Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एयरपोर्टमा ग्राउन्डेड गरिएको चिनियाँ जहाज । फाइल तस्बिर, नयाँ पत्रिका
केदार दाहाल काठमाडौं
२०७७ भदौ २० शनिबार १०:१२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

९ अर्बमा आन्तरिक उडानलाई  पाँच जहाज खरिद गर्ने निगमको तयारी

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ भदौ २० शनिबार १०:१२:००

६ वटा चिनियाँ जहाज नचलाउने निर्णय गरेको निगमले दुईवटा एटिआर–७२ र तीनवटा ट्विनअटर जहाज खरिद गर्ने

नेपाल वायुसेवा निगमले आन्तरिक उडान गर्ने पाँच थान जहाज खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । चिनियाँ ६ थान जहाज नचलाउने निर्णय गरेको निगमले नयाँ पाँच थान जहाज खरिदको तयारी गरेको हो । निगम व्यवस्थापनले दुई थान एटिआर ७२ सिरिज र तीन थान ट्विनअटर जहाज खरिद गर्ने गरी व्यावसायिक योजना तयार पारेको छ । 

निगमका नायब महाप्रबन्धक गणेशचन्द्र ठाकुरको संयोजकत्वमा गठित समितिले पाँच थान जहाज खरिदका लागि अनुमानित ९ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक योजना बनाएको छ । सोही व्यावसायिक योजनाअनुसार निगम सञ्चालक समितिले जहाज खरिद प्रक्रिया अगाडि बढाउने भएको हो । 

केही समयअघि अनौपचरिक प्रस्ताव पठाएको निगम व्यवस्थापनलाई अर्थ मन्त्रालयले व्यावसायिक योजना ल्याएपछि मात्रै प्रक्रिया अगाडि बढाउने जनाउ दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निगमसँग आन्तरिक उडानमा ४० वर्ष पुराना जहाज रहेको भन्दै नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेका छन् । 

अर्थ मन्त्रालयको सुझाबअनुसार निगमले आन्तरिक उडानका लागि नयाँ जहाज खरिद गर्न व्यावसायिक योजना तयार पारेको निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताए । उनले भने, ‘निगमले व्यावसायिक योजना बनाएर ल्याउनु भनेपछि आन्तरिक रूपमा तयार पारेको र केही समयपछि सञ्चालक समितिमार्फत अगाडि बढाउनेछौँ ।’

निगमले आन्तरिक उडानका लागि एटिआर ७२ दुई थान र तीन थान ट्विनअटर जहाज खरिद गरी उडान गरेर आन्तरिक भाडालगायतका विषयमा हस्तक्षेप गर्ने योजना बनाएको घिमिरे बताउँछन् । विगतमा दुर्गम क्षेत्रमा निगमको एकछत्र राज रहेको थियो । तर, जहाज पुराना हुँदै गएपछि दुर्गममा पनि निगमको उडान खुम्चिएको दशक भइसकेको छ । यता सुगम क्षेत्रमा उडान गर्ने जहाज नै निगमसँग छैन । 

अहिले निगमसँग चिनियाँबाहेक ३ थान ट्विनअटर जहाज रहे पनि दुई थान मात्रै चालू अवस्थामा छन् । दुर्गममा सेवा दिन निगमसँग जहाज आवश्यक छ ।  त्यस्तै, निगम सञ्चालक समितिले निगमको चुक्ता पुँजी ५० अर्ब पुर्‍याउने प्रस्तावसमेत सँगै गरेको छ । हाल निगमको सम्पत्ति ५४ खर्ब रहे पनि चुक्ता पुँजी ३३ करोड मात्रै रहेको छ । ‘चुक्ता पुँजी थप्नुको विकल्प छैन, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयले यसमा सहयोग गर्नेमा आशावादी रहेका छौं,’ अध्यक्ष घिमिरेले भने । 
निगमसँग अन्तर्राष्ट्रिय उडानमा एयरबस ३३०–२०० सिरिजका दुई थान वाइडबडी, एयरबस ३२०–२०० सिरिजका दुई थान न्यारोबडीसहित चार थान जहाज रहेका छन । चार थान जहाजमार्फत अन्तर्राष्ट्रिय ९ वटा गन्तव्यमा उडान गर्दैै आएको छ । 

