षअघि आठ हजार ग्राहक भएकोमा अहिले २० हजार पुगेको र आउँदो दशैँसम्ममा १८ हजार विद्युतका ग्राहक थपिने मन्त्री पुनले बताए । अहिले एक सय ६७ वटा विद्युत् ट्रान्सफर्मर जिल्लामा आइसकेकाले त्यसको जडान हुनेबित्तिकै रोल्पा पनि पूर्ण विद्युतीकरण हुने विश्वास व्यक्त गरे । 

ठेकेदारको हातमा शासन
बजेट विनियोजनभन्दा कार्यान्वयनको अवस्था निकै अस्तव्यस्त रहेको भन्दै मन्त्री पुनले देशको शासनसत्ता ठेकेदारले चलाएको बताए । ‘पैसा हुने, टेन्डर पनि हुने, तर ठेकेदारले काम नगरिदिँदा राजनीतिक नेतृत्वले समेत तनाव भोग्नुपरेको छ,’ मन्त्री पुनले भने, ‘ठेकेदारले कामै नगरिदिएपछि त्यसको अपजस सत्ता सञ्चालकलाई जान्छ, नेपालमा यस्तै भइरहेको छ, त्यसैले मैले भन्दै पनि आएको छु– नेपालको शासन ठेकेदारको हातमा छ ।’

जिल्लामा आयोजित विभिन्न चार कार्यक्रमलाई सम्बोधन गर्न पूर्वसभामुख ओनसरी घर्तीसहित गृहजिल्ला रोल्पा पुगेका ऊर्जामन्त्री पुनले गृहजिल्लामै रहेका पूर्वसभामुख कृष्णबहादुर महरासँगसमेत भेट गरेका छन् ।