मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ २३ मंगलबार ०४:०५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नि:शुल्क दिनुपर्ने रेम्डेसिभिरमा पैसा असुल्दै अस्पताल

Read Time : > 3 मिनेट
२०७७ भदौ २३ मंगलबार ०४:०५:००

कोरोना उपचारमा आयुर्वेदिक औषधि ‘एसटी’को क्लिनिकल ट्रायल सुरु

कोभिड– १९ को उपचारमा प्रभावकारी मानिएको औषधि रेम्डेसिभिरको ‘क्लिनिकल ट्रायल’मा अस्पतालहरूले बिरामीबाट पैसा असुल गरिरहेका छन् । सरकारले प्लाज्मा थेरापी सुरु गरेका कोभिड अस्पतालहरूमा निःशुल्क रेम्डेसिभिर प्रयोग गर्ने निर्णय गरे पनि निजी तथा सरकारी अस्पतालले बेच्ने गरेका छन् । 

सरकारले अस्पतालहरूलाई भनेको छ, ‘बिरामीको अवस्था हेरेर रेम्डेसिभिर किनेर दिनुहोस्, त्यसमा लागेको खर्च हामी व्यहोर्नेछौँ ।’ सरकारले रेम्डेसिभिरको पैसा दिन्छ भन्नेमा अस्पतालहरू विश्वस्त छैनन् । त्यसैले क्लिनिकल ट्रायलमा रहेको रेम्डेसिभिर आफूले किनेर बिरामीलाई बेच्ने गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख डा. सागर राजभण्डारीले आफूहरूले खरिद गरेकै मूल्यमा बिरामीलाई बेचेको बताए । ‘रेम्डेसिभिर प्रयोग गरेको पैसा स्वास्थ्य मन्त्रालय वा एनएचआरसी कसले दिने हो अहिलेसम्म यकिन भएको छैन,’ डा. राजभण्डारीले भने, ‘बिरामी बचाउनु चिकित्सकको दायित्व भएकाले हाम्रा बिरामीलाई आफैँले किनेर बेचेका छौँ ।’ 

‘क्लिनिकल ट्रायल’मा रहेको औषधि प्रयोग गर्न निःशुल्क उपलब्ध हुन्छ । बरु औषधि उत्पादक कम्पनीले सम्बन्धित देशको अनुसन्धान संस्थालाई ठूलो रकम उपलब्ध गराउँछ । तर, यो रेम्डेसिभिरको क्लिनिकल ट्रायलमा भने सरकारले नै बिरामीलाई ठगिरहेको छ । अस्पतालले सप्लायर्ससँग प्रतिभाइल ६ हजार चार सय रुपैयाँमा रेम्डेसिभिर खरिद गर्दै आएका छन् । आफ्नो फार्मेसीमार्फत खरिद गर्ने र लागेकै मूल्यमा बिरामीलाई बेच्ने गरेका छन् । टेकु अस्पतालका प्रमुख डा. राजभण्डारीले भने, ‘हामीले बिरामीलाई खर्चको बिल राख्न भनेका छौँ, यदि सरकारले रकम उपलब्ध गराएको खण्डमा उनीहरूको बिलअनुसारको रकम फिर्ता गर्छौँ ।’ टेकु अस्पतालमा अहिले १९ जनाले रेम्डेसिभिरको प्रयोग गरिरहेका छन् । 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य मन्त्रालयको विश्वास गर्न नसकेपछि रेम्डेसिभिरको प्रयोग गरेको छैन । अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार आफैँले किनेर बिरामीलाई निःशुल्क दिनुपर्ने भएपछि अस्पतालमा प्रयोग नगरिएको हो । मन्त्रालयले आवश्यक रकम दिएको खण्डमा मात्रै बिरामीलाई रेम्डेसिभिर चलाउन सकिने डा. दासले बताए । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक अनुसन्धानकर्ताका अनुसार रेम्डेसिभिर निजी अस्पताललाई प्रयोग गर्न सहज हुने गरी स्वास्थ्य मन्त्रालयले आयात अनुमति दिएको थियो । ‘सरकारको आपतकालीन भ्याक्सिन प्रयोगबारे कुनै नीति–नियम छैन,’ उनले भने, ‘नीति–नियम नभएपछि जबर्जस्त अनुसन्धानको नाममा छिराएको हो ।’