चिनियाँ जहाजको निर्णय अर्थको रायपछि
नेपाल वायुसेवा निगम व्यवस्थापनले ६ थान चिनियाँ जहाज चलाउन नसक्ने भन्दै निर्णयका लागि पर्यटन मन्त्रालय पठाएको विषयमा राय मागका लागि अर्थ मन्त्रालय पठाइएको छ । सरकारको अनुदान र सरल ऋणमा किनिएका जहाज भएकाले अर्थ मन्त्रालयको रायपछि मात्रै निर्णय गर्ने भन्दै पठाइएको हो । 

निगमले १५ साउनदेखि उडान गर्न नसक्ने भन्दै सञ्चालक समितिबाट निर्णय गराएर पर्यटन मन्त्रालय पठाएको थियो । ‘पर्यटनले मात्रै निर्णय गर्न नसकिने भएकाले अर्थ मन्त्रालयको सहमतिका लागि पठाइएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने । मन्त्री भट्टराईका अनुसार अर्थ मन्त्रालयले दिने रायअनुसार चिनियाँ जहाजका विषयमा थप निर्णय हुनेछ । 

निगम व्यवस्थापनले जहाज नेपाल ल्याएको ६ वर्षपछि उडान गर्न नसकिने निष्कर्ष निकाल्दै सबै ग्राउन्डेड गर्ने निर्णय गरेको थियो । ६ वटै जहाज १५ साउनयता ग्राउन्डेड छन् । ‘चिनियाँ जहाज विगतमा कसरी खरिद भयो, अहिले फेरि नचलाउने भनेर राय मागिएको छ, प्राविधिक विषयमा कसरी राय दिने भन्नेमा अलमलमा छाैं,’ अर्थ मन्त्रालयका सहसचिव झक्क आचार्यले भने । 

रायका लागि आइसकेपछि यसको खरिद सम्झौता तथा विगतको प्रक्रियाका बारेमा जानकारी लिन अर्थकै वैदेशिक समन्वय महाशाखा पठाइएको छ । त्यहाँबाट जवाफ आएपछि थप छलफल हुने आचार्यले बताए । 

निगमले पाइलट तथा इन्जिनियर अभाव, स्पेयर्स पार्टस्मा समेत समस्या तथा अन्य हिसाबले पनि अप्रेसन खर्चसमेत धान्न नसकिने र घाटा बढ्दै गएको भन्दै जहाज नउडाउने र त्यसको व्यवस्थापनको जिम्मा पर्यटन मन्त्रालयलाई दिने निर्णय गरेको थियो । 

प्राविधिक समितिले दुवै जहाज उपयुक्त भएको निष्कर्षसहितको सुझाब दिएपछि सन् २०१२ मा नेपाल वायुसेवा निगम र एभिक कम्पनीबीच सम्झौता भएको थियो । जसमा एक थान एमए ६० र एक थान वाई १२ ई जहाज अनुदानमा दिने र बाँकी चार थान जहाज सरल ऋणमा दिने गरी सम्झौतामा उल्लेख गरिएको थियो । जसमा ३ अर्ब ७२ करोडलाई ऋण मानियो भने २ अर्ब ९४ करोडलाई अनुदानका रूपमा प्रयोग गरिएको थियो ।

डिडिएमा चिनियाँ जहाजको मूल्य आधा घट्यो
निगमको व्यवस्थापनले सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) गराउँदा निगमको सम्पत्तिअन्तर्गतको चिनियाँ जहाजको मूल्य ३ अर्ब ८१ करोड १० रुपैयाँ मात्रै मूल्यांकन गरेको छ । जबकि, खरिदको समयमा ६ अर्ब ६६ करोड रुपैयाँ मूल्य रहेको थियो । अब जहाज ग्राउन्डेड गर्दै जाने हो भने जहाजको मूल्य अझै घट्दै जानेछ ।