मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १९ शुक्रबार १६:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्फ्युका बीच रातो मत्स्येन्द्रनाथको ‘क्षमा पूजा’

Read Time : > 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार १६:५२:००

ललितपुरमा लगाइएको १८ घन्टे कर्फ्युका बीच रातो मत्स्येन्द्रनाथको रथयात्राका लागि क्षमा पूजा गरिएको छ । संक्रमण नहुने किसिमले क्षमा पूजा गर्नुपर्ने भएकाले शुक्रबारै कर्फ्यु अवधिमै भए पनि क्षमा पूजा गर्न स्वीकृति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । कर्फ्युकै अवधिमा गुठी संस्थान, गुठियार र स्थानीयले पुल्चोकमा शुक्रबार क्षमा पूजा गरेका छन् । 

लामो समयसम्म रथयात्राका विषयमा गुठी संस्थान र प्रशासनले निर्णय नलिएपछि जात्राको अस्तित्व नै नामेट गर्न खोजेको भन्दै बिहीबार स्वस्फुर्त रूपमा स्थानीय जम्मा भएर निषेधाज्ञाका बीच जबर्जस्ती रथ तानेका थिए । सोही क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । शान्तिसुरक्षाका लागि भन्दै ललितपुर प्रशासनले शुक्रबार दिनभरका लागि कर्फ्यु जारी गरेको थियो । 

बिहीबार दिउँसोको घटनापछि साँझ यस वर्षको रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रूपमा पूरा गर्ने सहमति भएको थियो । मलमासअगावै रातो मत्स्येन्द्रनाथको रथ तान्नुपर्ने मान्यता छ । २ असोजबाट मलमास सुरु हुनेछ । मलमासको चार दिनअगाडि नै रथलाई बुङमतीमा पुऱ्याउने चलन रहेको छ । 

 

त्यसैले २६ भदौभित्र रथलाई बुङमती पुऱ्याउने गरी साइतको बन्दोबस्त भइरहेको ज्यापू समाज ललितपुरका अध्यक्ष तथा पूर्वसांसद चन्द्र महर्जनले जानकारी दिए । उनका अनुसार बिहीबारको घटना, कोरोनाका कारण प्रभावित रथयात्राका बारेमा तथा संक्रमण फैलिन नदिन प्रार्थना गर्दै क्षमा पूजा गरिएको छ । ‘संक्रमण फैलिँदो छ, अहिले भिडभाड गर्ने अवस्था छैन, त्यसैले सांकेतिक रूपमै जात्राको औपचारिकता पूरा गर्न गुठी संस्थान र गुठियारहरूलाई आग्रह गरेका छौँ,’ ललितपुरका सहायक प्रजिअ बस्नेतले भने । 

कर्फ्यु जारी गरिएकाले शुक्रबार ललितपुरको सहरी क्षेत्र सुनसान बनेको छ । ललितपुरका प्रहरी प्रमुख टेकप्रसाद राईले भने, ‘हिजो दुःखद घटना भयो, आजचाहिँ सबै सर्वसाधारणले साथ दिनुभयो, दिनभर कुनै अप्रिय घटना भएको छैन, शान्त अवस्था छ ।’

कर्फ्यु अवधिमा ललितपुरमा चारवटै सुरक्षा निकाय परिचालित छन् । जात्राअन्तर्गत सांकेतिक रूपमा रथ तान्ने, घरमै पूजाआजा गर्ने र रथलाई खटमा राखेर बुङमतीमा पुऱ्याउने सहमति छ । दुई महिनासम्म मनाइने यो जात्रा उपत्यकाकै सबैभन्दा लामो दूरीसम्म रथ तान्ने जात्रा पनि हो । तर, यस वर्ष भने कोरोनाका कारण जात्रा प्रभावित भएको हो । कोरोनाकै कारण रथ निर्माणदेखि रथारोहण र रथयात्रासम्मका गतिविधि प्रभावित भएका थिए । 

करिब एक हजार ६ सय वर्षदेखि रातो मत्स्येन्द्रनाथको रथयात्रा हुँदै आएको छ । वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म रथयात्रा गर्ने गरिएको छ । तर, यस वर्ष भने रथयात्रा सकिनुपर्ने वेलासम्म पनि रथ निर्माण नै सुरु हुन सकेन । तिथिअनुसार गएको १२ वैशाखमा गर्नुपर्ने रथारोहण १० साउनमा मात्रै भएको थियो । संक्रमण बढेपछि गुठी संस्थानले पुनः रथयात्रा स्थगित गरेको थियो ।