मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २३ मंगलबार १६:०३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

केही दिन वर्षाको क्रम बढ्ने, बाढीपहिरोको सम्भावना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २३ मंगलबार १६:०३:००

आजदेखि तीन दिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आजदेखि तीन दिन नै मौसम बदली भई ठाउँठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

उनका अनुसार प्रदेश नं. १ देखि प्रदेश नं. ५ सम्म नै मौसम बदली भइरहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा औसतभन्दा केही माथि नेपालनजिक (उत्तरतर्फ) सरेको र स्थानीय वायुको पनि प्रभाव रहेको विभागले जनाएको छ । आज बिहान तनहुँको स्याम्घा केन्द्रमा भारी वर्षा मापन भएको र थप पर्षा हुने देखिएकाले मादीलगायत साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै बिहान उदयपुर जिल्लाको उदयपुरगढी केन्द्रमा पनि भारी वर्षा मापन भएको र थप वर्षा हुने देखिएकाले त्रियुगालगायत साना नदीमा आकस्मिक बाढी हुने सम्भावना छ । त्यसको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्क रहन अनुरोध गरिएको छ । आज कोसी र नारायणी जलाधारका केही ससाना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने जनाइएको छ । यस्तै कन्काई, कमला, बागमतीका ससाना नदीको जलाधारमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने जनाइएको छ ।

मौसमविद् कँडेलका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत मौसम बदली हुन थालेको छ । यसपटक भने प्रदेश १ देखि प्रदेश ५ सम्म बढी बदली हुने उनले बताए । केही स्थानमा भारी वर्षा हुने भएकाले पहिरो र बाढीको जोखिम हुने जानकारी दिँदै उनले सावधानी अपनाउन अनुरोध  गरे । रासस