Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २४ बुधबार ११:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निषेधाज्ञा नलम्ब्याउन, तर नाकामा कडाइ गर्न उपत्यकाका २० सांसदको सरकारलाई सुझाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २४ बुधबार ११:३१:००

उपत्यकाका २० सांसदले लकडाउन र निषेधाज्ञालाई निरन्तर कायम नराखी विभिन्न मेला, पर्व, चाडपर्वमा मात्र निषेध गरेर अन्य क्षेत्रमा भने निषेधाज्ञा नगर्न  सुझाब दिएका छन् । साथै उनीहरूले उपत्यकाभित्र छिर्ने नाकामा भने कडाइ गर्न सरकारलाई सुझाब दिएका छन् ।

मंगलबार सांसदहरूले उपप्रधान तथा रक्षामन्त्री ईश्वर  पाेखरेललाई भेटेर यस्ताे सुझाब दिएका हुन् । 

उपप्रधान तथा रक्षामन्त्री पोखरेललाई भेटेर बुझाइएको सुझाबपत्रमा भनिएको छ, ‘लकडाउन र निषेधाज्ञालाई निरन्तर कायम नराखी विभिन्न मेला, पर्व, चाडपर्वअघि मात्रै आवश्यकताअनुसार कायम राख्ने । तर, नाकाबाट हुने आवतजावतलाई कडाइ गर्ने र त्यसको अनुगमन गर्नुपर्दछ ।’

सांसद भीमसेनदास प्रधान भन्छन्, ‘सधैँ लकडाउन, निषेधाज्ञा गरेर मात्रै हुँदैन । मान्छेहरूको बेहाल भइसक्यो । चाडपर्व, जात्राहरूमा निषेधाज्ञा गर्नुपर्छ । अरूवेला त डब्ल्युएचओको मान्यताअनुसार निगरानी गरे हुन्छ नि ! सीमाहरूमा कडाइ गर्दा भयो ।’

त्यस्तै, कोभिड र अन्य अस्पताल छुट्टाछुट्टै रूपमा तोकिनुपर्ने उनीहरूको सुझाब छ । संक्रमित हो कि हाेइन भनेर पत्ता लगाउन लिइने स्वाब टेस्टको रिपोर्ट २४ घन्टाभित्रै दिने व्यवस्था मिलाउन पनि सांसदहरूले सुझाब दिएका छन् ।

सुझाबपत्रमा भनिएको छ, ‘काठमाडौंका ३२ वटै वडास्तरमा कन्ट्याक्ट ट्रेसिङको व्यवस्था स्थानीय सरकारमार्फत मिलाउनुपर्दछ ।’

लकडाउन तथा निषेधाज्ञाका कारण प्रभावित हुने विपन्न तथा अतिविपन्न परिवारका लागि सरकारको तर्फबाट आवश्यक राहतको व्यवस्था गर्न पनि उनीहरूको सुझाब छ ।

अस्पतालहरूमा स्वास्थ्यकर्मीलाई संक्रमण हुने सम्भावना प्रबल रहेकाले काठमाडौंमा रहेका होटेलहरू ६ महिनाका लागि भाडामा लिएर आवास र खानपिनको व्यवस्था गर्न पनि उनीहरूले सुझाब दिएका छन् ।