Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवीन अर्याल
२०७५ माघ २० आइतबार ०८:५८:००
Read Time : > 3 मिनेट
फिचर

युरोपका नेपाली होटेल टाइकुन  

Read Time : > 3 मिनेट
नवीन अर्याल
२०७५ माघ २० आइतबार ०८:५८:००

युरोपका ११ सहरमा उनका २१ होटेल छन् । तीनवटा चाँडै खुल्दै छन् । जर्मनीमा मात्र नौ सहरमा होटेल खोलेका छन् । बेल्जियम र स्विट्जरल्यान्डमा पनि एक–एकवटा छन् । बेल्जियमकै अर्को सहरमा एक वर्षभित्र दोस्रो होटेल सञ्चालनमा आउँदै छ । 

दुई दशकअघि युरोप छिर्दा कुमार पन्तको योजना पढ्ने र सानोतिनो काम गर्ने मात्र थियो । अथवा, विदेशी युनिभर्सिटीको प्रमाणपत्र बोकेर स्वदेशमै राम्रो जागिर खाने सपना थियो । यही सपना पछ्याउँदै उनी ग्रिसको एथेन्स पुगे । त्यहाँ पढ्दै काम गर्दै जाँदा उनको बाटो मोडियो । अनि बने, ‘होटेलियर’ ।

कुमारको होटेल यात्रा सन् २००६ बाट सुरु भयो । उनले पहिलोपटक जर्मनीको फ्र्यांकफर्टमा एभरेस्ट होटेल खोलेका थिए । त्यसयता १२ वर्षमा २४ होटेल पुर्‍याइसकेका छन् । जर्मनीको फ्र्यांकफर्टमा उनका १३ वटा होटेल छन् । जर्मनीकै डुफिलड्रफ, क्रेफेल्ड, एसन, बर्लिन, ज्युरिच, बेस्लर, माइन्सलगायत सहरमा होटेल फैलिसकेका छन् । स्विट्जरल्यान्डमा गत जुनदेखि सञ्चालनमा आएको छ । बेल्जियमको आन्ट्रोप सहरपछि सोर्लोहीमा पनि खोल्दै छन् । ‘हामीसँग करिब १५–१६ सय कोठा पुगिसकेको छ,’ कुमार सुनाउँछन्, ‘हाम्रो लामो यात्रा जारी छ ।’ कुमारले साझेदारीमा होटेल विस्तार गरिरहेका छन् । उनका प्रमुख साझेदार गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने हुन् । 

होटेलको जागिरले बनायो व्यवसायी 
कुमारका सुरुका दिन पक्कै सजिला थिएनन् । घरबाट लगेको पैसाले केही दिन मात्र पुगेको थियो । उनी सुरुवाततिर दिउँसो कलेज पढ्थे, राति होटेलमा ड्युटी गर्थे । सोझो नेपाली गाउँले ठिटो । मिहिनेती र इमानदार । कुमारप्रति होटेल साहु पनि प्रभावित रहेछ । सो होटेलमा म्यानेजरको अभाव खड्कियो । साहुले कुमारको इमानदारिता र मिहिनेत देखेर म्यानेजर बनाई होटेलको जिम्मेवारी सुम्पियो । त्यो समय उनले तीनवटा होटेल हेर्थे । 

‘मैले साहुलाई होटेल चलाउन सहयोग पनि गरेँ, आफू पनि काम सिक्दै गएँ,’ कुमार सम्झन्छन्, ‘हस्पिटालिटी बिजनेस बडो इन्ट्रेस्टिङ रहेछ, अथाह सम्भावना पनि, आफ्नै होटेल चलाउने उत्साह र आँट आइहाल्यो ।’ एउटा नेपालीलाई युरोपमा होटेल खोल्न कहाँ सजिलो थियो र ! होटेल चलाउन ठूलो लगानी चाहिने हुनाले कहिलेकाहीँ सानो मान्छेले ठूलो सपना देख्नु हुँदैन झैँ पनि लाग्थ्यो । त्यतिवेला फ्र्यांकफर्टमा अफगानी, पाकिस्तानी, चाइनिज, कोरियनहरूले होटेल चलाइरहेका थिए । 

