मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ २२ सोमबार २१:४४:००
Read Time : > 1 मिनेट
प्रदेश

सखुवाका काँचा रूख कटान प्रकरण :  धरानका मेयरलाई जोगाउन वन उपभोक्ता समूह विभाजित

Read Time : > 1 मिनेट
२०७७ भदौ २२ सोमबार २१:४४:००

धरान उपमहानगरपालिका– २० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समूहको वनमा १३ भदौमा सखुवाका काँचा रूख काटेको घटनामा संलग्न भनिएका मेयर तिलक राई जोगाउन वन समूह नै विभाजित बनेको छ ।

समूहका अध्यक्ष बुद्धिमान तामाङले मेयर राई र समूहका कोषाध्यक्ष भीम बस्नेतको प्रत्यक्ष संलग्नतामा सखुवाका रूख काटिएको आरोप लगाएका थिए । यद्यपि, समूहका उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र एक सदस्यले अध्यक्ष तामाङको भनाइ खण्डन गर्दै आएका छन् । बाँकी तीन सदस्यले पनि रूख काट्न समूहको संलग्नता नरहेको र कसले काट्यो भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन् । तीनथरी मतसहितको वन समूहको निर्णय आइतबार साँझ ५ बजे सबडिभिजन वन कार्यालय, विष्णुपादुकामा बुझाइएको छ । सोही पत्रका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइने सबडिभिजन वन कार्यालय प्रमुख राजेन्द्रप्रसाद यादवले बताए । 

यसअघि समूहका अध्यक्ष तामाङले मेयर राई र वन समूहका कोषाध्यक्ष भीम बस्नेतको संलग्नतामा रूख काटिएको उजुरी सबडिभिजनमा दर्ता गराएका थिए । राई र बस्नेतसहित रूख काट्न खटिएका धरान– ८ का शेरबहादुर तामाङ, धरान– १९ का गजेन्द्र लिम्बू, रामबहादुर तामाङ र रामप्रसाद मगरविरुद्ध अध्यक्ष तामाङले किटानी उजुरी दिएका हुन् । चार युवालाई मेयर राईले को.१ज ६४० नम्बरको स्कार्पियो गाडीमा राखेर सामुदायिक वनमा पुऱ्याएको उजुरीमा उल्लेख छ ।

मेयर राईले भने घटनामा सम्लग्नता नरहेको दाबी गर्दै आएका छन् । तर, काठैकाठको घर बनाउने उद्देश्यले रूख काट्न सामुदायिक वनमा पुगेको आवाजसहितको मेयर राईको अडियो यसअघि सार्वजनिक भएको थियो । अध्यक्ष तामाङको उजुरीका आधारमा सबडिभिजन वन कार्यालयले घटनाको यथार्थ जानकारी गराउन उपभोक्ता समूहलाई १६ भदौमा लिखित निर्देशन दिएको थियो ।

मेयर राईका निकटस्थ व्यक्तिहरूले यो प्रकरण मिलाउन चर्को दबाब दिएको अध्यक्ष तामाङले बताए । ‘मेयरको संलग्नतामा रूख काटिएको छ, कसरी तस्करले काटेको भन्न सकिन्छ,’ तामाङले भने, ‘सत्य कुरा मैले मिडियामा सार्वजनिक गरिसकेको छु । मेरो बोली फेरिँदैन । यस्ता अपराधमा कसैलाई जोगाउन सकिँदैन ।’

मेयर राईले भने आफूले रूख काट्न निर्देशन नदिएको, आफू वन क्षेत्रमै नगएको र चरित्रहत्या गरिएको दाबी गर्दै विज्ञप्ति जारी गरेका थिए । अडियो रेकर्डका विषयमा उनले घर बनाउन काठ माग गर्दै निवेदन दिएको र ढलापला खोज्न कोषाध्यक्षसँगै वनमा गएकोलगायत कुराकानी सार्वजनिक भएको थियो ।

विद्युतीय आरा प्रयोग गरी १२ थान सालको रूख काटेर टुना निकासी गर्ने अवस्थामा बरामद भएको थियो । पक्राउ परेका चार कामदारले आफूहरू ज्याला मजदुरीमा आएको बयान दिएको अध्यक्ष तामाङको उजुरीमा उल्लेख छ ।

घटनाबारे जिल्ला वन कार्यालयमा प्रतिवेदन पठाएको सबडिभिजन वन कार्यालय प्रमुख यादवले बताए । वन समूहले घट्नाबारे जानकारी पत्र पठाएपछि सोमबार जिल्ला वन कार्यालय सुनसरीले अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालेको छ । सबडिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत यादवलाई अनुसन्धान अधिकृत तोकिएको जिल्लाका डिएफओ ज्ञानकुमार लामाले बताएका छन् ।