१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ १९ शुक्रबार १७:३६:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

रेसुंगामा वन्यजन्तु चोरी–सिकार बढ्दो, प्रहरी चौकी राख्न माग

Read Time : < 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार १७:३६:००

पर्यटकीय एवं धार्मिक तपोभूमि रेसुंगामा भइरहेको वन्यजन्तुको चोरी–सिकार रोक्न रेसुंगा संरक्षण समितिले प्रहरी चौकी राख्न माग गरेको छ । खुलेआम वन्यजन्तु सिकार गर्ने र जंगलको रूख काट्न थालेपछि संरक्षणका लागि प्रहरी चौकी माग गरिएको हो । 

रेसुंगा संरक्षण समिति गुल्मीका अध्यक्ष सुरेश भुसालले रेसुंगाका वमान पटक–पटक बन्दुक पड्काएर वन्यजन्तु सिकार भइरहेको बताए । साथै स्थानीयले खुलेआम रूख काट्ने, घाँसदाउरा गर्ने गरेको उनको भनाइ छ । कतिपयले त रातको समयमा रेसुंगाको वनबाट दाउरा ल्याएर तम्घास बजारका बेच्ने गरेको उनले बताए । 

नियामक निकाय मौन
रेसुंगा वन क्षेत्रमा भइरहेको विनाश र वन्यजन्तु सिकारबारे डिभिजन वन कार्यालयसमेत जानकार छ । तर, वन क्षेत्र संरक्षण र चोरी–सिकार रोक्न डिभिजन वनले चासो नदेखाएको समितिको आरोप छ ।

यसकारण पनि वन प्रहरीचौकीको माग गरेको समितिको भनाइ छ । समितिले १७ मंसिर ०७६ मै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत चौकीको माग गर्दै निवेदन दिइएको थियो । यो निवेदनउपर प्रहरी र प्रशासनले कुनै चासो नदेखाएपछि २६ जेठ ०७७ मा जिल्ला समन्वय समिति प्रमुखलाई रेसुंगा संरक्षण समितिले पुनः निवेदन दिएको छ । समितिको निवेदनपछि सर्वपक्षीय बैठकमा रेसुंगाको अवस्थाबारे कुरा उठेको छ ।

तत्काल सुरक्षा समितिको बैठक बसेर चौकी सिफारिस गर्ने निर्णयसमेत भएको थियो । तर, अहिलेसम्म कार्यान्वयन भएको छैन । १५ भदौ ०७७  मा विगतका सबै निवेदन र बैठकका निर्णय लिएर प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई पुनः ध्यानाकर्षण गराइएको गुल्मी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।