१२ वर्षअघिको कुरो हो । एकजना ब्रोकरको माध्यमबाट १० वर्षका लागि घर भाडामा लिएर एभरेस्ट होटेल सुरु गरे । एभरेस्ट खोलेको चार वर्षपछि ‘गोथे होटेल’ खोले । लगत्तै अर्को गोथे अपार्टमेन्ट होटेल थपे । होटेल राम्रोसँग चल्न थाले । एकपछि अर्को होटेल थप्दै जाने महत्वाकांक्षा बढ्दै गयो । उनी ‘लङ रेस’ उत्रिएका छन् । अब उनको यात्रा युरोप, अमेरिका हुँदै एसियाली मुलुकसम्म फैलिने तरखरमा छ । डेढ वर्षभित्र ५० होटेल पुर्‍याउने लक्ष्य छ । 

जीवा लामिछानेसँग साझेदारी
कुमारका प्रमुख साझेदार चर्चित व्यवसायी तथा लेखक जीवा लामिछाने हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियानमा दौडिँदा कुमारले जीवालाई नजिकबाट चिन्ने मौका पाए । उनी होटेल बिजनेससँगै एनआरएनको राजनीतिमा पनि सक्रिय छन् । 

कुमारको होटेल यात्रा सन् २००६ बाट सुरु भयो । उनले पहिलोपटक जर्मनीको फ्र्यांकफर्टमा एभरेस्ट होटेल खोलेका थिए । त्यसयता १२ वर्षमा २४ होटेल पुर्‍याइसकेका छन् । जर्मनीको फ्र्यांकफर्टमा मात्रै उनका १३ वटा होटेल छन् ।

त्यतिवेला जीवा मस्कोमा व्यवसाय गरिरहेका थिए । होटेलमा साझेदारी गर्न कुमारले नै प्रस्ताव राखे । ‘मैले चारवटा होटेल पु¥याएपछि उहाँ जोडिन आइपुग्नुभयो,’ कुमार सुनाउँछन्, ‘फ्र्यांकफर्टमा खोलिएको पाँचौँ होटेल ‘होस्टर हफ’मार्फत हाम्रो साझेदारी सुरु भयो ।’ लगत्तै खोलिएको होटेल गोथे बिजेसमा शेष घले पनि साझेदार बन्न आइपुगे । घलेसँगको साझेदारी एउटै होटेलमा सीमित भयो । तर, कुमार र जीवाको साझेदारी गज्जबै जमिरहेको छ । कुमारले जीवालाई अघिल्ला चारवटा होटेलमा पनि साझेदार बनाएका छन् । 

कुमारको साझेदारी जीवा र शेषसँग मात्र सीमित छैन । हरेक खुड्किलामा नयाँ साझेदार जोडिन आइपुग्छन् । होटेलमा लगानी गर्नु मात्र ठूलो कुरो होइन । होटेललाई राम्रोसँग चलाउनु झन् ठूलो कुरो हो । उनको रणनीति छ, कोही विश्वासिलो, इमानदार र मिहिनेती व्यक्ति भेटिए होटेलको केही प्रतिशत सेयर दिएर साझेदार बनाई होटेलको जिम्मेवारी सुम्पिने । 

पछिल्लो समय नेपाली समुदाय बिजनेसप्रति बढी आकर्षित देखिएको हुनाले यो रणनीति बढी उपयोगी देखिएको हो । ‘हामीले धेरै होटेलमा म्यानेजरलाई मालिक बनाउँदै गइरहेका छौँ,’ कुमार थप्छन्, ‘त्यो होटेलबाट कमाएको पैसा हाम्रो अर्को नयाँ होटेलमा पनि सेयर लगानी गर्न दिन्छौँ ।’ अहिलेसम्म नेपाली मात्र पार्टनर बनेका छन् । इमानदार र मिहिनेती 
विदेशी भेटिए पार्टनर बनाउन तयार छन् । 