निजी अस्पतालले रेम्डेसिभिरको प्रयोगमा चर्को मूल्य लिने गरेका छन् । ह्याम्स, नेपाल मेडिसिटी, नर्भिक, ग्रान्डी, स्टारलगायतका अस्पतालमा समेत यसको प्रयोग भएको छ । जति पनि अस्पतालले रेम्डेसिभिर प्रयोग गरेका छन्, उनीहरूले बिरामीलाई नै खरिद गर्न लगाएका छन् । 

अनुसन्धान परिषद्का सदस्यहरूले पनि निजी तथा सरकारी दुवै अस्पतालहरूले रेम्डेसिभिर प्रयोगमा बिरामी ठगिरहेको बताए । रेम्डेसिभिर खरिद गर्ने सप्लायर्सहरूले पनि निजी अस्पतालले चर्को मूल्यमा खरिद गरिरहेको बताए । एक सप्लायर्स भने, ‘कतिपय अस्पतालले त बजार मूल्यभन्दा बढी तिरेर किनिरहेका छन् । त्यसका लागि नेतादेखि मन्त्रीसम्मले उपलब्ध गराउन भन्ने गरेका छन् ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई कहाँ कसरी औषधिको ट्रायल भएको छ केही जानकारी छैन । परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले रेम्डेसिभिरबारे औषधि व्यवस्था विभागलाई जानकारी हुने बताए । परिषद्का अनुसार अहिलेसम्म ७० जनालाई रेम्डेसिभिर औषधि दिइएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अहिलेसम्म दुई हजार सात सय भाइल रेम्डेसिभिर नेपाल भित्रिएको बताए । यो औषधिको अवस्थाबारे स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बेखबर छन् । 

अनुदानमा आएको मात्रै वितरण गर्ने तयारी 

सरकारले अनुदानमा आएको रेम्डेसिभिर मात्रै अस्पतालहरूमा ट्रायलका रूपमा वितरण गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बंगलादेशबाट पाँच हजार भाइल रेम्डेसिभिर मगाएका छन् । तर, यो औषधि पनि एक हप्तादेखि बंगलादेशस्थित नेपाली राजदूतावासमा अड्किएको छ । नेपाल ल्याउने साधन नभएकाले त्यही अड्किएको डा. पोखरेलले बताए । विमानले निकै महँगो मूल्य भनेपछि मन्त्रालयले कसरी औषधि ल्याउने भन्नेमा निर्णय लिन सकेको छैन । डा. पोखरेलका अनुसार पाँच हजार भाइल रेम्डेसिभिर आएपछि अस्पतालहरूलाई वितरण गरिनेछ । 

कोभिड उपचारमा आयुर्वेदिक औषधि ‘एसटी’को ट्रायल सुरु 

कोरोना भाइरस संक्रमितको उपचारका लागि आयुर्वेदिक औषधि ‘एसटी’ परीक्षण गर्न अनुमति मिलेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले औषधिलाई परीक्षण गर्न अनुमति दिएको हो । आयुर्वेद व्यवस्था विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आधिकारिक रूपमा अनुसन्धान परिषद्बाट स्वीकृत लिएर ट्रायल थालिएको बताए । एसटी मधु अर्थात् गाउँमा पाइने जेठीमधु र त्रिकटुको सम्मिश्रणबाट औषधि बनाइएको छ ।

