Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ १९ शुक्रबार ०८:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यपुरथिमिमा सय शय्याको आइसोलेसन बन्ने 

Read Time : < 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार ०८:४४:००

कोरोना संक्रमण बढ्दै गएपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले थप एक सय शय्याको आइसोलेसन बेड निर्माण गर्ने भएको छ। बिहीबार बसेको नगरस्तरीय विपत् व्यवस्थापन समितिको बैठकले संक्रमण बढ्दै गएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काललाई एक सय शय्याको आइसोलेसन बेड बनाउने निर्णय लिएको हो । 

आइसोलेसन निर्माण गर्नका लागि सम्भावित भवनको खोजी भइरहेको नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष राम थापामगरले जानकारी दिए । उनका अनुसार गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल र सानोठिमीस्थित राष्ट्रिय चिकित्सा शिक्षा आयोग रहेको भवनमा आइसोलेसन वार्ड बनाउनेबारे छलफल भइरहेको छ । 

भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा बढी संक्रमित मध्यपुरथिमि नगरपालिकामा छन् । बिहीबारसम्म मध्यपुरथिमि नगरपालिकामा मात्रै संक्रमितको संख्या दुई सय ७२ पुगेको छ । अहिले ६१ जना अस्पतालमा उपचाररत छन् भने एक सय ४९ जना होम आइसोलेसनमा बसेका छन् । नगर क्षेत्रमा संक्रमितमध्ये ५४ जना निको भइसकेका छन् । ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयले मध्यपुरथिमि नगरपालिकामा समुदायस्तरमै संक्रमण फैलिएको बताउँदै आएको छ । यहाँको वडा नं. ३, १, ५, ६, ७, ८ र ९ वडा संक्रमणका दृष्टिले जोखिम रहेका वडा हुन् । वडा नं. ३ मा मात्रै ७३ जना संक्रमित रहेका छन् । 

मध्यपुरथिमि नपाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा २५ शय्याको आइसोलेसन रहेको छ । उक्त आइसोलेसन भरिएपछि नगरका संक्रमितलाई अन्तै पठाउनुपर्ने बाध्यता भएकाले नगरपालिकाले नै थप आइसोलेसन वार्ड बनाउन लागेको प्रवक्ता थापामगरले जानकारी दिए ।