१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ १९ शुक्रबार १७:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलबारीका एक सय एक परिवारले पाए नयाँ घर 

Read Time : < 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार १७:५३:००

मोरङको बेलबारी नगरपालिकाले असहाय, एकल, दलित तथा पिछडिएका समुदायका एक सय एक परिवारलाई नयाँ घर बनाइदिएको छ । बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याबिटेड नेपालको सहकार्यमा नगरपालिकाले ती घरहरू निर्माण गरिएको हो ।

कमजोर आर्थिक अवस्था भएका नगरभित्र बस्ने नागरिकका लागि नगरपालिकाले निःशुल्क घर बनाइदिएको हो । नगरपालिकाको वडा नम्बर ३, ४, १० र ११ मा रहेका विपन्नलाई घरहरू निर्माण गरिदिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनका अनुसार वडा नम्बर ३ मा ४०, वडा नम्बर ४ मा २०, वडा नम्बर ११ मा ४० र वडा नम्बर १० मा एक गरी जम्मा एक सय एकवटा घर निर्माण भएका हुन् ।

नगरपालिकाले नयाँ घर निर्माण गरिदिएपछि लाभग्राहीहरू हर्षित भएका छन् । वडा नम्बर– ४ की सीता राईले भनिन्, ‘चिटिक्क परेको घरमा बस्न पाउँद खुसी लागेको छ । पहिला बाँसका भाटा प्रयोग गरेर बनाएको घरमा असुरक्षित महसुस हुन्थ्यो । अब त्यस्तो छैन ।’ उनले १५ दिनअघि नगरपालिकाले बनाइदिएको घरमा प्रवेश पाएकी हुन् । 

प्रत्येक घरमा बरन्डा, तीनवटा कोठा छन् । घरको छाना टिनले छाएको छ । ‘हामी यति राम्रो घर बस्न पाउँछौँ जस्तो लागेकै थिएन,’ बेलबारी– ४ की असित राईले भनिन्, ‘नगरपालिकाले हाम्रा लागि ठूलो सहयोग गऱ्याे ।’  

नगरपालिकाको प्रतिघर निर्माणमा एक लाख ५० हजार तथा सहारा नेपाल र ह्याबिटेड नेपालको एक लाख गरी जम्मा दुई लाख ५० हजार रुपैयाँ खर्च भएको नगर प्रमुख सुवेदीले बताए ।