परिषद्का सदस्यसचिव डा. ज्ञवालीले पनि यो औषधि परीक्षणको अनुमति पाइसकेको बताए । डा. ज्ञवालीले भने, ‘कोभिडका लागि रेम्डेसिभिर र आयुर्वेदिक औषधि एसटीको क्लिनिकल ट्रायल सुरु भएको छ । हामी त्यसको प्रभावकारिता अध्ययन गरेर जुन औषधिले बिरामीलाई बढी काम ग¥यो, त्यही चलाउन मन्त्रालयलाई सिफारिस गर्छौँ ।’ उनका अनुसार ‘एसटी’को प्रयोग सामान्य लक्षण देखिएका संक्रमितमा गरिनेछ । त्यसपछि लक्षण र अस्पताल बसाइ कति घट्यो, त्यो हेरिनेछ । साथै रगतमा केही परिवर्तन आए–नआएकोसमेत जाँच गरिने उनले बताए । 

एसटी मधु र त्रिकटु प्रयोग 

विभागका महानिर्देशक डा. उपाध्यायका अनुसार एसटी मधु अर्थात् जेठीमधु र त्रिकटुको मिश्रण गरी तयार गरिएको यो आयुर्वेदिक औषधि कोरोना संक्रमितलाई दिइने गरेको छ । ‘यो औषधि चियाका रूपमा बिहान–बेलुका पकाएर खाने हो । यही औषधिबाट कैयौँ बिरामी निको भएर चाँडै डिस्चार्ज भएका छन्,’ उनले भने, ‘तर, अन्य देशलाई देखाउन र बुझाउन क्लिनिकल ट्रायल नै गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले हामीले अनुमति लिएर परीक्षण थालेका हौँ ।’ 

अहिले राष्ट्रिय अनुसन्धान परिषद्मार्फत तीन प्रकारका आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल भइरहेको छ । कोरोना संक्रमित व्यक्तिलाई कति चाँडो नेगेटिभ रिपोर्ट आउँछ, लक्षण देखिएको व्यक्तिलाई गम्भीर अवस्थामा पुग्नबाट कति रोक्न सक्यो र २८ दिनसम्म नियमित औषधि खुवाएर शरीरमा एन्टिबडी बनाउँछ कि बनाउँदैन भनेर हेर्ने गरिएको छ । 
 
अहिलेसम्म के देखिएको छ ?

आयुर्वेद अनुसन्धान परिषद् कीर्तिपुर, प्रदेश ५ को एन्फा एकेडेमी, नवलपरासीको रजहरमा आयुर्वेद चिकित्सकको जिम्मामा संक्रमित राखिएको छ । त्यहाँ राखिएका सबैको उपचार आयुर्वेदिक पद्धति जेठीमधु र त्रिकटुको माध्यमबाट भएको छ । 

महानिर्देशक डा. उपाध्यायका अनुसार एसटी मधु र त्रिकटु प्रयोगले संक्रमित निको हुनेदर छिटो छ । ९० प्रतिशत संक्रमित सात दिनभित्र निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आयुर्वेदिक औषधिको प्रयोग नभएका संक्रमितको निको हुने औसत दर ११ दिन रहेको छ । 

संक्रमित व्यक्ति गम्भीर अवस्थामा पुग्ने दर ज्यादै कम देखिएको छ । हालसम्म करिब तीनजना मात्रै अस्पताल रिफर गर्नुपरेको उनले बताए । ‘धेरैजसो लक्षण भएकालाई पनि एसटी मधु र त्रिकटु मिश्रित औषधि खुवाएरै गम्भीर अवस्थामा पुग्नबाट रोकेका छौँ,’ उनले भने ।

कोरोनाबाट तीन सयको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने नौ सय ७९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या तीन सय पुगेको छ भने संक्रमितको संख्या ४७ हजार दुई सय ३६ पुगेको छ । 

सोमबारसम्म ३० हजार ६ सय ७७ जना निको भएका छन् । संक्रमितमध्ये सात हजार एक सय ९० जना घरमै र नौ हजार ६९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले बताए ।