चेन ब्रान्ड ‘थ्री पिन’
होटेलको संख्या बढ्दै गएपछि चेन ब्रान्ड बनाउने सोच आयो । अनि जन्मियो, ‘थ्री पिन’ ब्रान्ड । कुमार र जीवाका सम्पूर्ण होटेल ‘थ्री पिन’को छाताभित्र समेटिएका छन् । यही ब्रान्डबाट होटेल विस्तार भइरहेको छ । कुमार भन्छन्, ‘यो ब्रान्ड वल्र्डवाइड गराउने लक्ष्य हो ।’ सबै होटेलको कारोबार एउटै सिस्टममा एकीकृत गरेका छन् । उनी थप्छन्, पहिला होटेल छुट्टाछुट्टै व्यवस्थापनमा चल्थे, अहिले एउटै व्यवस्थापनबाट चलिरहेका छन् । नेपालमा पनि ढिलोमा दुई वर्षभित्र ‘थ्री पिन’ भित्रिने उनले बताए । होटेल खोल्न उपयुक्त ठाउँ खोजी भइरहेको छ । उनका पार्टनर जीवाले भने नेपालमा होटेल खोलिसकेका छन् । 

कुमार होटेल बिजनेसका लागि युरोपका हरेक सहरमा सम्भावनैसम्भावना देख्छन् । चेक रिपब्लिक, नेदरल्यान्ड, बेल्जियमको ब्रसेल्स, फ्रान्सको पेरिस, स्विट्जरल्यान्डको जेनेभा, इटालीको रोम, बेलायतको लन्डन ठूलो सम्भावना भएका ठाउँ हुन् । थ्री पिनले पर्यटकीय होटेल चलाउँदैन, सहरमा बिजनेस होटेल चलाउँछ । कुमारको बुझाइमा पर्यटकीय होटेल मौसमी हुन्छन्, बिजनेस होटेलहरू बाह्रै महिना चकाचक चल्छन् । 

कुमारको प्राथमिकता पाँचतारे होटेल होइन । उनका सबै होटेल थ्री स्टार र फोर स्टार हुन् । कुमारको बुझाइमा पाँचतारे होटेल नाफादायी हुँदैन । तर पनि एउटा पाँचतारे होटेल चलाउने योजना छ । अहिले उनी न्यूनतम २४ कोठादेखि अधिकतम एक सय ४७ कोठासम्मको होटेल चलाइरहेका छन् । 

अनि खुल्न थाले नेपालीका होटेल
कुमारले होटेल खोल्नुअघि जर्मनीमा नेपालीहरू होटेल व्यवसायमा लागेको देखिँदैनथ्यो । नेपालीले चलाएका रेस्टुरेन्ट भने छिटपुट देखिन्थे । कुमारले युरोपमा होटेल सुरु गर्दा विदेशमा रहेका नेपाली त्यति होटेल चलाउँदैनथे । नेपालीको प्राथमिकतामा जागिर नै पथ्र्यो । जब कुमारले होटेल खोले, एकपछि अर्को थप्दै गए । जब कुमारका हरेक होटेल सफल हुँदै गए, तब विदेशमा रहेका नेपालीले हस्पिटालिटीमा सम्भावना देख्न थाले । 

‘विदेशमा होटेलको सुरुवात हामीले नै गरेको हो, त्यसपछि नेपालीका थुप्रै होटेल खुलिरहेका छन् र प्रायः कोही पनि असफल भएका छैनन्,’ कुमार भन्छन्, ‘युरोपभरि नेपालीका होटेल देखिन्छन् ।’ कतिपय कुमारकै होटेलबाट काम सिकेर होटेलका मालिक पनि बनेका छन् । कतिपयलाई कुमारले नै होटेलमालिक बनाइसकेका छन् ।